अन्तर्राष्ट्रिय

पुटिनलाई युक्रेन युद्ध निल्नु न ओकल्नु !

By हिमाल कोइराला

November 16, 2022

काठमाडौँ – युक्रेनको खेर्सन सहरबाट आफ्नो फौज फिर्ता भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा जारी आक्रमण निल्नु न ओकल्नु साबित भएको छ । गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेको रुसले एकपछि अर्को गरी हार व्यहोरिरहेको अवस्था छ ।

पछिल्ला केही समययता रुसले यसअघि युक्रेनमा कब्जा गरेका विशाल भूभागमात्र गुमाएको छैन, कृष्णसागरीय नौसेना, क्राइमिया प्रायद्विपलाई रुससँग जोड्ने एकमात्र पुल र अनगिन्ती हतियार एवम् सैनिक उपकरण पनि युक्रेनी सेनाले ध्वस्त बनाइदिएका छन् । यसबाहेक दशौँ हजार रुसी सैनिक युक्रेनमा मारिएका छन् भने अरु कैयौँ घाइते भएका छन् । यतिमात्रै नभई विभिन्न आर्थिक प्रतिबन्धका कारण रुसी अर्थव्यवस्था अस्तव्यस्त बन्न पुगेको छ ।

यति धेरै क्षतिका बावजुद खेर्सनबाट सेना फिर्ता गर्ने निर्णय पुटिनका लागि अत्यन्त अलोकप्रिय साबित हुने निश्चत छ । पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गर्ने बेला आफैँले टेलिभिजनमा सम्बोधन गरी ‘विशेष सैनिक कारवाही’ को घोषणा गरेका थिए । तर, केही दिनअघि रुसले खेर्सनबाट आफ्नो सेना फिर्ता गर्ने निर्णय गरेका बेला भने उनी कतै देखिएका थिएनन् ।

खेर्सनबाट सेना फिर्ता गर्ने रणनीतिक निर्णय गर्न रुसी सैनिक नेतृत्वबाट नै उनीमाथि अत्यन्त ठूलो दबाब रहेको अनुमान गरिएको छ ।

उनको सट्टामा रुसी रक्षामन्त्री सर्गेई सोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनलाई खेर्सनबाट सेना फिर्ताको निर्णय गर्ने जिम्मा दिइएको थियो । रुसमा एउटा उखान निकै प्रचलित मानिन्छ– ‘जारलाई होइन बोयारलाई मात्रै दोष दिनू’ अर्थात् राजालाई प्रत्यक्ष रुपमा दोष नदिई उनका सामन्तहरुमाथि मात्र दोष थोपर्नु ।

सोही अनुसार खेर्सनबाट सेना फिर्तीको दोष आफूमाथि नआओस् भन्नाका लागि रुसका ‘नवजार’ का रुपमा चिनिएका पुटिनले आफ्ना दुई ‘बोयार’ हरु सोइगु र सुरोभिकिनलाई प्रयोग गरेको स्पष्ट हुन्छ । यसबाट विजयको जस आफूले लिने तर पराजयको दोष भने अर्कालाई दिने उनको मनशाय रहेको देखिन्छ ।

हुनपनि ड्निप्रो नदीको पश्चिमी किनारमा अवस्थित यस सहरमा यसअघि २० हजारभन्दा धेरै रुसी सैनिकहरु तैनाथ रहेको बताइएको छ । तीमध्ये पनि अधिंकाश रुसी सेनाकै उत्कृष्ट मानिने ‘भेडेभे’ नामक फौजका सैनिकहरु थिए । युक्रेनी फौजले खेर्सनलाई ड्निप्रो नदीबाट पूर्वतिर पर्ने भूभागसँग जोड्ने मुख्य पुलहरुमा आक्रमण गरी क्षतिग्रस्त बनाइदिएपछि खेर्सनमा ती फौजको सामरिक अवस्था अत्यन्त दयनीय रहेको थियो । खेर्सनबाट सेना फिर्ता गर्ने रणनीतिक निर्णय गर्न रुसी सैनिक नेतृत्वबाट नै उनीमाथि अत्यन्त ठूलो दबाब रहेको अनुमान गरिएको छ ।

खेर्सनमा आफ्नो सैनिक स्थिती मजबुत बनाउनका लागि पुटिनले यसअघि अनेक राजनीतिक तिकडम अपनाएका थिए । कहिले युक्रेनी भूभागलाई आफ्नो मुलुकमा गाभ्नका लागि तथाकथित जनमत सङ्ग्रह गराएर होस् या आणविक हतियारको प्रयोग गर्ने चेतावनी दिएर नै किन नहोस् । खेर्सनमा आफ्ना सैनिकको पकड निरन्तर जारी रहोस् भन्ने उद्देश्यले उनले विभिन्न घोषणा गरेका थिए ।

पुटिनले खेर्सनबाट रुसी फौज फिर्ता गर्ने निर्णय गर्न अमेरिकाको मध्यावधि निर्वाचनको परिणामसम्म पर्खेको समेत विश्लेषण गरिन्छ ।

रुस युक्रेनमा इरानबाट मगाइएका आत्मघाती ड्रोन समेत प्रयोग गर्नुपर्ने अवस्थामा पुगिसकेको थियो । यस्तो अवस्थामा विश्वकै दोस्रो शक्तिशाली सैन्य शक्ति भएको मुलुक ठानिने रुसको अन्तर्राष्ट्रिय स्तरमा छवि समेत धुमिलिन पुगेको अनुमान गर्न सकिन्छ । आणविक हतियार प्रयोग गर्ने पुटिनको धम्कीलाई रुसका निकट साझेदार मानिने चीन र भारतले समेत मन पराएका थिएनन् ।

उनले दिएको आणविक धम्कीको बेवास्ता गर्दै युक्रेनी फौजले अमेरिका एवम् पश्चिमा मुलुकबाट प्राप्त हतियारको बलमा आफ्नो कारवाहीलाई निरन्तरता दिइरहेको अवस्थामा खेर्सनमा रुसी फौजको अवस्था नाजुक बन्दै गएको थियो ।

पुटिनले खेर्सनबाट रुसी फौज फिर्ता गर्ने निर्णय गर्न अमेरिकाको मध्यावधि निर्वाचनको परिणामसम्म पर्खेको समेत विश्लेषण गरिन्छ ।

मध्यावधि निर्वाचनमा रुसप्रति केही हदसम्म सकारात्मक धारणा राख्ने रिपब्लिकन पार्टीले माथिल्लो सदन सिनेटमा बहुमत प्राप्त नगर्ने देखेपछि बल्ल उनले सेनाफिर्तीको निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमको दाबी छ ।

जे होस्, खेर्सनबाट रुसी सैनिक फिर्ता भएका छन् र युक्रेनको महत्वपूर्ण सहर पुनः युक्रेनी प्रशासनमा आएको छ र युक्रेनी जनतामाझ खुशी छाएको छ । यद्यपि खेर्सन सहर रुसी पकडबाट मुक्त भएपनि युक्रेनमा जारी युद्ध भने जारी नै रहेको छ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)