आठ दिनसम्म पनि मेलम्चीको पूरै पानी बाँडिएन | Khabarhub Khabarhub

आठ दिनसम्म पनि मेलम्चीको पूरै पानी बाँडिएन


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरु गरिएको आठ दिन पूरा भएको छ । मङ्सिर १८ गते मेलम्ची खोलाको पूरै अर्थात् १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको छ दिनपछि अर्थात् मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको आठ दिनमा पनि पूरै पानी राजधानीवासीलाई वितरण हुन सकेको छैन ।

छ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पूरै पानी वितरण गर्न नसकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्ची खोलाबाट २६ दशमलव पाँच किमी सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । यसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । सत्र करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म नौ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाँकालचौर, पानीपोखरी, अनामनगर, बालाजु र बाँसबारीका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुरको ट्याङ्कीमा पानी पुग्न अझै केही दिन लाग्ने उनले सुनाए । केही दिन भित्रमा मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ । 

मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सुरुङ सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

निर्देशनालयले बनाएको नयाँ वितरण सञ्जालका कति स्थानमा अझै पानी परीक्षण हुन सकेको छैन । मेलम्चीको पानी बन्द भएपछि गत असारदेखि पानी परीक्षण पनि रोकिएको थियो । 

मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी मेलम्ची खोलाबाट राजधानी ल्याइए पनि वितरण सञ्जालमा आएको समस्या र कतिपय स्थानमा परीक्षण गर्दै पानी पठाउनुपर्ने भएकाले १४ करोड लिटर पानीमात्र वितरण भइरहेको हो ।

मेलम्चीबाट पानी ल्याएर प्रशोधन गरिने सुन्दरीजल क्षेत्रका स्थानीयवासीले पानी नपाउँदा गुनासो गरेका छन् । मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी प्रशोधन हुने गोकर्णेश्वर नगरपालिका–१ महाँकाल र त्यसमुनिका स्थानीयवासीले पानी नपाएको भन्दै गुनासो गरेका हुन् । महाँकालको पारिपट्टि कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ पर्छ । त्यहाँका मानिसले समेत सहजरुपमा खानेपानी पाउन सकेका छैनन् ।

वाग्मती नदीको मुहान क्षेत्र र मेलम्ची नदीको पानी ल्याएर प्रशोधन गरिने यस क्षेत्रका बासिन्दाले खानेपानी नपाएपछि प्रशोधित पानी राजधानीमा वितरण हुन नदिने जनाएका छन् । यस क्षेत्रका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि मेलम्चीको पानी आउँदासमेत मुहानवासीले वाग्मतीकै पानी पनि पिउन नपाए प्रशोधन केन्द्रबाट पानी वाग्मती हाल्ने चेतावनी दिँदै आएका छन् । 

स्थानीय भीमसेन काफ्लेले सरोकार भएका निकायलाई सुझाव कार्यान्वयन गर्न अनुरोध गरेका छन् । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा मेलम्चीको पानी वितरणका लागि नयाँ सञ्जाल निर्माण गरिएको छैन । नयाँ सञ्जाल निर्माण नगरे पुरानै वितरण सञ्जालबाट वाग्मतीको पानी नियमित दिन स्थानीयवासीले गरेको माग पनि सुनुवाइ नभएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताए ।

गोकर्णेश्वर क्षेत्रमा पानी आउन छोडेको पनि वर्षौँ बितेको छ । उचाइमा रहेको यो बस्तीमा पानीको समस्या समाधान गर्न सरोकार भएका निकायलाई अनुरोध गरिएकामा समस्या समाधान नभएपछि नगरपालिकाबाट नै ट्याङ्की बनाउन लागिएको वडाध्यक्ष जयराम महतले बताए ।v

 

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ३ : ३६ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे