समाचार

स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमाले निकट स्वास्थ्यकर्मी संघको आग्रह

By खबरहब

January 17, 2022

काठमाडौँ– कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेपछि स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।

कोभिड–१९ को उपचार हुने केही अस्पतालका मात्रै ५०० भन्दाबढी स्वास्थ्यकर्मी संक्रमित बनेपछि एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको हो ।

महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणको मारबाट बचाउन र सहज वातावरण बनाउन संघले आग्रह गरेको छ ।

प्रतिपक्षी दल एमालेनिकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीका हितका लागि सरकारसँग विभिन्न माग गरेको छ ।

संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीहरुका लागि व्यवस्थित आइसोलेसन हुनुपर्ने, संक्रमित स्वाथ्यकर्मीहरुको निःशुल्क उचार गरिनुपर्ने, खोप केन्द्रहरुमा देखिएको भीडभाड नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेको छ ।