उदयपुर अस्पतालमा १० वर्षपछि पाठेघर र एपेन्डिसाईटिक्सको अप्रेसन सेवा सुरु | Khabarhub Khabarhub

उदयपुर अस्पतालमा १० वर्षपछि पाठेघर र एपेन्डिसाईटिक्सको अप्रेसन सेवा सुरु


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरले स्तरोन्नती भएको १० वर्षपछि बल्ल विशेषज्ञ चिकित्सक पाएको छ । सरकारले स्तरोन्नती गरेको लामो समयपछि जिल्ला अस्पताल गाईघाटबाट विशेषज्ञ सेवा सुरु भएको हो ।

जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति भएको एक दशकपछि दरबन्दी अनुरूपका चिकित्सक आएका हुन् । साबिक २५ शय्याको अस्पताललाई तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आर्थिक वर्ष २०६८/६९ मा ५० शय्यामा स्तरोन्नति गरेका थिए । १० जना विशेषज्ञ डा. को दरबन्दीसहित ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरे पनि जनशक्ति नपठाउँदा अस्पताल ‘रिफर सेन्टर’मै सीमित हुँदै आएको थियो । ५० वर्षअघि स्थापना भएको जिल्ला अस्पताल गाईघाटमा जटिल खालका गर्भवतीको अप्रेसनद्वारा सुत्केरी गराउने (सिएस) सेवासम्म दिँदै आएको थियो ।

अस्पतालमा सहसचिव स्तर प्रमुख कन्सल्टेन्ट ११औं तहसहित १० जना कन्सल्टेन विशेषज्ञसहित १४ जना मेडिकल अधिकृतको स्वीकृत दरबन्दी रहेको छ ।

अस्पतालमा सहसचिव स्तरको ११औं तहका मेडिकल सुपरिडेण्ड प्रमुख कन्सल्टेन्ट एक, कन्सल्टेन्ट विशेषज्ञ दश, मेडिकल अधिकृत चार र अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी रहेको छ । तर, प्रमुख कन्सल्टेन्टसहित १० जना कन्सल्टेन विशेषज्ञ चिकित्सक आएपछि सेवा गुणस्तरीय बन्दै गएको जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी बृखबहादुर खत्रीले जानकारी दिए ।

अस्पतालले कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुकेश झा स्त्री रोग विशेषज्ञ गाईनो, डा. विशाल देव विशेषज्ञ एनेसथेसियलिष्ट, डा. रितेशराज कर्ण विशेषज्ञ स्त्री रोग गाईनो, डा. शशीरन्जन प्रधान विशेषज्ञ हार्डजोर्नी, डा. राहुल रौनियार विशेषज्ञ फिजिसियन इन्टरनल, डा. कौशल तामाङ विशेषज्ञ एनेस्थेसियन, डा. अमरेश महतो विशेषज्ञ एमडी जिपी, डा. बेन्जु श्रेष्ठ विशेषज्ञ डेन्टल सर्जन, डा. नारायण श्रेष्ठ विशेषज्ञ डेनटल सर्जन, डा. जीवनारायण मण्डललगायत विशेषज्ञ चिकित्सक पाएको छ ।

त्यसैगरी डा. सुमेश चौधरी, डा. अमितकुमार यादव, डा. चन्दन गुप्ता, डा. प्रशान्त सुबेदी, डा. अमित कर्ण, डा. अम्बिका सिंह, डा. दीपक यादवलगायत मेडिकल अधिकृत आएका छन् । जिल्ला अस्पताल गाईघाटमा गाईनो चिकित्सामा मेडिकल अधिकृत रहेर अनुभव बटुलेका कन्सल्टेन्ट झा गाईनोमै तीन वर्षे अध्ययन पूरा गरेर विशेषज्ञ डाक्टरको रूपमा मेसुको जिम्मेवारी लिएर एक महिनाअघि सरुवा भएर आएका हुन् ।

सरुवा भएर आए लगत्तै उनले सेवा विस्तार गर्ने क्रममा आङ खसेकी महिलाको अप्रेसन सेवा दिन थालेका हुन् । उनीसहित अस्पतालमा दुई जना गाईनोकोलोजिस्ट छन् । यस अघिदेखि नै अस्पतालमा गाईनोमा डा. रितेशराज कर्ण कार्यरत थिए ।

पाठेघरको अप्रेसनसँगै अस्पतालमा एपेन्डिक्सका बिरामीको पनि सफल उपचार अस्पतालले थालेको छ । डा. झाका अनुसार विशेषज्ञ डाक्टरहरूको आगमनपछि अस्पतालले सेवा विस्तार गर्न सहज भएको छ । झा स्वयं गाईनो विशेषज्ञसँगै हाडजोर्नी विशेषज्ञ डा.शशिरन्जन प्रधान र जेनेरल फिजिसिएनका विशेषज्ञ डा. राहुल रौनियार सरुवा भई आएका छन् । त्यसैगरी डा. विशाल देव पनि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन वर्षे एनेस्थेसिया (बेहोस पार्ने) कोर्स उत्तीर्ण गरेर सरुवा लिई आएका छन् भने उनी जस्तै अर्का एनेस्थेसिया डा. कौशल तामाङ पनि आएका छन् ।

इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमरेश महतो, डेनटल सर्जन डा. नारायण श्रेष्ठ र बेन्जु श्रेष्ठ तथा प्रसूतिमा डा. रितेशराज कर्ण कार्यरत छन् । अहिले मेसु झासहित अस्पतालमा विशेषज्ञ डा. को संख्या १० जना पुगेको छ । अब मुटु रोग (कार्डियोलोजिस्ट), नाक–कान–घाँटी (इएनटी) तथा नशारोग विशेषज्ञ (न्युरोलोजिष्ट) बालरोग विशेषज्ञ, कन्सल्टेन्ट रेडियोलोजिष्ट विशेषज्ञ, को दरबन्दी अझै खाली छ । यो दरबन्दी पनि पूर्ति भएमा उदयपुर अस्पतालबाट विराटनगर र धरान सरहको उपचार सेवा दिन सकिने डा. झा बताउँछन् ।

त्यसैगरी एक जना नर्सिङ अधिकृतसहित नौ जना स्टाफ नर्सको दरबन्दी रहेको छ । त्यस मध्ये धेरै खाली रहेको छ । त्यसैगरी प्रयोगशालातर्फ मेडिकल टेक्नोलोजीष्ट एक जना खाली, ल्याब टेक्निसियन दुई जनाको दरबन्दीमा एक जना खाली, वायोमेडिकल सहायक दुवै खाली रहेको, कम्प्युटर अपरेटर, खरिदार, सवारी चालक कार्यालय सहयोगी दरबन्दी रिक्त रहेको सूचना अधिकारी खत्रीले बताए । ५० शय्याको यो अस्पतालमा चिकित्सक आएपछि विशेषज्ञ सेवा बिस्तार गर्न संरचनागत सुधार आवश्यक रहेको देखिन्छ । दैनिक २ सय ५० भन्दा बढीको संख्यामा बिरामी आउने गरेकोले अस्पताल बेड संख्या कम र अभाव रहेको सूचना अधिकारी खत्रीले बताए ।

अस्पतालले स्तरोउन्नतीपछि पहिलो पटक विशेषज्ञ चिकित्सक पाएता पनि विशेषज्ञ सेवा बिस्तारका लागि भौतिक संरचना अभाव रहेको सूचना अधिकारी खत्रीको भनाई छ । तत्काल बिरामीका लागि बेड अभाव, विशेषज्ञ चिकित्सकलाई आवासगृह अभाव र अप्रेसन सञ्चालन गर्न आवश्यक प्रविधि र औजार अभाव रहेकाले भने जस्तो सेवा सुचारु गर्न नदिएको हो ।

करिब पाँच बिगाहा जग्गाको क्षेत्रफलमा रहेको उदयपुर जिल्ला अस्पताल गाईघाटको १५ शय्या, २५ शय्या हुँदै क्षमता विस्तार गरी २०६८ सालमा ५० श्यामा स्तरोउन्नती गरेको थियो । जिल्ला अस्पताल गाईघाट रेफर सेन्टरबाट अस्पतालमा रूपान्तरण हुन पुगेको छ । २०३८ सालमा बनेको भवन जीर्ण बनेपछि २०६८ सालमा नयाँ भवन २५ कोठाको दुई तले पक्की भवन अस्पतालले पाएको पनि भौतिक संरचना अभाव भएको छ ।

अस्पतालले विशेषज्ञ चिकित्सक पाएसँगै असह्य पेट दुखेर अस्पताल भर्ना भएकी एपेन्डिक्सको बिरामी त्रियुगा नगरपालिका–१२ की १२ वर्षीया सरस्वती मल्लिकको सफल अप्रेसन गरिएको छ । इन्टरनल मेडिसिनमा विशेषज्ञ डा. अम्रेशकुमार महतो नेतृत्वको टिमले मल्लिकको अप्रेसन सफलता पूर्वक सम्पन्न गरेको डा. झाले बताए ।

सेवा सुचारु भएपछि अब आङ खसेका महिला र एपेन्डिसाईटिक्स बिरामी उपचारका लागि धरान, विराटनगर र काठमाडौं धाउनु पर्ने समस्या अन्त्य भएको जनाएका छन् । ‘उदयपुरमा यस्तो सेवा थिएन । त्यसका लागि दक्ष जनशक्ति पनि थिएन । म आफै पनि ३/४ वर्ष अघि यही कार्यरत थिएँ,’ डा. झाले भने ‘तर अहिले हामीले सेवा विस्तार गरी सक्यौं । अब सिएस देखि आङ खसेका महिला र एपेन्डिसाईटिक्स परीक्षण अप्रेसन सफल भइसकेकाले जिल्लावासीलाई उपचार सहज बनाउँदै जानेछौं ।’

अहिले अस्पतालमा आङ खसेको महिलाको अप्रेसन पहिलो भएको र अब यसलाई निरन्तरता दिइने मेसु डा. झाले जानकारी दिए । अस्पतालमा रहेको आइसियु र भेन्टिलेटर सहितको सेवा छिट्टै सुचारु गर्ने तयारीमा रहेको बताए ।

जिल्ला अस्पताल उदयपुरमा महिलाको पाठेघर र एपेन्डिक्सको सफल शल्यक्रिया सम्पन्नपछि यसलाई निरन्तरता दिने बताए । पछिल्लो समय विशेषज्ञ चिकित्सकहरू आएसँगै अस्पतालले यो सेवा दिन थालेको हो । केही दिन अघि आङ खसेकी एक महिलाको पाठेघरको सफल अप्रेसन गरेको थियो ।

१२ वर्ष अघि देखि खस्ने समस्याले ग्रसित रौतामाई गाउँपालिका–७ मुर्कुचीकी ५५ वर्षीया सीता मगरको पाठेघरको सफल उपचार गरेको थियो ।

२० हजार ५४ घर धुरीका एक लाख चार हजार पाँच सय १७ जना मानिसको बसोबास रहेको त्रियुगा नगरपालिका र यससँग सीमा जोडिएका खोटाङ, भोजपुर लगायतका पहाडी जिल्लाहरूका मानिसहरूलाई समेत पायक पर्ने भएकोले यहाँ बिरामीको चाँप अधिक हुने गर्दछ ।
– न्यूज कारखानाबाट

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : १२ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते