लस्कर गाहको अस्पतालको इमर्जेन्सीमा हरेक केही सेकेन्डको अन्तरमा एउटा नयाँ बच्चा भर्ना हुन्छन्। पछिल्लो समय देखिएको भोकमरी समस्याले अफगानिस्तानको जनजीवन नै आक्रान्त भएपछि विकराल दृश्य देखिने गरेका छन्। तीनै विकराल दृश्यको माझ अस्पतालको दृश्य अझ बढी हृदय विदारक छ। भोकले छटपटाएका बच्चाको लगातारको चित्कारले त्यहाँ पुग्ने हरेकको मुटु छियाछिया हुने गरेको छ ।
नर्सहरू आमाबाट बच्चालाई छुट्टाएर प्राथमिकताको आधारमा जतिसक्दो चाँडो उपचार गर्न व्यस्त छन्। लस्कर गाह हेलमान्द प्रान्तको राजधानी हो। यो अत्यन्त धेरै युद्ध प्रभावित क्षेत्र काबुलबाट लगभग ६६४ किलो मिटर दक्षिण पश्चिममा छ।
अस्पताल आइपुग्दा जालील मोहम्मदका हात गोडा चिसा भइसकेका थिए। उनको सास मात्र बाँकी थियो। उनकी आमा मारखाह छोरा साढे दुई वर्ष भइसकेको बताउँछिन्। तर, झट्ट हेर्दै दुब्लो र पिलन्धरे ती बालकको उमेर पनि सानै जस्तो देखिन्छ। धेरै पटक कुपोषण भएका उनलाई क्षयरोगले पनि आक्रमण गरेको छ। उनको उपचारमा चिकित्सक हतारिई रहेका थिए। मारखाह भक्कानो छाडेर रुन सकेकी छैनन्। आँखामा आँसु टलपलाएका छन्।
‘उसले छटपटाएको देख्दा म निसाहय भइसकेकी छु। कुनै पनि समय उसको सास नै जाने त होइन भन्ने डरले म रातभर निदाएको छैन ,’ आमाले भनिन्। छोरा जलीलका लागि आइसीयूको बेड खाली गरिएको छ।
चिकित्सकले उनलाई पाखुरामा बोकेर लगेका छन्। उनलाई दिइएको ओषधि र सलाइन पानी बोकेर नर्ससँगै पछि लागे। भिटामिन र सलाइन लगायत धेरै खानेकुरा उनलाई एकै पटक दिइएको छ।
त्यहाँका कर्मचारीलाई एक छिन रोकिन पनि सम्भव छैन। लगत्तै अर्को पाँच महिनाको बालक हकालाहलाई अक्सिजन दिन उनीहरू हतारिए। उनको अस्पतालमा यो तेस्रो उपस्थिति हो। यस भन्दा अगाडि चिकित्सकले यो बच्चाको उपचार व्यर्थ हुने अनुमान गरेका थिए। तर, कतिपय बच्चाको उपचार सम्भव भएपछि उनीहरु खुशी हुने गरेका छन्।
आईसीयूमा पुगेका हरेक पाँचमध्ये एक बालकको ज्यान जाने गरेको छ। पछिल्लो दिन घातक दादुराको प्रकोप फैलिएपछि त्यस क्षेत्रको अवस्था खराब बनेको हो। कुपोषण र दादुरा दुवैको सिकार भएका बच्चाको जीवन बचाउन हरेक चिकित्सक अहिले कठोर सङ्घर्ष गरिराखेका छन्।
सेन फ्रोन्टीयस मेडिसिनको त्यो च्यारिटी अस्पताल १५ लाख जनसङ्ख्या रहेको त्यस सहरको सबैभन्दा सुविधा सम्पन्न अस्पतालको रूपमा रहेको छ। तर, अहिले यसको चाप बढेको छ। ३ सय शैय्या रहेको यस अस्पतालमा दैनिक ८ सय बिरामी आउने गरेका छन्। यसरी आइपुग्ने धेरै बच्चा नै छन्।
बच्चाको यस अवस्थामा कुनै सहयोगी निकाय छैन। अन्तर्राष्ट्रिय निकायको सहयोग पनि रोकिएपछि त्यहाँको अवस्था अझ खराब बनेको छ। त्यो सहर मात्र होइन, अफगानिस्तान सिङ्गो देशमा फैलिएको आर्थिक सङ्कटका कारण बच्चा गरिबीको मारमा परेका छन्। तालीवानले सत्ता लिनु अगाडिसम्म राम्रोसँग चलेको त्यहाँको स्वास्थ्य संयन्त्र अहिले ध्वस्त भइसकेको छ।
त्यसो त अफगानिस्तानमा बच्चाको कुपोषण नयाँ समस्या होइन। तर, संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार कुपोषणको कारण अस्पतालमा भर्ना हुनेको सङ्ख्या बिचमा घट्दो क्रममा पनि थियो। २०२१ को अगस्टमा २४०७ जना बच्चा अस्पतालमा भर्ना भएका थिए। २०२१ को डिसेम्बरमा ४२१४ जना भर्ना भए।
अस्पतालमा भर्ना हुने मात्र कुपोषणको सिकार भएका भन्ने पक्कै होइनन्। गरिबी तथा अस्पतालबाट धेरै टाढाको बसोबासको समस्या भएकाले धेरै बच्चा कुपोषणको सिकार भए पनि अभिभावकले अस्पताल नलगेको धेरै उदाहरण छन्। समयमा अस्पताल नलाँदा बच्चाको जीवन नै गुमेका थुप्रै घटना छन्। खराब र कच्ची बाटो हुँदै अस्पताल लगिए पनि बिच बाटोमै पुग्ने या पुगे पछि पनि उपचार नपाउने समस्या देखिन्छ।
धेरै अस्पतालमा त आइसीयू सुविधा पनि छैन। मुसाक्वीला र गेरेस्क जिल्लामा अस्पतालमा कुपोषणले पीडित भएका थुप्रै बच्चाको भीड नै लाग्ने गरेको छ। तर, त्यहाँ आइसीयूको सुविधा छैन। महिला चिकित्सक छैनन्। अँध्यारो कोठामा अस्पताल सञ्चालन भएका छन्। बत्ती जाने र आउने क्रम जारी छ। रातको समयमा तापक्रम घटेर ४ डिग्रीसम्म हुने गरेको छ।
गेरेस्कको अस्पतालको कुनै कोठामा ग्यासको सिलिन्डरसँगै एउटा हिटर झुन्ड्याइएको छ। यसैबाट केही तातो दिने काम गरिन्छ। बच्चा र आमा एउटै सिरकमा जबरजस्ती आफूलाई अटाउने गरेका छन्। फोहोर पनि राम्रोसँग सफा नगरिएको त्यो अस्पतालको गन्धले सबैलाई आजित बनाएको छ।
मुसाक्वीलाको अवस्था त झनै फरक थियो। भर्खर जन्मिएका बच्चा थिए। त्यसै समयमा एउटा १८ महिनाको बच्चा थियो। बच्चाको श्वासप्रश्वास अनियन्त्रित भयो। आफन्तको सहयोगमा उनलाई फोहोरको डुङ्गुरसँगै रहेको अस्पतालको अर्को भवनमा लगिएको थियो। त्यो अस्पतालमा एउटा मात्र अक्सिजन सिलिन्डर थियो।
१० वर्षे एउटा बच्चाको बाबुलाई सलाइन पानी जडान गर्ने उपकरण खरिद गर्न बाहिर पठाइएको दृश्यले सबैलाई वाक्क बनाएको थियो। बच्चाको उपचार गर्नुपर्ने त्यो अस्पतालमा ती सबै कुरा थिएन्न। गेरेस्कको अस्पतालमा एक दशक भन्दा अगाडिदेखि काम गरिरहेका डा. अजिज अहमद त्यस अस्पतालमा सीमित औषधि र थोरै कर्मचारी भएको बताउँछन्। तर, त्यो अस्पतालमा प्रत्येक दिन सयौँ बिरामी आउने गरेका छन्।
उनीहरू धेरै गम्भीर बच्चालाई छाड्नका लागि बाध्य छन्। किनकी ती बच्चाको उपचार गर्न सबै उपकरण नै त्यहाँ थिएनन्। डा. अहमदकै अनुसार धेरै जना त अस्पताल जानु अगाडि नै मर्छन्। थुप्रै बच्चा राम्रो अस्पताल नपाएका कारण त्यहाँ मरिरहेका छन्।
हमिदको घर नै युद्धको क्रममा विस्फोट भएको थियो। त्यस घटनामा आमा बाबुसहित १० जनाको ज्यान गएको थियो। यसपछि उनलाई कसैले पनि सहयोग गरेन। उनी साताको दुई या तीन दिन सुख्खा पाउरोटी खाने र त्यसैको आधारमा बाच्ने गरेका छन्।
अस्पतालमा अगस् देखि अक्टोबरसम्मको तलबसमेत दिन सकिएको छैन। नोभेम्बरदेखि युनिसेफ र स्थानीय सहयोगी संस्था बारान लगायतको सहयोगमा उनीहरूले केही रकम पाउन थालेका छन्।
‘मानवता भएका निकायले बच्चालाई बचाउने उपाय खोजिरहेका छन्। यसका लागि विश्व समुदाय राजनीति भन्दा बाहिर निस्कन जरुरी छ। तर, हाम्रो स्वास्थ्य अवस्था सुधार हुने अवस्थामा छैन, ’ युनिसेफका सलाम जुनाबीले भने।
हेलमान्द प्रान्तको अवस्था फरक छ। युद्धका कारण त्यहाँका हरेक क्षेत्र प्रभावित छन्। सान्जीन सहरको अवस्था त अझ विरक्त लाग्दो छ। त्यहाँ धुलो र हिलोले धेरै ठाउँ भरिएका छन्। यसै स्थानमा बेलायती सेना पनि थियो। धेरै समय अफगानी र विदेशी सेना त्यहीँ भिडेको थियो। त्यसै स्थानमा लामो समय बिताएका अब्दुल रजिको अनुभव फरक छ।
‘ त्यहाँ शान्ति भएकोमा मलाई खुसी लागेको छ। तर, त्यहाँ खाना, काम र पैसा छैन। गहुँ र इन्धन धेरै महंगो भइसकेको छ,’ उनले भने, ‘मेरा गाउँका सयौँ विद्यार्थी कुपोषण ग्रसित छन्।’
प्रत्येक घरमा दुई–तीन बालबालिका त्यहीँ अवस्थामा रहेको उनले सुनाए। उनीहरुका आमाले पेट भरी खान नपाएको कारण बच्चा त्यसरी जन्मिएका हुन्।
हमिद गलको एउटा घरमा जन्मिएका दुई बच्ची फरजाना र नजदाना कुपोषण ग्रसित छन्। नजदाना धेरै बिरामी भएपछि हजुरबा हजुरआमा कहाँ पठाइयो। बहिनीको उपचार गर्न कठिन भए पछि १० वर्षका नसिब्बुल्लाह काम गर्न गएका थिए।
हमिदको घर नै युद्धको क्रममा विस्फोट भएको थियो। त्यस घटनामा आमा बाबुसहित १० जनाको ज्यान गएको थियो। यसपछि उनलाई कसैले पनि सहयोग गरेन। उनी साताको दुई या तीन दिन सुख्खा पाउरोटी खाने र त्यसैको आधारमा बाच्ने गरेका छन्। त्यस क्षेत्रमा उनी एउटा उदाहरण हुन्। हरेक व्यक्ति रोटी र पाउरोटीको घरमा बाँचेका थिए। अफगानिस्तानको पछिल्लो पुस्ता नै हराउने त होइन भन्ने चिन्ता छ।
कुपोषण, रोग र भर्खरका कलिला बच्चाको ज्यान जाने नियति अफगानिस्तानले प्रत्येक दिन भोगेको छ। संसारले नै ध्यान नदिए अफगानिस्तानको अवस्था अझ कारुणिक हुँदै जाने छ। एजेन्सीको सहयोग
प्रतिक्रिया