तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटको समाधानबारे श्रीलङ्काली प्रधानमन्त्रीले संसद्‍मा मार्गचित्र प्रस्तुत गर्ने

By खबरहब

June 17, 2022

काठमाडौँ- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्‍मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर रोडम्याप बनाइने बताएका हुन् ।

यसअघि बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक सङ्कटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन रणनीतिबारे सांसद्हरूलाई जनाकारी दिएका थिए ।

पछिल्लो समय श्रीलङ्कामा स्वतन्त्र भएयता कै सबैभन्दा गम्भीर आर्थिक सङ्कट देखा परेको छ भने जनताहरुले चरम मूल्यवृद्धि एवम् अत्यावश्वक वस्तुको अभावको सामना गरिरहेको जनाइएको छ ।

देशको सरकारी इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेशनले आफूसँग ५ हजार मेट्रिक टन मात्रै पेट्रोल रहेको र यसरी दैनिक ५ सय मेट्रिक टन मात्रै ग्यास पसलमा निकासी हुने गरेको बताएको छ । देशमा हाल इन्धन सङ्कट पनि जारी नै रहेको छ ।