काठमाडौँ– हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ को छायांकन सुरु भएको छ । शुक्रबारदेखि फिल्मको छायांकन सुरु गरिएको हो । ४ औँ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको फिल्ममा धुम्बाराहीमा महजोडीको दृश्य छायांकन गरियो ।
प्रदीप भट्टराईले निर्देशन गरिरहेको फिल्ममा महजोडीसहित अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय छ । सोसल ड्रामामा समाजले मान्छेलाई महापुरुष बनाउने स्थिति व्यंग गरिने छ । फिल्म बाबु–छोराबिचको सम्बन्धमा आधारित छ ।
प्रदीपलाई ‘प्रेसर’
निर्देशक प्रदीप भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्मको निर्देशन गरिरहेका छन् । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने ‘महापुरुष’ को सुटिङ आजबाट सुरु भएको छ ।
डेब्यु फिल्म पश्चात् ब्राण्ड र स्टारडम मार्फत आफ्नो फिल्मलाई धेरै दर्शक समक्ष पुर्याउने लेखक तथा निर्देशक भट्टराईले यसपटक मह जोडीसँगै राजाराम पौडेल र गौरी मल्ललाई लिएर फिल्म निर्देशन गरिरहेका छन् ।
लगातार तीन फिल्ममा आफूलाई बक्स अफिसमा प्रमाणित गरेका निर्देशक भट्टराई ब्राण्ड भन्दा बाहिर सफल हुन्छन् या हुँदैनन् ? यो जिज्ञासा यथावत् नै छ । त्यसैले पनि यसपटक प्रदीपलाई सफलताको प्रेसर बढ्दो छ ।
यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहने छ।
प्रतिक्रिया