कामै नगर्ने निर्माण कम्पनीको म्याद थप्न चलखेल | Khabarhub Khabarhub

कामै नगर्ने निर्माण कम्पनीको म्याद थप्न चलखेल


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडकको म्याद असारसम्म थियो । तर तोकिएको समय सीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा-विरुवा जेभीले काम गर्न सकेन ।

प्रतिबद्धताअनुसार गएको मंसिरदेखि उसले सडक निर्माणको काम अघि बढायो । अनेक उल्झन र अवरोधले समयमै काम हुन नसकेको सडक विस्तारको कामले गति लिएपछि स्थानीय तहको चुनावमा दलहरूले मुद्दा बनाए । चुनावपछि काम तीव्र गतिमा अघि बढे पनि सकिएन । अहिले पहिलेको प्रतिबद्धताअनुसार निर्माण कम्पनीलाई म्याद थप्न लबिङ सुरु भएको छ । ठेकेदार कम्पनीको म्याद थप गर्ने लबिङमा बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे अग्रस्थानमा छन् ।

भित्रभित्रै म्याद थपको लबिङमा लागेका मेयर पाण्डे बाहिर सडक निर्माणमा कम्पनीले ढिलासुस्ती गरेको भन्दै सूचना प्रवाह गराएका छन् । निर्माण कम्पनी द कञ्जनजंगा विरूवा जेभी दुवै सत्तारुढ कांग्रेस निकट निर्माण व्यवसायी हुन् । पार्टी आबद्धताको प्रयोग गर्दै निर्माण व्यवसायीहरू गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री पत्नी आरजु राणासम्मको ढोका ढकढक्याउन भ्याइसकेका छन् । बिरुवाका सुमित श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतासँग पहुँच बनाएका व्यवसायी हुन् । उनी स्वंय कांग्रेसको बाग्मती प्रदेशको राजनीतिमा क्रियाशील छन् ।

बुटवल उपमहानगर र संघीय सरकारमा कांग्रेसको सत्ता भएका प्रभावशाली नेताहरूसँग पहुँच बनाउन सफल निर्माण कम्पनीको म्याद थप निश्चित भइसकेको सडक विभागका अधिकारीहरू बताउँछन् । त्यसैका लागि सार्वजनिक खरिद ऐनको नियमावलीको १२औं संशोधन भई बाटो खोलिएको छ ।

बुटवल चौराह-गोलपार्क सडक निर्माण समयमै नगरेर अस्तव्यस्त बनाएको बिरुवाले यसअघि बुटवल-बेलहिया सडक निर्माणको काम अलपत्र छाडेको बुटवल-बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रमुख दिपककुमार झाले बताए ।

पडसरीमा पनि केही वर्षदेखि बाँकी रहेको काम अलपत्र छ । १८ असार २०७८ मा प्रमुख जिल्ला अधिकारीको संयोजनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच भएको बैठकमा १० दिनभित्र बेलहिया र पडसरीको बाँकी काम सक्ने निर्माण कम्पनीका प्रतिनिधिले लिखित प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता कार्यान्वयन भएन । चौराह-गोलपार्क सडकको काम पनि २०७९ असार मसान्तसम्म सक्ने गरी द्रुत गतिमा गर्ने सहमति भएको थियो । त्यो सहमतिलाई बेवास्ता गरेर निर्माण कम्पनी राजनीतिक लबिङमा लागेको छ ।

यसअघि बुटवल उपमहानगरपालिका मेयरमा एमालेका शिवराज सुवेदी थिए । उनकै कारण सडक अस्तव्यस्त भएको प्रचार अहिलेका मेयर पाण्डेसहितका कांग्रेस नेताले गरे । चुनावी प्रचारमा यही प्रपोगण्डा तीव्र भयो । कांग्रेसका मेयरका प्रत्याशी पाण्डेले चुनाव जिते । अहिले मेयर भएपछि तिनै पाण्डे नियत ठिक नभएको निर्माण कम्पनीलाई बोकेर हिँडेका छन् ।

सडक विस्तारका क्रममा सडक क्षेत्राधिकार मिचेर बनाइएका घरहरू भत्काउन तिनै पाण्डेले अवरोधको नेतृत्व गरेका थिए । सडक क्षेत्राधिकार मिचेर बनाइएका घरधनीलाई बोकेर काठमाडौँसम्म पुगेका मेयर पाण्डे बुटवल उपमहानगरपालिकाको आयोजना झैँ गरी यो सडक निर्माणको काम असार मसान्तसम्म सकिने सार्वजनिक कार्यक्रममा बोल्दै हिँडे । अहिले सडक निर्माणको काम त सकिएन नै । अस्पताल लाइनको एकतर्फी एक सय मिटर पिच गर्न एक महिनादेखि सडक बन्द गरिएको छ । त्यसले यहाँको यातायात आवागमन अस्तव्यस्त भएको छ । दुर्गा मन्दिरदेखि अस्पताल लाइनसम्म पहिलेका साना खाल्डाखुल्डी पुर्न भन्दै मिस्कट राखेपछि समयमै अरू काम नहुँदा झन् ठूला खाल्डाखुल्डी परेका छन् । अस्पताल लाइनको सडक पहाडी क्षेत्रको कच्ची सडकझैँ भएको छ ।

आयोजनाका प्रमुख झा निर्माण कम्पनीको नियत ठिक नभएकाले अहिले अस्तव्यस्त भएको बताए । ‘अब उसको म्याद थप्दा मात्रै काम हुने हो, म्याद थप भएन भने यो सडक फरक ढंगले अघि बढ्छ,’ उनले भने, ‘अहिले काम गर्छु भनेर प्रतिबद्धता जनाइरहेको छ, म्याद थप्ने काम सडक विभागको काम हो ।’

यो सडक विस्तारका लागि निर्माण कम्पनीले १७ चैत २०७३ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १२ असाेज २०७६ सम्म काम सक्नुपर्ने समय सीमा भए पनि सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले काम अघि बढ्न सकेन । घरधनीहरूले सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । रोकिएको सडक विस्तारको काम अघि बढाउन अदालतको फैसला आएपछि काम अघि बढ्यो । २०७६ असोजको समय सीमा सकिएपछि २०७९ असारसम्म म्याद थपिएको थियो ।

सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय चौपट भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महँगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायीहरू निराश बनेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  २ : ५१ बजे

झापाको बिरिङ खोला पुल अझै बनेन

झापा– झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको

धुलिखेल–साँगा सडकखण्ड कालोपत्र गरिँदै

काभ्रे– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको

टी-२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै

काठमाडौं – महिला टी-२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब

प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा