विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन १, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

कार्यवाहक राष्ट्रपति विक्रमासिंघेलाई नै राष्ट्रपतिको मनोनयन गर्ने श्रीलंकाली सत्तारुढ दलको तयारी

श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन् ।

‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको उम्मेद्वारको रूपमा समर्थन गर्ने निर्णय गरेका छौं’, श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) का महासचिव सागरा करियावासमले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई भने ।

देशको सबैभन्दा खराब आर्थिक संकटका कारण उत्पन्न अशान्तिपछि श्रीलंकाबाट भागेका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको परिवारको यो पार्टीको वर्चस्व छ ।

पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।

तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले हुँदै सिंगापुर भागेका थिए ।सेनाको विमानमा माले पुगेका गोटाबाय त्यसको भोलिपल्ट सिंगापुर पुगेका थिए ।

श्रीलंकामा चरम आर्थिक संकट निम्त्यिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक वस्तुको अभाव छ । यसैबीच, कार्यवाहक राष्ट्रपति विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

जुलाई १६ गते मन्त्री तथा सांसदहरुसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो ।

कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव दिएका छन् । त्यस्तै, इन्धन र मल नियमित र छिटो उपलब्ध गराउन सुझाव दिइएको छ ।

छलफलका क्रममा विक्रमासिंघेले शान्तिपूर्ण आन्दोलनकारीले हस्तान्तरण गरेको योजनालाई सकरात्मक रूपमा लिइएको बताए ।

भारत र चीनका सैन्य अधिकारीबीच वार्ता सुरु

भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६ औँ चरणको वार्ता भारत प्रशासित लद्दाखको सुदुर उत्तरी गाउँ चुशुलमा सुरु भएको छ ।

भारतीय भूमि चुशुल–मोल्दो सीमा विन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल ए सेनगुप्ताले गरेका छन् । द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

यसअघि दुबै पक्षले सिमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका थिए । साथै दुबै देशले समाधान हुन बाँकी समस्या सैन्य र कूटनीतिक वार्ताका माध्यमबाट टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् २०२० को अप्रिल–मेमा चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

कैयौँ चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुबै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।

हालै इण्डोनेशियाको बालीमा भएको जी २० का विदेशमन्त्रीहरूको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका थिए ।

दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ ।

आपराधिक ग्याङ्गको हिंसा र अत्यावश्यक वस्तुको अभावका कारण हाइटीको राजधानी ठप्प

आपराधिक ग्याङ्गको क्रुर हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिका कारण क्यारेबियन सागरमा अवस्थित मुलुक हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब ९९ जनाले ज्यान गुमाएका छन् भने १३५ जना घाइते भएका छन् ।

बेलायती अखबार द गार्जियनका अनुसार राजधानी सहरको सिते सोलिल नामक न्यून आय भएको बस्ती छेउछाउमा दुई प्रतिद्वन्द्वी समूहबीचको रक्तपातपूर्ण लडाइँसँगै हिंसा भड्किएको हो ।

उक्त हिंसा छोटो समयमा नै चारैतिर फैलिएको बताइएको छ । अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था डक्टर्स विदआउट बोडर्स (एमएसएफ) का अनुसार हाल त्यहाँ हजारौं मानिसहरु पिउने पानी, खाना वा चिकित्सकीय सेवाबाट बञ्चित छन् ।

नागरिकहरूलाई बचाउन सहायता संगठनले सशस्त्र समूहहरूसँग अनुरोध गरेको छ ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, ‘अधिकांश पीडितहरू प्रत्यक्ष रूपमा गिरोहमा संलग्न थिएनन् र उनीहरूलाई गिरोहले प्रत्यक्ष रूपमा लक्षित गरेको थियो । हामीले यौन हिंसाको नयाँ रिपोर्ट पनि प्राप्त गरेका छौँ ।’

खाद्य असुरक्षा कम गर्न जी २० का नेताहरु सहमत

ग्रुप अफ २० अर्थात् जी २० का नेताले हाल विश्वमा समस्याका रुपमा देखा परेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् ।

जी २० का अर्थमन्त्री र गभर्नरहरुको इन्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो सहमति भएको हो । जी २० का अर्थमन्त्री र गभर्नरहरुले अहिलेको अवस्थामा विश्वमा बढ्दै गएको खाद्य असुरक्षालाई कम गर्न र खाद्य सुरक्षाको अवस्थालाई सुनिश्चित गर्न आपसमा समन्वय गरेर काम गर्ने बताएका छन् ।

युक्रेन सङ्कट र अन्य कारणहरुले हालैका दिनहरुमा विश्वमा खाद्य असुरक्षा एक ठूलो चुनौतीका रुपमा देखिएको बताउँदै उनीहरुले खाद्य असुरक्षा र यससँग सम्बन्धित अन्य विविध चुनौतीहरुको खोजी गर्ने त्यसलाई कम गर्नका लागिपर्ने बताएका हुन् ।

बालीमा सम्पन्न सो बैठकपछि आयोजक राष्ट्र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले भने– ‘हामीले यस विषयमा आवश्यक छफफल गर्यौँ, यो समस्या समाधानका लागि हामी सबैको एउटै आवाज रहेको छ ।’

उनले जी २० मा आबद्ध रहेका सबै देशहरुले खाद्यान्नको आपूर्ति व्यवस्थाको सञ्जाललाई आवश्यक मात्रामा सहजीकरण गर्नुपर्ने र हरेक देशको उत्पादन र वितरणको प्रक्रियालाई सहयोग गर्न एक संयन्त्रको विकास गर्नुपर्नेमा पनि जोड दिइएको बताएका थिए ।

चीनमा गर्मी बढेसँगै उच्च तापक्रमबाट जोगिन सर्वसाधारणलाई आह्वान

प्रचण्ड गर्मी बढेसँगै चिनियाँ अधिकारीहरुले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेका छन् । तातो वायुको प्रवाह व्यापक भएपछि चीनको राष्ट्रिय मौसम निकायले चेतावनी जारी गरेको हो ।

आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।

शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ ।

केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ । चीनले मौसम चेतावनी प्रणालीमा चार किसिमका रङ्गको प्रयोग गर्दै आएको छ ।

मौसमसम्बन्धी गम्भीर चेतावनी दिन चीनले रातो, सुन्तले, पहेँलो र नीलो रङलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै आएको छ । आज जारी गरेको चेतावनी केही कम गम्भीर प्रकृतिको रहेको जनाइएको छ ।

ग्रिसमा मालवाहक विमान दुर्घटना

युरोपेली मुलुक ग्रिसमा मालवाहक विमान दुर्घटनामा परेको छ । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका हुन् ।

युक्रेनमा रहेको एउटा कम्पनीद्वारा सञ्चालित एन्टोनोभ एएन–१२ विमान सर्बियाबाट बंगलादेशका लागि उडेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त विमानमा रक्षासम्बन्धी उपकरण एवम् गोलावारुद रहेको बताइएको छ । दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ ।

ग्रिक अधिकारीले उक्त विमानमा आठ जना सवार रहेको बताएका छन् । युक्रेनी अधिकारीहरुले भने उक्त विमानमा सवार सबै युक्रेनी नागरिक रहेको जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ ।

रोयटर्सले उक्त विमानमा साढे ११ टन कार्गो बोकेको र यसमा सम्भावित खतरनाक पदार्थ रहेको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।

अफगानिस्तानमा सवारी दुर्घटना

अफगानिस्तानको बाघलान प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

राजधानी काबुलबाट यात्रु बोकेको बस पुल–ए–खुम्री सहरनजिकै ट्रकसँग ठोक्किएको बागलानको सूचना र संस्कृति निर्देशनालयका प्रमुख मलावी मुस्तफा हासेमीले जानकारी दिए ।

अफगानिस्तानको टोलो न्युजका अनुसार उक्त बस राजधानी काबुलबाट समाङ्गनतर्फ जाँदै थियो । ‘दुर्घटना हुँदा म सुतिरहेको थिएँ’ घटनामा घाइते भएका हेरात निवासी मोहम्मद नाबीले भनेका छन् ।

उनले आफ्नो छोरा र भाइ पनि घाइते भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । “यात्राको क्रममा म निदाइरहेको थिएँ र यो घटना भयो,“ अर्का यात्रु अली मोहम्मदले भने ।

घटनामा घाइते भएका मानिसहरूलाई बाघलान र समाङ्गन प्रान्तका दुई अस्पतालमा लगिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाघलान अस्पतालका प्रमुख मोहम्मद अनवर वर्दकका अनुसार अस्पतालमा एक बालक र एक महिलासहित १५ जना घाइतेलाई भर्ना गरिएको थियो । केही घाइतेलाई अस्पतालबाट घर फर्काइएको बताइएको छ ।

अफगानिस्तानमा यस्ता सवारी दुर्घटनाहरु हुँदै आएका छन् । यसअघि बाघलानको दोशी जिल्लामा एउटा गाडीले नियन्त्रण गुमाउँदा कम्तीमा चार जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत मे महिनामा बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

हालसम्म भारतमा २०० डोज खोप प्रदान

भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ ।
सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म १९९ दशमलव ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।

यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलव ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।

कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन् । देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडको पहिलो डोज खोप लगाएका छन् भने ८७ प्रतिशतले दुवै डोज लिएका छन् ।

आवर वल्ड इन डाटाका अनुसार विश्वको कुल जनसंख्याको ६२ दशमलव १ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् । यस हप्ता केन्द्रीय स्वास्थ्य मन्त्रालयले १८ वर्ष र माथिका मानिसहरूलाई बुस्टर डोजका लागि ७५ दिनको खोप अभियान सुरु गरेको छ । अहिलेसम्म लक्षित जनसंख्याको १८ देखि ५९ वर्ष समूहका १ प्रतिशतभन्दा कमले बुस्टर डोज लगाएका छन् ।

कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियान तीव्र पारेको छ ।

जापानमा सर्पका कारण १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध

जापानका करिब १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो ।

न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो ।

तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अन्वेषकहरूले लोडसेडिङको कारण पत्ता लगाउन सफल भए । सवस्टेसनभित्र सर्पको अवशेष फेला परेका थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले घटनाबारे पत्ता लगाउँदा करेन्ट लागेको सर्प जलिरहेको अवस्थामा पाइएको थियो । जसका कारण धुवाँको मुस्लो निस्किएको थियो । त्यसपछि घटनास्थलमा ६ वटा दमकल र अग्नि नियन्त्रकलाई परिचालन गरिएको थियो ।

सुरक्षाका कारण तत्काल बिजुली आपूर्ति बन्द गरिएको थियो । १० हजार घरले प्रयोग गर्ने विद्युत प्रवाह पुनः सुरु हुन झन्डै एक घन्टा लागेको थियो ।

लोडसेडिङका कारण पंखा र एसी चलाउन नपाउँदा आफूले पसल बन्द गर्नुपरेको एक हजामले बताएका छन् । सर्पको समाचारले त्यहाँका बासिन्दाहरूमा पनि धेरै चासो जगाएको जापान टुडेले जनाएको छ ।

सर्पले सहरको बिजुली अस्तव्यस्त बनाउन कसरी सफल भयो भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ३५ बजे

प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से

काठमाडौं– प्रि सेसन अवधिमा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

शिक्षा उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासङ्घको आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।