यी हुन् तपाईंले पढ्नुपर्ने आजका प्रमुख समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

यी हुन् तपाईंले पढ्नुपर्ने आजका प्रमुख समाचारहरू (अडियोसहित)


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर कैदीबन्दीलाई पनि प्रतिनिधिसभा मताधिकार प्रदान, भारत भ्रमण सकेर नेपाल आए प्रचण्ड, भृकुटीमण्डपमा भएको आगलागीबारे छानबिन हुने गृहमन्त्रीको भनाइ लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरु:

कैदी बन्दीलाई पनि प्रतिनिधिसभा मताधिकार प्रदान

सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदाता नामावली निर्माण गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मताधिकार वञ्चित नगराई समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

निशान्त पोखरेल समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले निर्वाचन आयोगलाई मतदाता नामावली ऐन २०७३ को दफा ३० (१) र (२) को अस्थायी मतदाता नामावलीको व्यवस्था कार्यान्वयन गर्न र अस्थायी मतदाता नामावली संकलन गरी मतदानको अधिकार दिन आदेश दिएको हो ।

मतदाता नामावली ऐनको दफा ३० (१) मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगले छुट्टै अस्थायी मतदाता नामावली तयार गराउन सक्ने व्यवस्था छ ।

भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक भेटवार्ता भयो: प्रचण्ड

तीन दिने भारत भ्रमण सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । अध्यक्ष दाहाल तीन दिने औपचारिक भ्रमण सकेर आज अपरान्ह स्वदेश फर्किएका हुन् ।

त्रिभुवन विमानथलकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले भारत भम्रण उपलब्धिमूलक रहेको बताए ।

दुई देशको द्विपक्षीय हितका विषयमा छलफल भएको पनि उनले जानकारी दिए । भारत भ्रमणका क्रममा उनले आज बिहान भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए ।

नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको बताइएको छ ।

यस्तै प्रचण्डले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका भए पनि दुई शीर्ष नेताबीच भेटवार्ता हुन सकेन ।

भम्रणका क्रममा अध्यक्ष दाहालले हिजो विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए । यस्तै, भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहेको ‘फाउण्डेन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गरेका थिए ।

गत शुक्रबार भाजपा अध्यक्ष नड्डाको निमन्त्रणामा उनी नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

अर्थमन्त्रालयको सीसीटीभी फुटेजबारे बुझ्न इन्जिनियरसँग सोधपुछ

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग पनि सोधपुछ सक्ने तयारी रहेको छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

आज नै अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको उनले जानकारी दिए ।

समितिको हिजो बसेको बैठकमा पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ गरिएको थियो ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निर्वतमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गत असार २२ गते बुधबार ११ संसदीय छानबिन समिति गठन गरिएको थियो ।

यी हुन् मन्त्रिपरिषदले गरेका निर्णयहरु

सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिन रकम अपुग भएकाले अर्थ मन्त्रालयले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै पेट्रोलियम पदार्थमा पूर्वाधार कर वापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख रुपैयाँ अनुदान स्वरूप नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए ।

यस्तै बैठकले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको छ भने जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट सङ्कलित रकम फुकुवा गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै व्यापार घाटा न्यूनीकरणका लागि विभिन्न १० बस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौ १४ गते सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए ।

बर्डफ्लु प्रभावित र नियन्त्रणमा खटिएकालाई प्रोत्साहन सुविधा प्रदान गर्ने मापदण्ड स्वीकृत गरेको पनि उनले बताए । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग ऐन २०७१ लाइ संशोधन गर्न बनेको बिधेयकलाई संसदमा पेश गर्न स्वीकृती दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा पर्वतका प्रदीप शर्मा पौडेललाई नियुक्त गरेको छ ।

उपसभामुख भुसालले लिइन् पद तथा गोपनियताको सपथ

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपसभामुख भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सो समारोहमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । पदभार ग्रहण गर्दै भुसालले बाँकी रहेको अवधिमा प्रतिनिधिसभालाई थप प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने बताइन् ।

प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी भुसालले आफनो पक्षमा १४८ मत प्राप्त गर्दै उपसभामुख पदमा निर्वाचित भएकी थिइन् ।

भृकुटीमण्डपमा भएको आगलागीबारे छानबिन हुन्छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपमा भएको आगलागीको कारणबारे छानबिन हुने बताएका छन् ।

त्यस्तै उनले आगलागीबाट अपाङ्ग कोषको सामान जलेर नष्ट भएको भन्दै सरकारले सहयोग गर्ने बताएका हुन् ।

आगलागी भएको स्थानको निरीक्षण गर्दै आज गृहमन्त्री खाँणले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अपाङ्ग कोषलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने बताए ।

आगलागीका कारण कोषको पुस्तकहरु र समाजकल्याण परिषद्का सामाग्रीहरु नष्ट भएको उनको भनाइ छ ।

उनले कसरी आगो लाग्यो भन्ने थप छानबिन हुने जिकिर गरे । निरीक्षणका क्रममा उनले परिषद् र कोषका पदाधिकारीसँग छलफल गरेका थिए ।

सभामुख सापकोटा र भारतीय राजदूतबीच भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पु¥याउन सफल हुने विश्वास गरे ।

यस्तै नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं वर्ष मनाइरहेको सन्दर्भ स्मरण गराएका थिए ।

प्रधानसेनापति अष्ट्रेलिया भम्रणमा जाने

प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने भएका छन् ।

मन्त्रिपरिषद बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लागेका हुन् ।

बैठक स्थगित गरेको भन्दै एमालेको विरोध

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठक स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका छन् ।

नगरसभाको आज दिउँसो १ बजेका लागि बोलाइएको नगर सभा बैठक स्थगित भएको जानकारी गराएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका हुन् । नगरसभा बैठकमा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भए पनि प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले हाजिर गर्न नदिई रजिस्टर कब्जा गरेर बैठक स्थगित गरेको एमालेले आरोप लगाएको छ ।

एमाले जनप्रतिनिधिहरूले ज्ञवालीविरुद्ध नाराबाजी गर्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको राजीनामा माग गरेका छन् ।

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सत्तारुढ दल निकट विद्यार्थीहरुहरुले बालुवाटारमा आज प्रदर्शन गरेका छन् ।

गभर्नरलाई कार्यालय प्रवेशमा रोक लगााउने भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले आज दिउँसो बालुवाटारमा गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

निषेधित क्षेत्रमा प्रवेश गरेर नाराजुलुस गरेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ । गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले बर्खास्तीको माग गरेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले एमालेले जाँलझेल गरेर आफ्ना नेतालाई संविधान विपरीत गभर्नर पदमा नियुक्त रहेको आरोप लगाए । उनले अधिकारी अवैधानिक रुपमा गभर्नर पदमा बसेका कारण आन्दोलन गर्नुपरेको बताए ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे चौतर्फी बहस शुरु भएको छ ।

भोलिदेखि २७ जिल्लामा कोरोना विरुद्धको खोप दिइने

सरकारले भोलिदेखि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिने भएको छ । असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भोलिदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजान मन्त्रालयले अनुरोध गरेको छ । भोलिदेखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी यस्तै मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी र बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने भएको हो ।

यसैगरी, गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने सरकारको तयारी छ ।

थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ४ सय ७३ पीसीआर परीक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परीक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ५९ संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

चेकमा नक्कली छाप प्रयोग गरी पैसा निकालेको आरोपमा पक्राउ

काठमाडौँबाट चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वासुदेव अर्याल रहेको प्रहरीले जनाएको छ ।

उनीमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ । अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।

अर्यालले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बलात्कारको आरोपमा २ जना पक्राउ

युवती बलात्कारको आरोपमा बैतडीमा आज २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उनीहरूमाथि २० वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । सुस्त मनस्थितिकी युवतीलाई गत असार २७ गते दिउँसो घरमै गएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

युवतीका घरपरिवारले बलात्कार भएको भनेर जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

मिर्गौला बेचबिखनको आरोपमा ५ जना पक्राउ

प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर भएका २८ वर्षीय धनबहादुर रोका, गुल्मीको तम्घास नगरपालिका–२ घर भएका ३१ वर्षीय विजय कुँवर, दोलखाको चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भएका २८ वर्षीय धुपेन्द्र शाही, ३२ वर्षीय विमलबहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका–१ घर भएका २१ वर्षीय छोटे भनिने आशिष तामाङ रहेका छन् ।

पक्राउ परेकामध्ये विमलबहादुर र धनबहादुरले भारतमा गएर आफ्नो समेत मिर्गौला बेचेको पाइएको छ । पक्राउ परेका पाँचैजना एकै गिरोहका सदस्य रहेको खुलेको हो ।

उनीहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतले हिजो पठाएको नयाँ मुल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

यद्यपि भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने भएको छ ।

आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले साही अनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमले जनाएको छ ।

एक वर्षमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४८० किलो सुन बरामद

गत आर्थिक वषमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ सय ८० केजी सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो दिन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टबाट नियन्त्रणमा लिइएको जानकारी दिएको हो ।
भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व पनि संकलन भएको छ ।

विमानस्थल भन्सारका अनुसार दैनिक औसत ३० यात्रुबाट १ केजी ५ सय ग्रामसम्म अवैध सुन बरामद हुने गरेको छ ।

शेयर बजार झिनो अंकले बढ्यो

नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन शेयर बजार झिनो अंकले बढेको छ ।

नेप्से आज एक दशमलव ९३ अङ्कले बढेर दुई हजार ११ दशमलव ३९ विन्दुमा पुगेको हो ।

बैंक, व्यापार, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर आज सामान्य अंकले बढेको छ । आज दुई सय १० वटा कम्पनीका ३० लाख ४५ हजार ८ सय ८९ कित्ता शेयर एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँमा कारोबार भएको छ ।

आज प्रभु बैंक, नयाँ सारथी लघुवित्त र कुमारी बैंकको मुल्य ४ प्रतिशत बढेको छ । यस्तै प्रभु सेलेक्ट फण्डको मूल्य ९ दशमलव ७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज माथिल्लो तामाकोसी, हिमालयन डिस्टिलरी, अरुणकाबेली, एनआईसी एसिया बैंक र नेपाल टेलिकम अगाडि रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ४९ बजे

‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी

काठमाडौं– आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका जापानी मन्त्रीले माफी

गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक 

काठमाडौं– आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर

भारतीय वीरंगनालाई जंगबहादुरले लगाएको त्यो गुन

काठमाडौं– नेपाली शासकले दुःख दिँदा होस् कि देश निकाला गर्दा

राष्ट्रियसभा : विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र

नार्क सुधार गर्न प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन 

काठमाडौं– सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज