बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. दलहरूको रुजु आजदेखि सुरु

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूको रुजु आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु गर्ने काम आजदेखि सुरु गर्ने जनाएको हो ।

दल दर्ताको निवेदन दिएका सबै दलहरूको आजदेखि जाँच गर्ने र त्यसमा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भए/नभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् ।

२. जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमले समितिको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने जानकारी दिए ।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले आज बस्ने बैठकको एजेण्डा समितिको आन्तरिक कार्यविधि निर्माण र पारित गर्ने बताए । साथै बैठकमा समितिको संयोजक चयन गर्ने विषयमा पनि छलफल हुनेछ ।

३. सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

संघीय संसद् र प्रदेश संसद्को निर्वाचनको सिट बाँडफाँडका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसद्का १ तथा ६५ तथा प्रदेश संसद्का ३ सय ३० सिट बाँडफाँडको प्रारम्भिक खाकाका विषयमा छलफल गर्ने तयारी छ ।

४. माओवादी स्थायी समिति बैठक १ बजे बस्ने 

आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक दिउँसोलाई सारिएको छ । अन्तरिक छलफल गर्नुपर्ने भएकोले बैठक दिउँसो १ बजे मात्रै बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यस अघि बैठक बिहान ८ बजे बस्ने भनिएको थियो । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आगामी संघ र प्रदेशसभा निर्वाचनका लागि आवश्यक रणनीतिबारे छलफल हुने भएको छ ।

५. स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा  सहभागी नहुने भएको छ ।

प्रदेश संरचनाको असन्तुष्टि व्यापकरूपमा देखिएको भन्दै अध्यक्ष लामिछानेले आफ्नो पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने जानकारी गराएका हुन् ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मात्रै सहभागि रहने अध्यक्ष लामिछानेले भिडियो सन्देशमार्फत बताएका हुन् ।

६. आजबाट पातलो प्लास्टिक प्रयोगमा रोक

सरकारले आज ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ ।

वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई आजदेखि कडाइका साथ लागू गर्ने जनाएको हो ।

७. म्याग्दीमा पहिरोले पाइप बगाउँदा दुई महिनादेखि खानेपानी अभाव

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको एक गाउँका बासिन्दा खानेपानीबाट बञ्चित भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा रहेका २८ वटा धारामा जेठ अन्तिम सातादेखि पानी नआएपछि स्थानीय खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका हुन् ।

गत जेठ २८ गते मरुवा र उपल्लो खन्ना क्षेत्रबाट खसेको पहिरो र बांगे छहरोमा आएको बाढीले खानेपानीको पाइन लाइन र दुधेखोलाको मुहान बगाइदिए पछि बगरफाँटमा खानेपानीको समस्या भएको स्थानीयले बताएका छन्।

८. सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै 

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक विदा दिइएको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ ।

ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ ।

९. बाइडेनद्वारा महत्वकाङ्क्षी कानुन जारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वास्थ्य, कर र जलवायु परिवर्तन सम्बन्धी महत्वकाङ्क्षी कानुन जारी गरेका छन् । बाइडेनले स्वास्थ्य सेवाको शुल्कमा राहत दिने तथा जलवायु परिवर्तनविरुद्ध लड्नका लागि बजेटको व्यवस्था गर्ने सम्बन्धी कानुन जारी गरेका हुन् ।

उनले ७०० बलियन अमेरिकी डलरको महत्वकाङ्क्षी विधेयकलाई हस्ताक्षर गरी कानुनमा परिणत गरेका हुन् । नयाँ कानुन अनुसार धनीहरूमाथि लाग्ने कर बढेको छ ।

दशकौँदेखि ‘प्रेशकिप्सन ड्रग’ को मूल्य कम गर्ने वाचा गरिँदै आएको नयाँ कानुनले त्यसलाई सम्बोधन गरेको छ ।

१०. पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ । नेदरल्याण्डको रोटरड्याममा गएराति भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो ।

जितसँगै पाहुना टोलीले  तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १–० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १० : ३३ बजे

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ