अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १ .  जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अर्को बैठकमा कार्यतालिका प्रस्तुत गर्न निर्देशन   

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छानविन गर्न गठन भएको महाभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ ।

सिंहदरबारमा  आज बसेको समिति बैठकले छानविनका लागि कार्यविधि र कार्यतालिका बनाउने निर्णय गरेको हो । अर्को बैठकमा समितिको कार्यविधि र कार्यतालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरूले महाभियोग प्रक्रिया छिटो भन्दा छिटो टुंग्याउनुपर्ने धारणा राखेका थिए ।

एमालेका सांसद कृष्णभक्त पोखरेलले १ महिनाभित्रमा नै टुंगोमा पुग्ने गरि काम गर्नुपर्ने बताए । उनले महाभियोगका विषयमा एमाले तटस्थ रहेको दावी गरे । त्यस्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव र अरु दस्तावेजमाथि अध्ययन गरेर छलफललाई तिव्रता दिनुपर्ने धारणा राखे । उनले महिनापछि चुनावमा केन्द्रित हुनुपर्ने भएकाले छोटोमा काम सक्ने गरी कार्यविधि बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै माओवादी सांसद यशोदा गुरुङ सुवेदीले समितिमा कुनै विवाद नगरी समयमा नै निष्पक्ष छानविन गर्नुपर्ने बताए । प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि समितिले काम सुरु गरेको हो । साउन २२ गते बसेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो । 

२ .  निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताएका छन् ।

कृष्णप्रसाद भट्टराई फाउन्डेशनले  आज काठमाडौंमा आयोजना गरेको ‘नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई/शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका गठबन्धन कायम रहने बताएका हुन् ।

उनले स्रोत, पर्यटन, कृषि क्षेत्रलाई उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुुलुकका रुपमा विकास गर्ने योजना गरेको धारणा राखे  ।  विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न उनले जनप्रतिनिधिलाई निर्देशन दिए ।

 ३ . बाग्मती प्रदेशको दुईवटा अध्यादेश जारी 

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गर्नुभएको छ ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९   जारी भएको हो ।

 ४ . प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजाने खोजेपछि झडप 

स्थानीयको विरोधकाबीच प्रहरीले स्कर्टिङ गरेर काठमाडौंबाट फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि  दुईसमुहबीच झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको बुझिएको  छ ।

काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अहिले रोकिएका छन् । हिजो प्रहरी बल प्रयोग गरेर १ सय ८६ ओटा गाडीले फोहोर  बिर्सना गरेका थियो ।

स्थानीयले गरेको अवरोधलाई चिर्न प्रहरीले हानेको रबर गोली लागेर एक जना घाइते भएका थिए । स्थानीयवासिन्दाले आज हिजोभन्दा ठूलो आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।

५. गड्डाचौकी र त्रिनगर नाकाबाट १९ महिलाको उद्धार

बाजुराका १९ जना महिलाहरूको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ। बाजुराको नौ वटै स्थानीय तहका  आधिकांश महिलाहरू घरको आर्थिक स्थिति निकै कम्जोर भएकोले उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन् ।

बाजुराका उन्नाइस जना महिलालाई भारतमा राम्रो काम लगाइ दिने प्रलोभन पार्दै दलालहरूले बिक्री गर्ने उद्देश्यले भारत लिँदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह कैलाली र गड्डाचौकीले जनाएको छ ।

 ६ .बाग्मती नदीमा पुल नहुँदा स्थानीयवासी मारमा

रौतहटको बाग्मती नदीमा १२ वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर ५ वडहर्वा बाग्मती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीयवासीले सास्ती बेहोर्नुपरेको हो ।

बाग्मती नदीमा स्थानीयवासी वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो । तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।

पुल बन्ने आशा बोकेका बाग्मती पारिका वडहर्वावासीलाई आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ । पुल समयमा नै नबन्दा बाग्मती पारि बसोवास गर्ने झन्डै चार सय घरका मानिस जोखिम मोलेर काठको डुङ्गामा यात्रा गर्न बाध्य छन् ।

दैनिक तथा प्रशासनिक कामका लागि र जिल्लाका विभिन्न ठाउँमा जानका लागि डुङ्गाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । बिरामी हुँदासमेत डुङ्गाबाट नै नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था छ ।

७.  नेप्से आज ३६ भन्दा बढी अंकले घट्यो 

शेयर कारोबार परिसुचक नेप्से आज  पनि  घटेको  छ ।  नेप्से आज शून्य दशमलव ३६ अङ्कले घटेर २ हजार ४० दशमलव ७० विन्दुमा विन्दुमा पुगेको हो । आज दुई सय २० वटा कम्पनीको ३४ लाख ९७ हजार ८ सय ८१  कित्ता शेयर कुल एक अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै रिडी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको शेयर  कारोबार भएको छ । आज बैंक, व्यापार, होटल, अन्य, जीवन बीमा र लगानी समूहको शेयर सामान्य घटेको छ । विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचुअल फन्ड समूहको शेयर भने सामान्य बढेको छ ।

आज साम्लिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, मन्दाकिनी हाइड्रो, श्वेतगंगा हाइड्रो र सपोर्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

८. उत्तर कोरियाद्वारा दुईवटा क्रुज मिसाइल प्रहार

उत्तर कोरियाले . दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको  मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि अधिकारीहरूले जनाएका छन् ।योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक प्योङयाङले जुलाई १० मा हतियार परीक्षण गरेको थियो ।

त्यतिबेला उसले धेरै रकेट लन्चरहरू फायर गरेका थिए ।विश्वबाटै एक्लिएको प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षणबारे योजना गरिरहेको बताइएको छ । 

 ९. पाकिस्तानसँगको विवादित सीमामा भारतीय सैनिक जवानको शव फेला

पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले  आज बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।  

लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । स्थानीय सञ्चारमाध्यमले शेखर २० सदस्यीय समूहको सदस्य रहेको बताएको छ  ।

गस्तीको क्रममा हिउँको आँधीमा फसेको जनाइएको छ  । उनको अन्तिम संस्कार अब उनको परिवार बस्ने उत्तरखण्ड राज्यमा पूर्ण सेना सम्मानका साथ हुने बताइएको छ ।

 १० . सन्दिपको टी–ट्वान्टीको बलिङ वरीयतामा सुधार  

 नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टीको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ नै अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएका छन् ।ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन्  । कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंह ऐरी ४२ औं स्थानमा यथावत रहेका छन् ।अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत रहेका छन् । एकदिवसीयतर्फ सन्दीप ३४ औं स्थानमा यथावत रहेका छन् ।

सोमपाल कामी ९४ र करण केसी ९५ औं स्थानमा झरेका छन्  । एकदिवसीय ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख १०० औं स्थानमा यथावत रहेका छन् ।नेपालको एकदिवसीय वरीयता १९ औं स्थानमा रहँदा टी–ट्वान्टीतर्फ १४ औं स्थान रहेको छ ।

 

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : ३६ बजे

आज तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक समिति

काठमाडौँ, कात्तिक १६ गते। नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल कात्तिक १६ गते शुक्रबार तदनुसार

विश्वकप लिग २- अमेरिकामाथि स्कटल्यान्डको शानदार जित, ब्रान्डमले जोडे १५१ रन

डालार्स – स्कटल्यान्डले आइसिसी वर्ल्ड कप लिग–२ को खेलमा अमेरिकालाई

आज २०८१ साल कात्तिक १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक १६ गते शुक्रबार तदनुसार

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक