सुदूरपश्चिममा बढ्दै कोरोना सङ्क्रमित « Khabarhub

सुदूरपश्चिममा बढ्दै कोरोना सङ्क्रमित


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको कोरोना सङ्क्रमण दर हाल निरन्तर रुपमा बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमण दर बढ्दै गएको हो ।

गत एक महिनाको तथ्याङ्क हेर्दा यहाँ करिब एक हजार दुई सय थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १ गतेदेखि मसान्तसम्मको तथ्याङ्क हेर्दा एक हजार एक सय ९३ नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सङ्क्रमणकै कारण एक जनाले ज्यान गुमाएको छ । गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमण दर त्यसयता बढ्दै गएको हो ।

निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको सुदूरपश्चिममा सङ्क्रमण बढेको हो । उनले भने, “भारतमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको प्रभाव यहाँ पनि परेको अनुमान गर्न सकिन्छ ।” भारतमा मजदुरी गर्दै आएका नेपाली नागरिक स्वदेश फर्किने क्रम बढेकाले जोखिम पनि बढ्दै गएको उनले बताए।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको निर्देशनालयले जनाएको छ । जोखिम कायमै रहेकोले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, “नयाँ व्यवस्थापनको काम नभए पनि सिमानाकामा स्थापना भएका हेल्थ डेस्कमार्फत जाँचमा कडाइ गरिएको छ ।”

भारतसँग सीमा जोडिएका प्रदेशको गड्डाचौकी, गौरीफन्टा, झुलाघाट, पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेनमार्फत कोरोना परीक्षणको काम भइरहेको छ । हेल्थ डेस्कमा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तर रुपमा भइरहेको छ । उनले भने, “सङ्क्रमण देखिनासाथ अस्पताल लैजाने गरेका छौँ, डाक्टरको सल्लाहमा सङ्क्रमितको स्वास्थ्य अवस्था हेरेर भर्ना गर्ने र होम आइसोलेसनमा बस्न सुझाउने गरिएको छ ।”

यसका साथै पहिला स्थापना गरिएका होडिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन, कोरोना अस्पताल, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने काम भइरहेको निर्देशनालयले जनाएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ ।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ७२ हजार सात सय ८७ को कोरोना परीक्षण गरिएकामा ६० हजार नौ सय ३४ मा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३४ को ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : ०२ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी