भनिन्छ, जीवन रंगीन हुन्छ । सोचेजस्तो जीवन नभएपनि समग्रमा रंगीन नै हुन्छ । तर सबैको जीवन रंगीन चाँहि हुँदैन । जीवन उतारचढावका हरेक विषयलाई लिएर मानिसहर चिन्ता व्यक्त गर्छन् । तर केही मानिस भने आफ्नो जीवनलाई जस्तो अवस्थामा पनि अगाडि बढाउँछन् । जस्तोसुकै कठिनाइमा पनि सफलता हात पार्छन्, यसैको पर्याय हुन्, सीता सुवेदी ।
उनी जीवनमा अनेक भोगाइहरूलाई पार गर्दै शास्त्रीय नृत्यांगना क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । एउटै खुट्टाको माध्यबाट आफ्नो नृत्य पस्किदै आएकी उनले यसैलाई आफ्नो सफलताको मानक बनाएकी छन् । चितवनको मैघौलीमा जन्मिएकी सीता १२ वर्षको उमेरमा क्यान्सरबाट पीडित भइन् ।
केही समय त केही गर्न सक्दिन भन्ने पनि उनलाई लागेको थियो । तर आफुमा दुढ विश्वास लिदै आगाडि बढ्दा आज उनी कला क्षेत्रमा एक परिचित नाम बन्न पुगेकी छन् ।
संघर्षको नयाँ नाम
‘गरे के सम्भव छैन् र’ भन्ने कुराको उदाहरण बन्न सीता सफल भएकी छन् । सानै उमेरदेखि नृत्य भनेपछि हुरुक्कै हुने सीता भजन गाउँदा पनि नाच्ने गर्थिन् ।
घरमा चाडपर्वको बेलामा स्थानीय क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा अरुले नाचेको देख्दा पनि म पनि त्यो स्टेजमा नाच्न पाए हुन्थ्यो भन्ने सितालाई लाग्थ्यो ।
‘त्यो बेलामा गाउँघरमा चाडपर्वका बेला अरुले नाचेको हेर्न जाँदा बुबाले हामी ब्राह्मणले त पढ्ने हो, अरु जातिले आफ्नो संस्कृति जोगाउन नाचेको हो भन्नुहुन्थ्यो’ सुरुवातमा नृत्यप्रति उनका अभिभावकको धारणा सुनेर दुःखी भएकी सीताले सुनाइन्, ‘आज पनि त्यो कुराले मलाई घोची रहन्छ । त्यो बेला सबै जात जातिको नाच देख्दा मलाई एकदमै खुसी र लगाव आउथ्यो संस्कृति देखेर । सायद त्यसैको उपज होला आज म यो स्थानमा आइपुगेको हो ।’
तर उनले सोचेको जस्तो भएन । जब १२ वर्षको उमेरमा क्यान्सर भयो र खुट्टा काटिनुपर्छ भन्ने कुरा डाक्टरहरूले सुनाए, उनको सपनामा ठूलो हावाको झोक्का चल्यो । ‘त्यतिबेला मनमा एउटै कुरा खेल्यो । अब म नाच्न पाउँदिन । मेरो सबै सकियो भन्ने लाग्यो’ उनले भनिन्, ‘अब त्यो भन्दा अगाडि मैले चाही आफ्नो इच्छा पुरा गर्छु भनेर विश्वास गुमेको थियो ।’
त्यतिबेला मध्य नेपालको सबैभन्दा लोकप्रिय एफएम कालिकामा परीक्षणको समयमा बिहान गीत बज्थ्यो । अनि त्यही ननस्पट गीतमा सीता नाचेको नाच्यै हुन्थिन् । तर खुट्टा गुमिसकेको थियो । खुट्टा काटिसकेपछि किमो थेरापी गराउन अस्पताल जाने क्रममा तीन वटा किमो चढाइसकेपछि पारिजातकी बहिनी सुकन्या वाइबासँग उनको भेट भयो ।
सुकन्याको श्रीमानलाई घाटीको क्यान्सरको उपचार गर्ने क्रममा उनको भेट भएको थियो । सीतालाई सुकन्याकै श्रीमानले नृत्य मोहलाई जीवन्त गराइदिए । ‘उहाँले भारतमा त एक खुट्टाले नृत्य गर्ने हिरोइन हुनुहुन्छ भन्नुभयो । जुन मेरो लागि प्रेरणाको पाटो बन्यो’ सीता भन्छिन् ।
सुकन्या दिदीले नै कृत्रिम खुट्टा राख्न पाइन्छ भनेर जानकारी दिइन् । तर समय कस्तो भयो भने खुट्टा काटिसकेपछि किमो गराउँदा जुन कमजोरी अनुभव गर्नुपर्थ्यो, त्यसले उनको शरीर पुरै अचेत अवस्थामा नै पुग्यो । तर उनले हिम्मत हारिनन् ।
घरदेखि स्कुलसम्म
त्यसपछि उनले एसएलसीमा राम्रो अंक ल्याइन् । जसमा स्टाफ नर्सको लागि छात्रवृत्तिमा पढ्ने अवसर पाइन् । तर उनले त्यो अवसर अर्को साथीलाई सुम्पिइन् ।
तर यो उनका लागि सहज भने थिएन । नृत्य र पठनपाठनको काम सँगसँगै अगाडि बढाएर पढ्छु भन्दा घर परिवारबाट नाच्न दिने कुरा भएन । अर्थात घरपरिवारदेखि उनले अनुमति पाइनन् ।
तर उनले त्यसलाई सहजै स्वीकार गर्न गाह्रो भइदियो । सुरुमा उनले आमाबुवाकै चाहनामा पढिन् । तर पछि घर परिवारलाई थाहै नदिई उनले नृत्य सिक्न थालिन् ।
‘भाईले सहयोग गरेको कारण सजिलो भयो । घरमा उसलाई मात्र थाहा थियो’ उनले त्योबेलाको संघर्ष सम्झिदै भनिन्, ‘जब बीबीसीले मैले स्टेजमा प्रस्तुत गरेको नृत्यलाई कभरेज गरिदियो । तब मेरो परिवारले थाहा पाउनुभयो । त्यो बेला सायद बुबालाई पनि गर्वको महसुस भयो होला ।’
पदमकन्यामा अध्ययनरत रहँदा क्याम्पसको वार्षिक उत्सवका क्रममा उनले नृत्य प्रस्तुत गरिन् । त्यहाँबाट उनको नृत्यको यात्रा सुरु भयो । त्यसपछि विभिन्न महोत्सव हुँदै दक्षिण कोरियाको सांस्कृतिक कार्यक्रममा भाग लिइन् उनी विदेश उडिन् ।
जसलाई उनले आजसम्म निरन्तरता दिइरहेकी छन् । अन्तर्राष्ट्रिय अपांगता दिवसको २०१९ को दिन अन्तराष्ट्रिय रुपमा नृत्य प्रस्तुत गर्न पाउनु उनी आफ्नो भाग्य सम्झिन्छन् ।
सन् २०२० को जनवरी ११ मा सियोलमा भएको भिजिट नेपालको कार्यक्रममा स्वागत नृत्य गर्ने अवसर पाउँदा उनी खुशी थिइन् । आफूले रोजेको क्षेत्रलाई पेशा बनाएर अगाडि बढाउन पाउँदा गर्वको महसुस हुने उनी बताउँछिन् ।
नयाँ पिढीलाई विशेष सुझाव
शारीरिक अशक्तता वा केही कमजोरी भएपनि अन्य क्षमता हुन्छ । त्यसमा राज्यले ध्यान दिनुपर्ने उनको बुझाई छ । आफूले चाहेको कुरालाई न्याय दिन सकियो भने र व्यक्ति स्वयं त आफुस बाँचैकै हुन्छ तर समाजका लागि केही दिन सकियो भन्ने र आत्मसन्तुष्ट लिन सकिने उनको धारणा छ ।
अहिले युवा वर्गमा म केही गर्न सक्दिनँ भनेर डिप्रेसनमा जाने मनोप्रवृत्ति बढिरहेको देख्छु । अलिकति हामी कृत्रिम चीजमा बढी केन्द्रित भएको हो भन्ने लागेको उनी बताउँछिन् ।
वास्तविकताबाट जीवनलाई नियालेर हेर्न सकेको खण्डमा जीवनको महत्व र सफलता हासिल गर्न सकिने सीता बताउँछिन् ।
‘आफूले चाहेको कुरामा निरन्तर लाग्नुपर्छ’ उनले भनिन्, ‘गर्दै, सिक्दै र हिम्मत नहारी अगाडि बढ्दा एकदिन अवश्य सफलता हात पार्न सकिन्छ ।’
आफ्नो कर्ममा निरन्तर लाग्न र सकारात्मक भएर आएका चुनौतीलाई छिचोल्दै अगाडि बढे अवश्य नै सफल भइन्छ भन्ने कुराको सन्देश उनी दिन चाहन्छिन् ।
प्रतिक्रिया