सिरुटार-बिरुवा सडक भत्काएर काम नगर्दा स्थानीय समस्यामा  | Khabarhub Khabarhub

सिरुटार-बिरुवा सडक भत्काएर काम नगर्दा स्थानीय समस्यामा 


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका-१ अन्तर्गत सिरुटार-बिरुवा मूल सडक खण्डको बालकोट र सिरुटारको सिमाना पुलदेखि उपयोगी चोकसम्म ठूलाठूला पोखरी बनेपछि स्थानीयले व्यङ्ग्य गर्दै पाँच पोखरी नामकरण गरेका हुन् ।  

निर्माण व्यवसायीको लापरबाही र स्थानीय जनप्रतिनिधिको उदासीनताका कारण अलपत्र बनेको सडक गत असार मसान्तसम्म सडकमा ढल व्यवस्थापन, पेटी, ग्रावेल, वेस कालोपत्रसहितको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि सडक भत्काएर नियमित काम नगर्दा स्थानीयले निकै सास्ती ब्यहोर्नु परेको छ । 

वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित, भौतिक पूर्वाधार निर्देशनालय धुलिखेलद्वारा वल्र्ड वाइड, पी.आर. सुसन सेभी ललितपुरले निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको कौशलटार बिरुवा भक्तपुर सडक शीर्षकको उक्त सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परेको हो ।

मन्त्रालयले विनियोजन गरेको कूल रु पाँच करोड ५९ लाख ११ हजारको लागतमा २०७८ मङ्सिर १ गतेदेखि सुरु गरी २०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि सडक निर्माणको काम अझै सम्पन्न भएको छैन । 

बालकोट- सिरुटार सिमानाको पुलमै भैँसी आहाल बस्न मिल्ने गरी गहिरो ठूलो खाडल बनेको छ । त्यसको केहीमाथि उपयोगी चोकमै सडकका बीचमा पाँचवटा ठूला खाडल बनेर पानी जमेपछि स्थानीयले निकै सास्ती खेप्नु परेको छ । निर्माण व्यवसायी सुसन महर्जन महिनामा एक पटक आएर निरीक्षण गरेर फर्कने र थोरै कामदार राखेर काम गर्दा ढिलाइ भएको स्थानीयको भनाइ छ ।  

सिरुटार बालकोट हुँदै काठमाडौँ जाने अन्य विकल्पको सडक नभएपछि स्थानीय बाध्य भएर सोही सडकको प्रयोग गर्नुपर्दा दैनिक कैयौँ स्कुटर र मोटरसाइकल खाडलमा लड्ने गरेका छन् । स्थानीय भूपाल गिरीले यहाँका बासिन्दाले दैनिक यहीँ समस्या भोग्नु परेको गुनासो गर्दै खाडल पुर्न पाँच ट्रिप ग्राभेल हालिदिन आग्रह गर्दा पनि निर्माण कम्पनीले आजभोलि भनेर टार्ने गरेको बताए ।

राउत गाउँका हरि राउतले यहाँका जनप्रतिनिधि यहीँ सडक भएर दैनिक ओहोरदोहोर गर्दा सडकको कन्तबिजोग देख्दा पनि बेवास्ता गर्ने गरेको गुनासो गरे। उनले  भने , ‘यहीँ सडक भएर सांसददेखि वडाध्यक्षसम्म दैनिक हिँड्ने गर्नुहुन्छ, यहाँ मोटरसाइकल लडेको, ट्याक्सी डुबेको पनि देख्नुहुन्छ, सडकमा पोखरी नै पोखरी हुँदा पनि जनप्रतिनिधिले काम छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई दबाब दिँदैनन्, हामी यहाँका जनताले निकै सास्ती खेप्नु परेको छ ।’

दधिकोटको बिरुवादेखि सिरुटारका उपयोगी चोकसम्मका एक हजारभन्दा बढी घरपरिवार यहीँ सडकको प्रयोग गरेर दैनिक ओहोरदोहोर गर्ने गरेको भन्दै उनले पैदल यात्रीदेखि साना सवारीसाधनले निकै सास्ती ब्यहोर्नु परेको बताए । 

वर्षामा हिलाम्मे र घाम लाग्दा धुलाम्मे भएर हिँड्नु पर्दा कलेजदेखि कार्यालय जाँदा र घर फर्कँदा मान्छेको रुपनै फेरिने गरी धूलो र हिलो बोक्नु परेको स्थानीयको भनाइ छ । वाग्मती प्रदेश सदस्य शशिजङ्ग थापाले दसैँ अगाडिसम्म कालोपत्र गर्न सुरु गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको बताए । उनले भने, ‘यो सडक मात्रै होइन, सिरुटार र दधिकोटमा गरी वाग्मती प्रदेश सरकारको २१ करोडको बजेटबाट सडक निर्माण भइरहेको छ, यो सबै ठेक्का यहीँ कम्पनीले पारेको छ, कामदार कम ल्याउने र निरन्तर काम नगर्दा ढिलाइ भएको हो, काम छिटो सक्न हामीले दबाब दिइरहेका छौँ ।’

दशैँ  आउन १० दिन बाँकी छ । तर सडकमा बेस हाल्ने काम पनि सुरु भएको छैन । कालोपत्र गर्छु भनेर निर्माण व्यवसायीले जनता झुक्याउने काम गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । सूर्यविनायक नगरपालिका-१ का वडाध्यक्ष सानुकाजी कायस्थले सडक निर्माणमा स्थानीय प्रतिनिधिले छिटो काम सक्न दबाब दिइरहेको बताए ।

उनले भने, ‘जनताले हामीलाई गाली गर्छन् तर हामीले धेरै दबाब दिइरहेका छौँ, नत्र यतिसम्म पनि निर्माण सम्पन्न हुँदैनथ्यो । असार मसान्तसम्म सक्नुपर्नेमा दशैँ अगाडिसम्म सक्छु भनेको छ, पानीले पनि अवरोध गर्‍यो, खाल्डो पुर्न तत्कालै ग्राभेल झार्न मैले भनेको छु ।’

सडक निर्माण कम्पनी सुसन सेभी ललितपुरका फिल्ड सुपरभाइजर कृष्णप्रसाद उप्रेतीले तिहार अगाडि उक्त सडकमा कालोपत्र सम्पन्न गर्ने बताए । उनले भने, ‘सुरुमा सीमांकन गर्दा, पर्खाल लगाउँदा केही ठाउँमा स्थानीयबाटै अवरोध आयो, अझै पनि केही ठाउँमा समस्या छ, त्यसपछि निर्माण सामग्री आयात नै बन्द भयो, सामान ल्याउन नसक्दा ढिलाइ भयो, अब सामान ल्याउन थालेका छौँ, तिहार अगाडि सबै काम सक्छौँ ।’ सडकमा बनेको पोखरीमा भने यसअघि पनि पटक पटक ग्राभेल हाल्दा पनि नटिकेको र भोलीसम्ममा फेरी ग्राबेल हालेर मर्मत गरिदिने बताए । 

–रमेश गिरी रासस

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १ : ३० बजे

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

एमालेले आजै सरकार छोड्ने

काठमाडौं– नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।

म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका

उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

एजेन्सी– विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास