निसीखोलामा दश श्ययाको अस्पताल बन्ने « Khabarhub

निसीखोलामा दश श्ययाको अस्पताल बन्ने


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाका सबै वडामा सामुदायिक स्वास्थ्य इकाई तथा स्वास्थ्यचौकी छन् । जटिल प्रकारको उपचार गर्न यहाँका नागरिक बुर्तिबाङ झर्न बाध्य छन् । उनीहरूले अहिलेसम्म निसीखोलामा विशेषज्ञ डाक्टरबाट उपचार गराउन पाएका छैनन् । एक दशक अगाडिसम्म जिल्लाकै सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको निसीखोला मध्यपहाडी लोकमार्गले अहिले निकै सुगम बनेको छ । तर गुणस्तरीय स्वास्थ्य सेवाका हिसाबले अझै दुर्गम छ ।

वर्षौँदेखि स्थानीयले निसीखोलामा अस्पतालको माग गर्दै आएका थिए । तर त्यसको सुनुवाइ भने हुन सकेको थिएन । गत वर्षदेखि यहाँ अस्पताल बनाउने प्रक्रिया अगाडि बढे पनि अहिले बल्ल निर्माण सुरु भएको छ । 

गाउँपालिकाको वडा नं ४ झिम्पामा पालिकास्तरीय १० श्ययाको अस्पताल बन्न सुरु भएको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ । ‘अब बिरामी भए पनि हजारौँ पैसा खर्च गरेर टाढा जान नपर्ने भयो, गाउँमै ठूला अस्पताल बन्न थालेको छ, अहिलेसम्म यस क्षेत्रका मान्छे बिरामी पर्दाबित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौँ जाने गर्थे’, स्थानीय नरबहादुर घर्ती मगरले भने, ‘यहाँ अस्पताल बन्न लागेपछि त हाम्लाई निकै खुसी लागेको छ, यस ठाउँका जनतालाई अब केही दुःख हुने छैन, उपचारको हो दुःख भएको, अब अस्पताल बन्ने भयो ।’

संघीय सरकारको सहयोगमा निसीखोला आधारभूत अस्पताल बन्न लागेको हो । अस्पताल आगामी २०८० पुस महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमान गरेकामा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाखमा निर्माण गर्नेगरी जिम्मा लिएको गौतमको भनाइ छ । अस्पताल १० श्ययाको हुनेछ । 

‘अघिल्लो वर्षदेखि नै काम गर्नेगरी अस्पतालको सम्झौताको काम पूरा भएको थियो, निर्माण कम्पनीले अहिले काम गरिरहेको छ’, गौतमले भने, ‘अहिले अस्पतालको भवन निर्माणका लागि पिलर उठाउने काम भएको छ, निर्माण कम्पनीले कामलाई तीव्रता दिएको छ ।’

केन्द्र सरकारले कार्य प्रगतिका आधारमा बजेट दिने गौतमको भनाइ छ । अस्पताल भवन सुविधा सम्पन्न हुने र निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गरिने जनाइएको छ । भवन दुईतले हुने छ ।

भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यकपर्ने मापदण्डमा उल्लेख छ । स्थानीय दुर्गबहादुर सुनारलगायतका दाताले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो । 

अस्पताल गाउँपालिका– ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका नागरिकलाई स्वास्थ्योपचारमा सहज हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए । 

उनले वर्षौंदेखि यहाँका नागरिक सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिनसक्ने बताउनुहुन्छ । अध्यक्ष घर्ती मगरले भने, ‘माग गरेको लामो समयपछि अस्पताल बन्न थालेको छ, यसको निर्माण सम्पन्नपछि यहाँका नागरिकले विशेषज्ञ डाक्टरसहितको सेवा पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।’ 

स्वास्थ्योपचारका लागि नजिकमा अस्पताल नहुँदा विगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै अब कुनै पनि नागरिकले स्वास्थ्योपचार पाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताए । अध्यक्ष घर्तीमगरले अब सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुने बताउँछन् ।

अध्यक्ष घर्तीमगरले अहिलेसम्म पालिकामा एउटा पनि एम्बुलेन्स नभएको भन्दै त्यसका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताए । चालु आर्थिक वर्षमै एम्बुलेन्स सञ्चालनका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेको उनको भनाइ छ । “पालिकाले एम्बुलेन्स सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको छ भने आवश्यक प्रक्रिया पनि अगाडि बढाइसकेका छौँ, सम्भव त यसै वर्ष सञ्चालनमा आउला ।”

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : ३४ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको