काठमाडौँ– कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल फ्रान्समा सुरु भएको छ ।
फेस्टिभल उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि सम्बोधन गरेका छन् । ७५ औँ कान्स फ्रेन्च रिभेरियामा आयोजना भएको हो । कान्स आयोजकले रुसी फिल्म र प्रतिनिधिलाई रोक लगाएका छन् ।
यद्यपि, केही युक्रेनी निर्देशकले बनाएका फिल्म चाही प्रदर्शन हुनेछन् । जसमा सर्जेइ लोजनिताको डकुमेन्ट्री ‘द न्याचुरल हिस्ट्री अफ डिस्ट्रक्सन’ समेत छ ।
माइकल हाजानाभिसियस निर्देशित जम्बोइ फिल्म ‘जेड’ हेर्न प्रिमियरमा उपस्थित आगन्तुकलाई भर्चुअल स्वागत गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तानाशाहसँग जुध्न युवा फिल्ममेकरलाई आग्रह गरे । युक्रेनको पछिल्लो स्थितिलाई चित्रण गर्न राष्ट्रपति जेलेस्न्कीले फोर्ड कोपोलाको ‘एपोक्लिप्स नाउ’ र चार्ली च्याप्लिनको ‘द ग्रेट डिक्ट्याटर’ फिल्म हेर्न सिफारिस गरेका थिए । रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा समर्थन गर्ने फिल्म ‘जेड’ प्रिमियर गर्दै सुरु गरिएको कान्सको रेडकार्पेटमा इभा लोंगोरियो, जुलियाना मुर्रे, बेरेनिसो बेजो र ‘नो टाइम टु डाइ’ स्टार लासाना लिन्चले औपचारिक पोशाकमा रेडकार्पेट नापे ।
आगामी मे २८ सम्म चल्ने फेस्टिभलमा संसारका २१ फिल्मले पामदे ओर पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । अभिनेता टम क्रुजको ‘टप गन माभेरिक’ फिल्म लिएर फेस्टिभल पुगेका छन् । स्वयं अभिनेता क्रुज रेडकार्पेटमा हिँड्नेछन् । यसपटक कान्सका जुरी सदस्यमा फ्रान्सेली अभिनेता भिन्सेन्ट लिन्डन, बलिउड अभिनेत्री दीपिका पादुकोण, रेबेका हल, असगर फरादी लगायत छन् ।
यसपटक नेपालले पहिलोपटक औपचारिकरुपमा प्रतिस्पर्धामा भाग लिएको छ । नेपालबाट लघु फिल्म ‘लोरी’ को टिम पनि कान्समा सहभागी हुँदैछ । ‘लोरी’ नेपालबाट मुख्य प्रतिस्पर्धामा अफिसियल्ली छनोट हुने पहिलो फिल्म हो । अविनाशविक्रम शाह निर्देशित फिल्मले १ सय ४० देशका ३५ सय बढी फिल्मबाट उत्कृष्ट ९ मा स्थान बनाएको हो । नेपालले अब चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ ।
हङकङको समेत निर्माण रहेको १४ मिनेटको ‘लोरी’ ले २८ का दिन आफ्नो भाग्य निर्धारण गर्नेछ । फिचर फिल्ममा जस्तै सर्ट फिल्मको विधातर्फ पनि उत्कृष्ट हुने फिल्मलाई पाम डी अर प्रदान गर्ने गरिन्छ । यसैगरी, नेपालबाट कान्समा सहभागी हुन ‘एक मुठ्ठी बादल’ को निर्माता र निर्देशक पनि फ्रान्स पुगिसकेका छन् ।
सहारा शर्मा लिखित तथा निर्देशित यो फिल्मले भारतको फिल्म बजारमा उत्कृष्ट हुँदै कान्समा पिचिङको मौका पाएको थियो । आफू अभिनित इटालीको फिल्म ‘द एइट् माउन्टेन्स’ प्रिमियरमा भाग लिन नेपाली अभिनेत्री सुरक्षा पन्त पनि कान्समा गएकी छन् ।
प्रतिक्रिया