कथा : आर्यघाटमा लिंकनकी श्रीमती | Khabarhub Khabarhub

कथा : आर्यघाटमा लिंकनकी श्रीमती


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 8 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रातको करिब १ बज्दा पशुपति आर्यघाटको पारिपट्टि मन्दिरको ठीक पूर्वपट्टी बसिरहेका छौँ – म र अब्राहम लिंकनकी श्रीमती मेरी टोड । पारिपट्टि ब्रह्मनालसँगै २ वटा चितामा शवहरु जलाइँदैछ । जलाउनेहरु घारोले हानी हानी मान्छेलाई खरानी बनाउँदैछन् ।

त्यहीँबाट आएको थोरै उज्यालो हाम्रा लागि प्रशस्त छ । किनकि धेरै उज्यालो भएमा अरुले चिन्ने डर हुन्छ, जुन हामी चाहन्नौँ ।

जलाइँदै गरेका दुई वटा शवमध्ये एउटा ठूलो नेताको छ र एउटा चाँही एक भिखारीको । नेताको शव वरिपरि थुप्रै मान्छे झुम्मिएका छन् तर भिखारीको वरिपरि ४/५ जना मात्र छन् । तर दुवैको खरानीको रङ उस्तै छ, आगोको राप उत्तिनै छ ।

बाग्मती बगेको छ कि छैन थाहा छैन, तर बगेको विश्वास छ ।

मेरो धेरै ठूलो आग्रहपछि मेरीले यो प्रस्ताव स्वीकार गरेर मसँग ‘अफ एयर’ अन्तर्वार्ता दिन आएकी हुन् । मानिन् भने भोलि यतैबाट सीधै टेलिभिजनतिर लगेर लाइभ अन्तर्वार्ता लिने मेरो दाउ छ ।

म खासगरी मेरीसँग उनको अब्राहम लिंकनसँगको तनावग्रस्त र मनमुटावपूर्ण वैवाहिक जीवन, नाटक हेर्दै गर्दा भएको लिंकनको हत्या, त्यसपछि मेरीले पाएको दुःख र पछि उनले लिंकनका कपडा लिलाम गर्न खोज्दा आएको विवाद आदिबारे यथार्थ बुझ्ने कोशिशमा छु ।

हाम्रो बीचमा अघि भर्खर मंगलबजारबाट ल्याएको २ जग छ्याङ, राँगाको २ प्लेट छोयला, एक प्लेट गिदी र दुइवटा चटामरी छन् । जुन मैले अतिथि सत्कारका निम्ति भाँडोसहित किनेर ल्याएको हुँ ।

हामी त्यसको आन्नद लिँदै हल्का रमरममा पारिपट्टि जल्दै गरेका चिता, मौन शिव भगवान, निरीह वागमती, निस्कदै गरेका कली आदिसँग जिन्दगीलाई जोडेर संसार नियाल्ने प्रयासमा छौं ।

रातको त्यो समय नभनी बाग्मतीमा सुन खोज्दै गरेका केही दु:खी आत्माहरु पनि हाम्रो नजर र गफ दुवैमा पस्छन् ।

अब्राहम लिंकन, जो अमेरिकाका १६ औँ राष्ट्रपति थिए । सन् १८६१ देखि सन् १८६५ सम्म राज गरेका उनले दासप्रथा र गृहयुद्धबाट देशलाई बाहिर निकालेका थिए । सन् १८६५ मा राष्ट्रपति नै रहेका बेला स–परिवार एक नाटक घरमा नाटक हेर्दै गर्दा जोन विल्क्स बूथ नामका एक नाट्यकर्मीले गोली हानेर उनको हत्या गरेका थिए ।

मेरी टोड उनैकी पत्नी हुन् । मेरी हल्का मोटी छिन् । कालो र सेतो रंगको कपडा, सिपिक्क पारेर बाटिएको कपाल, कपालमा सिउरिएको रातो फूल आदिले एक खालको आकर्षक देखिएकी छिन् उनी ।

उमेर ६०–६५ वर्षको छ । केही आवेग, केही उत्तेजना, केही असन्तुष्टि, केही कौतुहलता ।

उनको अनुहारमा साँच्चै एक अनौठो भाव छ, जसलाई पढ्न शायद लिंकनले मात्र सक्छन् ।

तर, लिंकन अहिले यहाँ आउन सक्दैनन् । किनकि मेरीले भनेअनुसार उनी कुनै अर्को एक ग्रहका विद्यार्थीलाई आदर्शको लेक्चर दिँदैछन् ।

‘भोलिपर्सि तिमी मरेपछि पनि जलाउन यहीँ ल्याउँछन् हो ?,’ मेरी छोइला चपाउँछिन् र एक घुट्को छ्याङ सुरुप्प पार्दै निर्धक्क सोध्छिन् ।

‘अँ हो ।,’ केहीबेरको अलमलपछि म ठाडो उत्तर दिन्छु ।

मनमनै सोच्छु– पहिलोपटक नै कस्तो नकारात्मक र वाहियात प्रश्न गरेकी ? यो मान्छे सहज छैन भनेको साँचो रैछ । बिचरा लिंकनले त्यत्रो २२/२२ वर्ष कसरी व्यहोरे होलान् ?

अनि म पनि झोँकमा चटामरी आधा–आधा भाग लगाउँदै त्यस्तै पाराको प्रश्न सोध्छु– ‘तिमीले त्यसरी श्रीमान् मरेपछि उनको कपडा नै लिलाम गरेर पैसा कमाउन खोज्नु चाहिँ हुदैनथ्यो के ! मैले सुनेको त्यसमा त अब्राहमलाई गोली लागेपछि रगत लतपत्तिएको कपडा पनि थियो रे । त्यो त विलासिताका लागि त्यत्रो महान व्यक्तिप्रतिको अपमान भएन र ?”

‘विलासिताका लागि हैन समिर, बाँच्नको लागि हो,’ मेरी बल्ल लयमा आउँछिन् अनि शुरु गर्छिन् आफ्नो कहानी ।

‘जब लिंकनको थियटरमा हत्या भयो, तब त्यसको करीब डेढ महिना अर्थात् त्यसै बर्षको २३ मे सम्म मैले ह्वाइट हाउसमा बस्न पाएँ । त्यस बीचमा पनि त्यसअघिका उपराष्ट्रपति तथा तत्कालीन राष्ट्रपति एन्ड्रयु जोन्सनले मलाई एकपटक पनि भेटेनन् । सहानुभूति सम्म राखेनन् । त्यसैले त मैले भन्दै आएँ कि, लिंकनको हत्यामा उनको पनि हात थियो । नभएको भए त्यसको त्यस्तो घनिष्ट मित्र प्रोस्टिन किङले किन आत्तिएर आत्महत्या गर्थ्यो? “

कहानी अझै बाँकी छ– जब त्यहाँबाट कालो कपडाले पूरै ढाकिएर एक अँध्यारो रातमा म निस्किएँ, त्यहाँ मलाई सहानुभूति दिन र विदाइ गर्न समेत कोही आएनन् । बहिर्गमनको त्यो पीडादायी रात कल्पना गर त ! त्यसपछि म सिकागो गएर जम्मा तीन कोठाको सानो घरमा जेठो र कान्छो छोराका साथ बस्न थालेँ । तिमीलाई थाहै छ हाम्रो माइलो छोरो एडवर्ड १८५० मा र साइँलो छोरो विलियम १८६२ मै बितिसकेका थिए ।

ऋण प्रशस्तै थियो, बाँच्ने र बचाउने आधार केही नभएपछि मैले बाध्य भएर त्यो उपाय अपनाएकी थिएँ । त्यो पनि मैले पहिल्यै गुन लगाएर वित्त विभागमा जागीर लगाइदिएका आफन्त अलेक्जेण्डर विलियम्सको आइडिया र सहयोगमा ।

तर विडम्बना, त्यो प्रयास सफल नै भएन । देशैभरि फैलाउन खोजेको त्यही अभियानमा पनि सरकारले अंकुश लगायो । बेकार म बदनाम मात्रै भएँ ।”

‘अनि लिंकनको सम्पत्ति त करीब ७५ हजार डलर थियो नि हैन?,’ – म राँगाको गिदी चपाउँदै मेरीको गिदीमा झटारो हान्छु ।

‘थियो । उनकै नाममा थियो ।,’ उनी फेरि छ्याङ घुट्क्याउन थाल्छिन् र भन्छिन्, ‘तर त्यो दुष्ट जोन्सनले दिएन । मैले छोरालाई बैंकमा काम गर्न पठाएकी थिएँ । पछि अदालत गएपछि जम्मा २५ हजार डलर दियो त्यो पनि छोराहरु र मलाई गरी तीन भाग लाग्यो ।’

‘अनि त्यसले अलिसान बंगला खरिद गर्‍यौ नि हैन ?’

मेरो प्रश्नले मेरी झस्किन्छिन् र हल्का ठूलो स्वर गर्छिन्– ‘हैन यो मान्छेलाई सबै थाहा छ हौ ! भूत हो कि क्याहो ?’

‘हो, म भूत हुँ’ –म पनि हल्का मुडमा दिन्छु– ‘ज्ञानको खोजको र टेलिभिजन कार्यक्रमको भूत नै हुँ म । मलाई अरु पनि धेरै कुरा थाहा छ । तर अहिलेलाई यत्ति भन कि त्यो अलिसान बंगला के गर्‍यौ ?’

‘भाडामा दिएँ ।’ – मेरी सहज उत्तर दिन्छिन् ।

‘नदिएर के गर्ने ? बङलाका भित्तामा खानेकुरा उम्रदैन । त्यसैले त्यसलाई भाडामा दिएर आफू अन्तै सस्तो ठाउँमा बसेँ । वास्तवमा त्यसबेला मेरो जीवन अत्यन्तै कष्टकर थियो । त्यसबेला बाँच्नका लागि मैले गरेको संघर्ष कसैले देखेन । मात्र मेरो गतल प्रचार गरियो । हो, म धनी परिवारकी थिएँ । मेरा बुवा रोवर्ट स्मिथ ठूलो बैंकर हुनुहुन्थ्यो, त्यसैले विलासितामा हुर्केकी हुनाले केही सौखिन पक्कै थिएँ । तर श्रीमानको मृत्युपछि वास्तवमा म अलपत्रै परेकी थिएँ ।’

‘साँच्ची तिम्रा बुवा र अरु माइतीले त गृहयुद्ध भैरहेको बेलामा गोराहरुको तर्फबाट लडेर लिंकनलाई मार्नेसम्मको योजना बनाएका थिए भन्छन् नि हैन ? “

मेरो यो प्रश्न झर्न नपाउँदै पछाडिबाट एउटा बाँदर फुत्त आएर हाम्रा खानेकुरा सबै एक निमेषमै लिएर भाग्छ । मेरी आत्तिन्छिन् तर म सम्झाउँछु– ‘यो पशुपति भनेको जोगी र बाँदरको राज्य हो, यहाँ उनीहरुलाई जे गर्न पनि छुट छ । त्यसैले यसलाई सहज रुपमा लेऊ ।’

त्यसपछि उनी बिस्तारै सहज हुन्छिन् र हामी सितन विना नै छ्याङ घुट्क्याउन बाध्य हुन्छौँ । म पुन: पुरानै प्रश्नमा फर्कन्छु– ‘के साँच्चै मार्न खोजेका थिए ?’

‘मार्न खोजेका त थिए कि थिएनन् म भन्न सक्दिनँ,’ उनी दोधारमा देखिन्छिन् ।

‘तर विरोध चाहिँ खुबै गरेका थिए । वास्तवमा त्यसबेला म निकै अप्ठ्यारोमा परेकी थिएँ । श्रीमान् र माइतीबीच झगडा पर्‍यो भने म मात्र हैन, संसारका हरेक महिला धर्मसंकटमा पर्छन् ।’

रातको २ बजेको छ । घाटमा लाश जलाउनेहरू, उनीहरुका थोरै आफन्त र यदाकदा सुन खोज्नेहरु मात्रै छन् ।

नेताको लाश जलाउन शुरु गर्ने बेलाको भीड अहिले छैन । सामान्य औपचारिकतापछि प्राय: गैसकेका छन् । स्वभाविक पनि हो, अब नेताको शक्ति छैन, किन बस्नु ?

दश/पन्ध्र जना मात्र छन् । शायद नजिकका आफन्त होलान् । उता मन्दिर पूरै सुनसान छ । लाग्छ, भगवान शिव पनि केही बेरलाई सुस्ताएका छन् । अब केही बेरमै दर्शानार्थीहरु आउन थाल्नेछन् र उनले व्यस्त हुनुपर्छ । संसारमा सजिलो भगवानलाई पनि छैन !

मेरीको अनुहार छ्याङले हल्का रातो भएको छ । बोलीमा पनि केही फरकपना आउँदैछ । छ्याङ नपिएको भए उनलाई स्वर्गलोकमा जान हतार भैसक्थ्यो होला । तर छ्याङको नशाले उनी मस्त छिन् ।

‘अँ साँच्ची एन कटनलेज त २० वर्षमै मरिछन् हगि?’ –म कुराकानी लम्ब्याउन खोज्छु ।

‘हो, मरिन्,’ मेरी सहज बन्छिन् र तुरुन्तै हल्का रोमाञ्चक पनि ।

‘त्यसैले त मैले लिंकनसँग बिहे गर्न पाएको नि । देख्न त पाइनँ तर मैले सुनेसम्म उनी निकै सुन्दर थिइन् । उनी नै अब्राहमकी पहिलो प्रेम हुन् । शुरुमा दुवै अविवाहित हुँदा प्रेममा परेछन् तर परिवारले उनको विवाह अर्कै पुरुषसँग गरिदिएछन् । तैपनि उनीहरुको प्रेमप्रसङ्ग चल्दै रहेछ ।

जब उनका पती उनलाई छोडेर कामको सिलसिलामा युरोप गए, तब उनीहरुको प्रेम थप फस्टाएछ । बिहे गर्ने अवस्थामा पुगेछन् । तर बिडम्बना, सन् १८३५ मा २२ वर्षको उमेरमै टाइफाइटबाट एनको मृत्यु भएछ । त्यसपछि त्यो प्रेम कहानी सकियो ।’

‘अनि तिमी पनि कति महत्वाकाङ्क्षी त ? जो अमेरिकाको राष्ट्रपति हुन्छ त्यसैसँग बिहे गर्छु भन्ने ?’ – म अर्को प्रश्न फ्याँक्छु ।

‘हो मैले भनेकी हुँ,’ छ्याङको नशाले बिस्तारै काम गर्दैछ, ‘म निकै धनी बाबुकी छोरी थिएँ । त्यसैले धनको घमण्ड थियो । धनी बाबुका प्राय छोरीहरु घमण्डी त जहाँ पनि हुन्छन् नि । रुपमा पनि राम्री थिएँ । एक चुनाव प्रचारमा मैले नै उनलाई विवाहको प्रस्ताव राखेकी थिएँ । किनकि त्यसबेला उनको क्रेज देखेर मलाई लाग्यो कि यिनले पक्कै चुनाव जित्नेछन् र एकदिन राष्ट्रपति बन्नेछन् । त्यसबेला मैले उनलाई अब्राहम लिंकन हैन कि भावी राष्ट्रपतिको रुपमा देखेँ । नभन्दै त्यस्तै भयो ।”

अब पशुपतिनाथको आर्यघाटमा बिस्तारै बिहानीका धुनहरु बज्न थाल्छन् । चहलपहल बढ्ने संकेत आउन थाल्छ ।

चाँडै बिहान होला र कुराकानी सक्न नपाइएला भनेर म छिटो छिटो प्रश्नका थप शृङ्खला जोड्छु– ‘मृत्युको तीन दिनअघि लिंकनले आफूलाई कसैले गोली हानेर हत्या गरेको सपना देखेका थिए र त्यो कुरा तिमीलाई भनेका पनि थिए नि हैन ? त्यो कुरालाई किन हल्का रुपमा लिएको ? ‘
‘हो, सही हो,’ उनी थप्छिन्– ‘तर मैले त्यसलाई त्यत्ति गहन रुपमा किन लिइनँ भने, एक त सपनाको पछि लागेर कहाँ हुन्छ भन्ने मान्यता, अर्को त्यत्रो सुरक्षा घेरामा रहने अमेरिका जस्तो देशको राष्ट्रपतिलाई कसैले गोली हान्ने कल्पना गर्न कहाँ सकिन्छ? तर त्यो कालो रात हाम्रो जीवनकै भयंकर बनेर आइदियो । थियटरमा नाटक हेर्दाहेर्दै मैले आफ्नो जीवनसाथी गुमाएँ र सिङ्गै अमेरिकाले एक होनाहार पिता गुमायो । त्यसपछि मेरो दुःखको यात्रा शुरु भयो ।”

भन्नेहरु त भन्छन् नि, त्यसपछि पनि तिमीले मस्तीकै जिन्दगी बितायौ ।

‘जिवनसाथी नभएपछिको भौतिक सुखले कहाँ मस्ती दिन्छ र मिस्टर समिर ? बाँच्ने शैली त बाल्यकालको संस्कार अनुसार फरक–फरक भइहाल्छ नि ।’

“तर त्यत्रा अभियानको अभियानकर्ता जिम्मेवार व्यक्तित्वलाई त्यसरी जीवनभरी चिन्ता दिएर खाली टर्चर दिएर झण्डै झण्डै डिप्रेसनमा पुर्‍याउनु त हुँदैनथ्यो नि तिम्ले ।”

शायद मेरो प्रश्न अलिक भारी परेछ । मेरी पड्किन थाल्छिन्– ‘के दिएँ मैले टर्चर ? कस्ले भन्यो उनी डिप्रेसनमा पुग्न लागेको भनेर ?’
‘व्यवहारले देखिन्छ त’ – म पनि के कम ?

‘देशमा गृहयुद्ध भैरहेको समयमा त्यत्रो त्यसबेलाको बीस हजार डलर खर्चेर तिमीले ह्वाइट हाउस रंगाउनको के औचित्य थियो ? त्यो पैसा कुनै पिडित कालाहरुलाई दिएको भए राम्ररी खान त पाउँथे ।,’ मैले सोधेँ ।

‘कालाहरुलाई स्वतन्त्रतासँगै बन्दोबस्त त अब्राहमले गरिदिएका थिए त,’ उनी गल्ने वाला छैनिन् ।

‘मैले अघि नै भनेँ कि म निकै सम्पन्न परिवारमा जन्मेँ हुर्केकी थिएँ । त्यसैले मेरो जीवनशैली केही सौखिन पक्कै थियो । के राष्ट्रपतिकी श्रीमती, प्रथम महिला भएपछि पनि मैले पुरानै जीवनशैली अपनाइरनु पर्थ्यो ? पदमा पुगेपछि तिम्रो देशमा पनि त नेता र नेताका श्रीमान श्रीमती त्यस्तै गर्छन् नि । खाली मलाई मात्रै के दोष दिन्छौ ? तिम्रो देशका नेताहरुको पोल खोलौँ ? अरुको के कुरा, ऊ त्यहाँ जल्दै गरेको नेताको सबै कहानी भनुँ ? तिमी छक्क परेनौ भने बाजी ठोक्छु ।’

अब म कुराकानीलाई थप जटिल बन्न सक्ने खतराबाट जोगाउने प्रयास गर्छु र प्रसङ्ग मोडिदिन्छु– ‘खैर छोडौँ त्यो कुरा । अचेल स्वर्गलोकमा लिंकनको दिनचर्या के छ ? उनी के गर्छन् ? ‘

‘उनी स्वयं उनैको हत्यारा जोन विल्क्स बुथ लगायत हत्यारालाई प्रशिक्षण दिन्छन् ।’

उत्तरले मलाई भनन्न बनाउँछ । छ्याङको नशा दुगुना बन्छ । अनि सोध्छु– के उनीहरुको माथि पनि भेट हुन्छ ? “

‘किन नहुनु ?’ –उनी अलिक सहज बन्छिन् – “संसारभरिका मानिस मरेपछि पुग्ने त सबै त्यहीँ एकै ठाउँमा न हो ।”

‘अनि पहिलोपटक भेट्दा उनीहरुको बीचमा के कुरा भयो ?’

‘शुरुमा त अब्राहम केही असहज भएर प्रस्तुत भएका थिए । पछि बुथले माफी माग्यो अनि माफी दिए ।’

‘अनि लिंकन उनीहरुलाई के प्रशिक्षण दिन्छन् त ?, ‘ मैले सोधेँ ।

छ्याङको अन्तिम घुड्को रित्याउँदै मेरी बोल्छिन्– ‘अब्राहम आजकल संसारभरीका हत्यारालाई जम्मा पारेर दैनिक प्रशिक्षण दिन्छन् । तीमध्ये बुथ त भैहाले, भारतका महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से, हिटलर लगायत हजारौँ हत्यारा उनीसँग प्रशिक्षण लिन आउँछन् । त्यहाँ लिंकनको प्रशिक्षणको मुख्य विषय हुने गर्छ – ब्रह्माण्डीय सत्य । कहिलेकाहीँ गेस्ट लेक्चररका रुपमा गान्धी, तिम्रा पूर्वराजा वीरेन्द्र शाह, पण्डित नारायण पोखरेल पनि आउँछन् र आफ्नै हत्याराका अगाडि लेक्चर दिन्छन् । प्राय सबै हत्यारा मन्त्रमुग्ध भएर त्यो सुन्छन् र रुदै माफी माग्छन् ।”

मेरी थप्छिन्– ‘ती हत्याराहरु अहिले त ठूला साधु भएका छन् । संसारभरिका हत्यारा मिलेर एउटा संस्था गठन गरेका छन् । जस्को नाम हो ‘किलर मङ्क’ अर्थात ‘हत्यारा साधु’ । उनीहरुको मुख्य उद्देश्य हो – आफ्नो गल्तीको प्रयाश्चित गर्दै कुनै दिन पृथ्वीमा सत्कर्म र आत्मीयताको सन्देश पठाउने र सत्यको पाठ सिकाउने ।’

अन्त्यमा नै भएपनि निकै गहन कुरा गरेकी मेरीलाई धन्यवाद दिन्छु । भोलि नेपाल टेलिभिजनमा अन्तर्वाता दिने मेरो प्रस्ताव भने उनी ठाडै अस्वीकार गर्छिन् । बिहान हुनै आँटेको छ । पारिपट्टि मन्दिरको चहलपहल बढ्दो छ । हामी छुट्टिने क्रममा छौं ।

अन्त्यमा क्रिश्चियन धर्म अंगाल्ने मेरी मेरी टोड भगवान पशुपतिनाथको मन्दिरपट्टि फर्केर हात जोड्दै निर्धक्कसँग गायत्री मन्त्र जप्छिन् । मेरीको धार्मिक सचेतनाको यो स्तर मलाई मन पर्छ । त्यसैले म पनि उत्तर स्वरुप प्रभु येशुको छोटो प्रार्थना गरिदिन्छु ।

धन्यवाद दिँदै मेरी गायव हुन्छिन् ।

पारिपट्टि चिता जलिरहेकै छ । जलाउनेहरु घारोले हानी–हानी मान्छेलाई खरानी बनाइरहेकै छन् । दु:खी आत्माहरु बाग्मतीमा सुन खोजिरहेकै छन् ।

नेताका मलामी घटेर अब त भिखारी र उसका उत्तिकै भएका छन् । अर्थात, दुवैको औकात जीवनको यो अन्तिम सत्यमा समान भएको छ । दुवैजना यो संसारबाट रित्तै गएका छन् । आ आफ्नो सम्पत्ति – भिखारीले आफ्नो हण्डी र नेताले अलिशान महल, मोटर, बैक ब्यालेन्स सबै छोडेर गएका छन् । रुँदारुँदै थाकेर होला, नेताकी श्रीमतीले रुन छोडेकी छिन् । अब दुवैका रुने मान्छे कोही छैनन् । लास जलाउने मान्छे एउटै घारो दुवैलाई प्रयोग गर्छ । घरी नेतालाई हान्छ घरी भिखारीलाई हान्छ । उसको लागि ती दुवै समान छन् । किनकि दुवैलाई जलाएको ज्याला उसले उत्तिनै पाउँछ ।

छ्याङको जग त्यहीँ छोडेर म पनि झोला बोकेर बाटो लाग्छु । बाटोभरि मेरीको गहिरो भनाइले चिमोटिरहन्छ – संसारभरिका हत्यारा मिलेर एउटा संस्था गठन गरेका छन् । जस्को नाम हो ‘किलर मङ्क’ अर्थात् ‘हत्यारा साधु’ । उनीहरुको मुख्य उद्देश्य हो – आफ्नो गल्तीको प्रायश्चित गर्दै कुनै दिन पृथ्वीमा सत्कर्म र आत्मीयताको सन्देश पठाउने र सत्यको पाठ सिकाउने ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : ०० बजे

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण गरिँदै

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाड‌ौं -दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प

धरहराबाट एक महिनामा ५५ लाख राजस्व सङ्कलन

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका