विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार ४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

मोदीले आमाको खुट्टा धोएर आशीर्वाद लिए

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् ।

‘आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,’ उनले आज बिहानै ट्विट गर्दै भनेका छन् । तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए । हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले बताएका छन् ।

हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकून् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे ।

रूसी नागरिकले युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने  

युक्रेनले रूसी नागरिकले युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने  नियम बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी गराएका छन् । सन् १९९१ मा युक्रेन तत्कालीन सोभियत संघबाट स्वतन्त्र हुँदा व्यवस्था गरिएको बिना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो ।

मस्कोले युक्रेनमा आक्रमण सुरू गरेको चार महिना पुगेको छ । ‘युक्रेनले रूसी संघका नागरिकहरूका लागि भिसा व्यवस्था शुरु गरिरहेको छ,’ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत् जानकारी गराएका छन् । उनले भने, ‘सरकारले सम्भवत ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।’

जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रीय यर्माकले अनौपचारिकरूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए । उनले भने, ‘रूसले सुरु गरेको युद्धको कारण हामीले आफ्नो इलाकामा रूसी नागरिकको प्रवेशमाथिको नियन्त्रणलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । सुरक्षा नै प्राथमिकता हो ।’

यी दुई छिमेकीहरूबीच करिब दुई हजार ३०० किलोमिटर लामो दुई सिमाना छ र उनीहरूबीच विस्तृतरूपमा पारिवारिक, सामाजिक तथा सांस्कृतिकरूपमा सम्बन्धहरू रहँदै आएका छन् । पूर्वी युक्रेनमा रूस निकट रहेका पृथकवादी र युक्रेन सरकारबीच सशस्त्र युद्ध भएको र मस्कोले सन् २०१४ मा क्राइमियन प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएपछि युक्रेनमा जाने रूसीहरूको सङ्ख्यामा तीव्र कमी आएको थियो ।

सन् २०१३ मा एक करोड असी लाख रूसीहरूले युक्रेन भ्रमण गरेका थिए तर त्यसको एक वर्षपछि त्यो सङ्ख्या घटेर २५ लाखमा झरेको युक्रेनका सीमा रक्षकहरूका प्रवक्ता एन्द्रे डेमचेन्कोले एएफपीलाई बताए । सन् २०२० र २०२१ सालमा कोभिड महामारीको थालनी हुँदा रुसी यात्रीहरूको संख्या वर्षमा पाँच लाखभन्दा कम रहेको थियो ।

पाकिस्तानी विदेशमन्त्री भारतसँग सम्बन्ध सुधारको पक्षमा

पाकिस्तानको नयाँ सरकारले भारतसँग व्यापार र सम्बन्ध सुधारको इच्छा देखाएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतसँग व्यापार र सम्बन्धमा जोड दिएका हुन् । उनले विगतको नीतिहरूका कारण पाकिस्तान विश्व मञ्चमा एक्लिएको टिप्पणी समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामावादस्थित स्ट्राटिजिक स्टडिजमा बोल्दै विलवालले भारतसँग लामो युद्ध र द्वन्द्व, काश्मीर र मुस्लिमविरोधी मुद्दाका बाबजुद आर्थिक कूटनीति र सम्बन्धहरू विस्तारमा जोड दिए । पाकिस्तानले भारतसँग विगत देखि नै आर्थिक सम्बन्धलाई कायम नै राख्नुपर्ने उनको भनाइ थियो ।

अफगानिस्तानमा हमला

अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट  भएका छन् । बिस्फोट गुरुद्वारा नजिकै भएको थियो । काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसङ्ख्या भएको र धेरै मानिसको मृत्यु हुने आशङ्का गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत सुनिएको विवरणहरूमा जनाइएको छ । विस्फोटको समयमा गुरुद्वारामा धेरै भक्तहरू थिए । विस्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

‘काबुल सहरको कार्ते परवान क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । यस घटनाको प्रकृति र हताहतीको विवरण सार्वजनिक हुन बाँकी छ ’ अफगानिस्तानको टोलो न्युजले ट्विट गरेको छ । गत १५ अगस्टमा तालिबानको सत्तारोहणपछि पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएका छैनन् । दोस्रो पटक सत्तामा पुगेपछि तालिबानले महिलाहरूका हक अधिकार कटौती भएका छन् । अधिकार कटौती भएको भन्दै महिलाहरूले राजधानी काबुललगायतका सडकमा विरोध प्रदर्शन गर्दै आएका छन् ।  यसैबीच,  कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मस्जिदमा विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्तका घटनामा परी अन्य छ जना घाइते भएका बताइएको छ ।

देशको उत्तरी क्षेत्रमा रहेको आलेफबर्डी मस्जिदमा स्थानीय समयअनुसार दिउसो १ः३५ बजे भएको उक्त विस्फोटको एक प्रत्यक्षदर्शीले पुष्टि गर्दै भने, ‘मस्जिदमा दर्जनौं उपासकले प्रार्थना गरिरहेका थिए । विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु भएको र थप छ जना घाइते भएका छन् ।’ यसैबीच अर्का प्रत्यक्षदर्शी मोहम्मद करीमले मस्जिदभित्र भएको विस्फोटमा एक जनाको मृत्यु भएको र केही घाइते भएका बताए । कुन्दुज प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले विस्फोटको पुष्टि गर्दै यो विस्फोटमा मानवीय क्षतिसमेत भएको तर यसबारे अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए ।

यस आक्रमणको अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले जिम्मेवारी दाबी गरेको छैनन् । अप्रिलको अन्ततिर कुन्दुज प्रान्तको एउटा मस्जिदमा पनि यस्तै विस्फोट भएको र उक्त विस्फोटको कट्टर इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो । उक्त घटनामा झन्डै तीन दर्जनको मृत्यु भएको र अन्य ४० जनाभन्दा बढी घाइते भएका थिए ।

विस्थापित बालबालिकाको सङ्ख्या दोश्रो विश्वयुद्धयताकै उच्च

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ

यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ । “दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलो पटक हो,” यूनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । अघिल्लो वर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । विषेश गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरू धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी रूस—यूक्रेन युद्धको असर विश्वभरि परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि युनिसेफले जनाएको छ ।

पुटिनको टिप्पणी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरूले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचारहीन’ भएको टिप्पणी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा राष्ट्रपति पुटिनले पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध विफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुसविरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन । ’

रुसमाथिको प्रतिबन्ध गाउनेहरूमा लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् । तर वार्षिक सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण युरोपेली युनियनले ४०० अर्ब डलरभन्दा बढी गुमाउन सक्ने दाबी गरे ।

रुसी सेनाले पछिल्लो समयमा पूर्वी युक्रेनमा हमला गरेको छ ।

आर्थिक संकटका कारण श्रीलंकाका विद्यालय बन्द

आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ ।

सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ । ‘सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको व्यवस्था गर्न नसक्दा काममा जाने कर्मचारीको संख्यामा व्यापक कटौती गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयको आदेशमा भनिएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । गत वर्षको अन्त्यदेखि खाद्यान्न, औषधि र इन्धनजस्ता आवश्यक वस्तुहरूको आयातमा भुक्तानी गर्न असमर्थ भएको छ ।

घन्टौँ लामो लोडसेडिङका कारण उद्योग व्यवसाय प्रभावित भएका छन् । आर्थिक संकटलाई लिएर सर्वसाधारणले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा गर्न आह्वान गर्दै आएका छन् । यसैबीच, राष्ट्रसंघले श्रीलंकमा विपन्न वर्गका लागि खाद्यान्न सहयोग गर्ने बताएको छ ।

थाइल्याण्डले नियम हटायो

थाइल्यान्डले मानिसहरूलाई बाहिर  निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने  नियमहरू हटाएको छ । कोभिड सङ्क्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरूलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो ।

डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्यान्डमा सार्वजनिक रूपमा फेसमास्कहरू अनिवार्य गरिएको थियो । तर, महामारी कम भएपछि, पर्यटनमा निर्भर थाइल्यान्डले पर्यटकहरुको संख्या बढाउनको लागि बिस्तारै कोभिड प्रतिबन्धहरू खुकुलो बनाएको हो । यसअघि कम्बोडिया र सिंगापुरमा फेसमास्क लगाउनुपर्ने नियम हटाइएको थियो ।

थाई कोभिड टास्कफोर्सका प्रवक्ता तावीसिन भिसानुयोथिनले घर बाहिर मास्क लगाउनु स्वैच्छिक हुने बताए । तर, अझै भिडभाड हुने क्षेत्र, मनोरञ्जन स्थल र सार्वजनिक यातायातमा भने लगाउन सुझाव दिइएको छ । स्वास्थ्य मन्त्रालयले मास्क छुटको थप विवरणहरू घोषणा गर्ने उनले बताए ।

फ्रान्समा तापक्रम बढ्यो

फ्रान्सका केही भागमा तापक्रममा उच्च वृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ । बिहीबार,फ्रान्सका केही भागहरू वर्षको सुरुमा ४० डिग्री सेल्सिय तापक्रम पुगेको थियो । ग्लोबल वार्मिङका कारण तीव्र गर्मीको अवधि लामो समयसम्म चल्ने वैज्ञानिकहरू बताउँछन् ।

स्पेन, इटाली र बेलायतमा पनि उच्च तापक्रम बढिरहेको छ । ताप लहर अन्त्य नभएसम्म गिरोन्डेमा सार्वजनिक कार्यक्रममा निषेध गरिएका अधिकारीहरूले बताएका छन् । वातावर०ानुकूलित नभएका ठाउँहरूमा घरभित्र गर्ने कार्यक्रमहरूमा पनि प्रतिबन्धित लगाइएको छ । निजी उत्सवहरू जस्तै विवाहमा भने अनुमति दिइनेछ । ‘सबैले अब स्वास्थ्य जोखिमको सामना गरिरहेका छन्’, स्थानीय अधिकारी फाबियन बुचियोले फ्रान्स ब्लु रेडियोलाई भने ।

फ्रान्सेली गृह मन्त्रालयले मानिसहरूलाई अत्यन्त सावधान रहन र घाममा बाहिर ननिस्कन चेतावनी दिएको छ ।

मुशर्रफलाई स्वदेश फर्काउने तयारी

पाकिस्तानका पूर्वसैन्य नेता परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । स्रोतका अनुसार मुशर्रफलाई  एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ । जियो न्युजका अनुसार उनलाई स्वदेश ल्याएर नै थप उपचार गर्ने तयारी भइरहेको छ । परिवारले मुसर्रफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ ।

पूर्वराष्ट्रपति  मुशर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन् । मुशर्रफको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि गठबन्धन सरकारको प्रमुख घटक पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र सैन्य नेतृत्वले पूर्वराष्ट्रपतिलाई स्वदेश फर्कन चाहेको खण्डमा स्वदेश ल्याउनुपर्ने बताएको थियो । पीएमएल–एन प्रमुख नवाज सरिफले गत साता गठबन्धन सरकारलाई मुशर्रफलाई पाकिस्तान फर्कन चाहेको खण्डमा सहजीकरण गर्न आग्रह गरेका थिए ।

बोरिस जोनसनद्वारा युक्रेनको भ्रमण

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् ।

जोनसनको भ्रमणले युक्रेनका लागि बेलायतको समर्थन दृढ छ भनेर प्रमाणित गरेको जेलेन्स्कीले बताए । ‘हाम्रो देशका महान् मित्र बोरिस जोनसनलाई फेरि किभमा देख्न पाउँदा खुसी लाग्यो’, उनले भने ।

रुसी आक्रमणको झण्डै चार महिनापछि युरोपेली संघका सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखहरूले युरोपेली संघको सदस्यताका लागि युक्रेनको प्रयासलाई स्वीकार गरेको भोलिपल्ट प्रधानमन्त्री जोनसनले भ्रमण गरेका हुन् । राजधानीको उपनगरबाट रुसी सेनालाई फिर्ता गरेको दुई हप्तापछि अप्रिल ९ मा कीभ भ्रमण गर्ने जोनसन जी ७ देशको पहिलो नेता हुन् ।

 

 

 

 

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : १४ बजे

एनसेलको शेयर बेच्ने निर्णयविरुद्ध अदातलले बोलायो दुबै पक्षलाई छलफलमा

काठमाडौं – उच्च अदालत पाटनले एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामै रहने भन्नेबारे फैसाला आउँदै

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै

द्रूत बस सेवा विस्तार हुन्छ : मन्त्री ज्वाला

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत बस

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रे- काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई एचआईभी/एड्सविरुद्ध

जङ्गली हात्तीले कुल्चँदा सामुदायिक वनका चौकीदारको मृत्यु

झापा- झापामा जङ्गली हात्तीले कुल्चँदा सामुदायिक वनमा कार्यरत चौकीदारको मृत्यु