काठमाडौँ– आउँदो भदौ १० गते फिल्म ‘द सेक्रेट अफ राधा’ रिलिज हुँदैछ । श्रीमानको पर्खाईमा रहेको गर्भवती महिलाको भोगाइलाई प्रस्तुत गर्ने फिल्ममा शीर्ष भूमिकामा सृष्टि श्रेष्ठ छिन् । सौगात मल्ल निर्माता समेत रहेको फिल्ममा उनीसँगै खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव, निश्चल बस्नेत छन् । यी सम्पूर्णकाे स्क्रिन टाइम सृष्टि भन्दा कम छ ।
कन्टेनमा फोकस गर्ने निर्देशक सुवर्ण थापाले फिल्मको ट्रेलर अगाडि तीज गीत सार्वजनिक गरे । गीतले राम्रो प्रतिक्रिया पाउने अनुमान गरिएको छ । यद्यपि फिल्ममा गीतको यहीँ संस्करण भने रहनेछैन । निर्देशक थापाले गीतले पब्लिसिटीमा फाइदा पुग्ने स्वीकारे । ‘हामीसँग गीत थियो । त्यसैले यसलाई प्रयोग गरेका हौँ । यो पब्लिसिटी टुल्स हो । तर फिल्मको कथालाई असर गर्ने गरि गीत राखिने छैन’ उनले भने ।
उनले फिल्ममा गीतलाई कथा अनुरूप नै प्रस्तुत गरिने बताए । साथै, उनी फिल्मको कथा र क्यारेक्टरलाई स्टारडमले असर नगर्नेमा विश्वस्त छन् । ‘हाम्रो कलाकारहरू स-सानो भूमिकामा भएता पनि क्यारेक्टरमा देखिनु हुन्छ । उहाँहरूको स्टारडमले क्यारेक्टरलाई छायाँमा पर्दैन’ निर्देशक थापाले भने । उनले फिल्मलाई विभिन्न फेस्टिभलमा समेत पर्खाइरहेको बताए ।
यसै फिल्म मार्फत निर्माताको रुपमा उदाउँदै गरेका सौगातले कथावस्तुले आकर्षित भएको बताए । ‘फिल्म पैसाकै कारणले नअड्कियोस भन्ने सोचका साथ निर्माता बनेको हुँ । कथा राम्रो छ । फिल्मले मौलिकता बोकेको छ’ सौगातले भने । यो फिल्मलाई सौगात मल्ल, देवकी बिष्ट र विक्रमदास जोशी मिलेर निर्माण गरेकी हुन् ।
प्रतिक्रिया