काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्दै दलहरु
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरु भएको छ। आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ। योससँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन्। दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन्।
२. सबै दललाई चित्त बुझाएर सिट बाँडफाँट हुन्छः प्रकाशमान
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दललाई चित्त बुझाएर सिट बाँडफाँट गरिने बताएका छन्। गणेशमान सिंहको २५ औं स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले सबै दललाई मिलाएर लैजाने तयारी भइरहेको पनि बताए। उनले सिट बाँडफाँट चुनौतीपूर्ण रहेको पनि सुनाए। सिट बाँडफाँटबारे छलफल भइरहेकोले उचित समयमा निर्णयमा पुगिने नेता सिंहको भनाई छ। साउन २० देखि सत्ता गठबन्धनले सिट बाँडफाँटमा छलफल गरे पनि कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने सहमति हुन सकेको छैन।
३. समानुपातिक सूची तयार पार्न कांग्रेस संसदीय समितिको बैठक बस्दै
समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न नेपाली कांग्रेस, माओवादी र नेकपा एमालेको बैठक बस्दै छ। कांग्रेस बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। समानुपातिकतर्फ उम्मेदवार छनौटका लागि नेपाली कांग्रेसले सातै प्रदेश कार्यसमितिको पदाधिकारीबीच छलफल राखेको हो। बिहान बालुवाटारमा सातै प्रदेशका सभापतिसहित पदाधिकारीहरू अनौपचारिक रूपमा छलफल गर्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ। त्यस्तै माओवादीको बैठक पेरिसडाँडामा बस्दै छ भने एमालेले ११ बजेका लागि बैठक बोलाएको छ।
४. अछाम पहिरोमा मृतकको सङ्ख्या २२ पुग्यो
अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ। अछामको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा परी ११ जना घाइते भएका छन्।
५. कैलालीमा बाढीबाट ७ हजार परिवार प्रभावित
बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा कैलालीको भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्। बाढीबाट प्रभावित परिवार हिजो बिहानदेखि हुलाकी सडकमा बस्दै आएका छन्। बाढीका कारण आठ हजार बिघामा लगाएको फुल्न लागेको धानबालीमा क्षति भएको बताइएको छ। गत वर्ष पाकेको धान बाढीमा बगेपछि चिन्तामा परेका स्थानीय किसान यस वर्ष पनि फुल्न थालेको धानबाली बाढीले नोक्सान गरेपछि थप पीडामा परेका छन्।
६. निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुंगा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ।
७. बेनी–जोमसोम सडकमा सास्ती र जोखिम
पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ। सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ।
८. बाढीले पाकिस्तानमा एक करोड बढी बालबालिका प्रभावित
पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन्। प्रभावित मध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ। बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन्। बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए।
९.ला लिगामा बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। गए राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे। जीतसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। ६ खेलमा बार्सिलोनाको १६ अंक भएको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १५ अंक छ।
१०. इंग्लिस प्रिमियर लिगमा टोटेनहम विजयी
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ। गए राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ६–२ गोल अन्तरले हराएको हो। जितसँगै टोटेहम लिगको दोस्रो स्थानमा उक्लिएको छ। टोटेनहमले ७ खेलमा १७ अंक जोडेको छ। लेस्टर १ अंक जोडेर पुछारमा रहेको छ।
प्रतिक्रिया