संघीय संसद्को सकसपूर्ण पहिलो कार्यकाल | Khabarhub Khabarhub

संघीय संसद्को सकसपूर्ण पहिलो कार्यकाल

सरकार, संसद्, सर्वोच्च र शीतलनिवास जेलिएको पाँच वर्ष


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०७४ सालमा नयाँ संविधान र संघीयताको मर्म बोकेको संघीय संसद्को पहिलो बैठकमा तत्कालीन एमाले नेता माधव कुमार नेपालले भनेका थिए, ‘मेरो देश डुब्न लाग्यो । किनारा लगाइदेऊ न । सपूत छौ कि कोही ? माझी बचाईदेऊ न ।’

उनले संघीय संसद्को पहिलो बैठकमा यो गीतका भाका गाएका थिए । जतिबेला एमाले र माओवादी मिलेर नेकपाबाट केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । तर माधव नेपालले संसद्मा भाषण गरेका बेला प्रधानमन्त्री ओली भने देशबाहिर थिए ।

त्यतिबेला माधव नेपाल साह्रै भावुक भएर सो गीतका भाका हाल्दै देशबारे चिन्ता गरेका थिए । ओलीले अमेरिकाबाटै जवाफ फर्काए, ‘म अमेरिकाबाट फर्किहाल्छु । देश डुब्दैन ।’

माधव नेपालले चिन्ता व्यक्त गरेको तीन वर्षपछि भने देश डुब्ने गरि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे । सत्तारुढ नेकपाकै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपालले आफूलाई अल्पमतमा पारेको भन्दै ओलीले प्रधानमन्त्री पद बचाउन प्रतिनिधिसभा विघटन गरेर संसदीय चुनावको घोषणा गरिदिए ।

सुरुमा ओलीको प्रवृत्ति बुझेका माधव नेपालले देशको चिन्ता व्यक्त गरे । सबैले सामान्य रुपमा लिए । तर झन्डै दुई तिहाई बहुमतको शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्री बनेका ओलीले सत्ताको उन्मादमा संसद् विघटन गरेर देशलाई खतरामा हाले ।

नेपालमा फेरि पनि देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयलाई विवादमा ताने । आफ्नै पार्टीकी राष्ट्रपतिको शक्तिको दुरुपयोग गर्दै दुई पटक प्रतिनिधिसभा विघटन गरे । बालुवाटार बसेर सिंहदरबार र संसद भवन कब्जा गर्ने रणनीति बनाएका ओलीलाई सर्वोच्चले बालकोट बार्दली पुर्‍यायो ।

झन्डै झन्डै सेनाले देश हातमा लिन्छ भन्ने हल्ला चलेका बेला सर्वोच्चको संवैधानिक इजलासले ओलीको सत्ता उन्माद समाप्त गरिदियो । बुढानीलकण्ठमा बसेका प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले शीतलनिवासलाई परमादेश दियो ।

देउवालाई प्रधानमन्त्री बनाउने परमादेश दिने सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्मा भागबण्डा मागेको सूचना चुहियो । आलोचना चुलियो । आन्दोलन चुलियो । चोलेन्द्रको चर्चा आन्दोलन हुँदै महाअभियोगमा गएर टुंगियो ।

ओलीलाई बालकोट र चोलेन्द्रको प्रधानन्यायाधीश पद महाअभियोगबाट चीरहरण गरेपछि मात्रै देश सही बाटोमा हिँडेको महसुस भयो । संघीय संसद्को पहिलो कार्यकाल यति धेरै उतारचढावमा बित्दा संसद्, सरकार, सर्वोच्च अदालत र शीतलनिवासस्थित राष्ट्रपति कार्यालय ऐतिहासिक रूपमै विवादमा तानियो ।

जसको केन्द्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहे । उनले संसद् विघटन गर्दा एमाले र माओवादी मिलेर बनेको नेकपा फुट्यो । दुवै पार्टी पुरानै अस्तित्वमा फर्किए । प्रतिपक्षी कांग्रेसको नेतृत्वमा नेकपाकै नेताहरू प्रचण्ड, माधव नेपाल लगायत नेताहरू ओलीविरुद्ध सडक आन्दोलनमा होमिए ।

जसको उपजले सर्वोच्चबाट परमादेश पाएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो । देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, चिबहादुर केसी लगायत नेताहरू मिलेर सरकार बनाए । जसको नाम सत्ता गठबन्धन रह्यो । अनि एमाले एक्लो प्रतिपक्षी बन्यो ।

आफैँले पाएको भारी बहुमत जोगाउन नसकेर संसद् विघटन गरेको तत्कालीन नेकपाको एमाले नेतृत्व आज दोस्रो संसदीय चुनावसम्मुखमा एक्लो छ । अनि एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी नै बनाएका माधव नेपालले नयाँ पार्टी गठन गरे । आज देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम, उपेन्द्र यादव अनि चित्रबहादुर केसी एक ठाउँमा छन् । ओली एक्लो अर्को ठाउँमा छन् । अर्थात् सडकमा छन् ।

ओलीको खराब राजनीतिले दुई पटक विघटन भएको संसद्ले पूरा कार्यकाल पायो । तर धेरै समय सर्वोच्च अदालतको ‘आइसोलेसन’मा बस्नुपर्‍यो । धेरै उतारचढाव व्यहोरेर संघीय संसद्को पहिलो कार्यकाल सकिएको छ । तर निकै विवादमा तानिएको र सर्वोच्चबाटै पुनर्जीवन पाए पनि प्रधानन्यायाधीश राणामाथि लागेको महाअभियोग प्रस्ताव भने अलपत्र पारियो ।

संघीय संसद्को पाँच वर्षे कार्यकालमा पहिलो सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लाग्यो । उनले सभामुख पदबाट राजीनामा दिनुपर्‍यो । दोस्रो सभामुख अग्नि सापकोटा छन् । उनकै पालामा पाँच वर्षदेखि प्रतीक्षामा रहेको एमसीसी परियोजना पारित भयो । तर विवाद र आलोचना दुवै देखियो ।

विभिन्न उतारचढाव र घटनाक्रमले संघीय संसद्को पहिलो कार्यकाल विवादमुक्त रहन सकेन । तर राज्य सञ्चालनको पहिलो अंग व्यवस्थापिका भने पूर्ववत भूमिकामै फर्किएर पहिलो कार्यकाल सहज रुपमा सम्पन्न भयो । संघीय संसद्बाट हुनुपर्ने बाँकी कार्यभार दोस्रो कार्यकालमा पूरा होलान् भनेर प्रतिनिधिसभा सांसद शनिबार नै बिदा भएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  २ : १२ बजे

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने