दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियाेसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियाेसहित)


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर राष्ट्रपतिद्वारा ६ सय ८१ जना कैदी–बन्दीको कैद सजाय मिनाहा, मन्त्रीपरिषद बैठकका निर्णयहरु, टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अदालतको आदेश, जबराले सफाइ पाइसकेको ओलीको दाबी, एमालेले तयार गर्‍यो समानुपातिकको बन्दसूची लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

राष्ट्रपतिद्वारा ६ सय ८१ जना कैदी–बन्दीको कैद सजाय मिनाहा
राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद सजाय मिनाहा गरेकी छन । मन्त्री परिषदको गत शुक्रबार बसेको बैठकको सिफारिसमा सविंधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद सजाय मिनाहा गरेकी हुन्।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ अनुसार २१ जना कैदीको सजाय माफी दिइएको पनि राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कुल जम्मा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय भोलिबाट लागु हुने गरी मिनाहा गरिएको हो ।

कैद मिनाहा पाउनेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, डाका चोरी, बहुविवाह, जबर्जस्ती करणी–लागूऔषधलगायत अन्य रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रीपरिषद बैठकका निर्णयहरु
सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गर्दै संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपञ्छी बिकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै कार्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९० औं महासभामा सहभागी हुन प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अदालतको आदेश
उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलका लागि असोज ५ गते बुधबार बोलाइएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा मिचेर निर्माण गरेका कमलपोखरीस्थित लक्ष्मी बैंक, जय नेपाल सिनेमा हल लगायतमा डोजर चलाएको थियो । ती संरचनाभित्र टुकुचा खोला भेटिएको थियो ।

पछिल्लो समय महानगरले अनधिकृत संरचना भत्काउनुका साथै नक्सापास बिनाका संरचनाहरूलाई नक्सा पास गराउन निर्देशन दिनेकार्यलाई पनि तीव्रता दिँदै आएको छ ।

जबराले सफाइ पाइसकेको ओलीको दाबी
नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले संसदको कार्यकाल सकिएलगतै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको बताएका छन ।

भक्तपुरको बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले अध्यक्ष ओलीले संसद्को कार्यकाल समाप्त भएको र त्यसअघि महाभियोग पारित नभएकाले जबराले सफाइ पाइसकेको बताएका हुन ।

सत्ता पक्षले आफैले महाभियोगमा ढिलाई गरेर र समयमा प्रक्रिया अघि नबढाएर सफाइ दिएको उनको भनाई छ । ओलीले जबराको निवास घेराउ गरेर तमासा देखाएको टिप्पणी गरे ।

जबरामाथिको अवरोध हटाउन मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अवस्थाका बारेमा जानकारी लिएको छ । जबराले आफुलाई निवासभित्रै नजरबन्दमा राखेको बताएपछि आयोगका प्रतिनिधिहरु उनको निवासमा पुगेका थिए ।

जबरा आज नै सर्वोच्च जाने तयारीमा रहेका थिए । त्यसपछि भने उनको सरकारी निवासमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । सुरक्षाकर्मीले निवासबाट निस्किने गाडीलाई चेक गर्दै पठाएको थियो ।

यसअघि महाभियोग समितिले जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन हिजो सभामुखलाई बुझाएको थियो । जबराले भने संसदको कार्यकाल नै समाप्त भएकाले महाभियोग पनि निष्कृय भएको भन्दै अदालत हाजिर हुने बताएका थिए ।

त्यस्तै वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले निलम्बित जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने जिकिर गरे । महाभियोगको निक्र्यौल भइनसकेको अवस्थामा जबरा अदालत आउन नपाउने उनको भनाई छ ।

एमालेले तयार गर्‍यो समानुपातिकको बन्दसूची
नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नामवली पारित भएको छ ।

पार्टी सचिवालयको आज बसेको बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम तयार पारेको हो । उम्मेदवारको नाम भोलि निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको नाम प्रस्ताव गरेको छ ।

जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् । जसमा महिला र पुरुषको संख्या बराबर रहेको छ । त्यस्तै प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको एमालेले जनाएको छ । उनले सूची तयार गर्दा यसअघि समानुपातिबाट सांसद बनेका, प्रत्यक्षमा उम्मृेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई अवसर नदिएको बताए ।

समानुपातिक उम्मेद्वारको टुंगो लगाउन माओवादीले बनायो कार्यदल
यस्तै माओवादी केन्द्रले आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूची तयार पार्न केन्द्रले कार्यदल बनाएको छ ।

माओवादी पदाधिकारी आज बसेको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको सचिव गणेश साहले जानकारी दिए । कार्यदललाई मापदण्ड पूरा भए÷नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको उनले बताए ।

बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु
बाँकेमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ मा पिपरी बस्ने जिबन गिरीको छोरा ११ वर्षीय आकाशको मनापुर सिक्टा नहरमा पौडी खेल्ने क्रममा डुबेर आज बिहान मृत्यु भएको हो ।

यस्तै उता कञ्चनपुरमा पनि माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ । पुनर्वास नगरपालिका –५ सिम्री बस्ने बलराम रानाकी छोरी १६ वर्षीया गितावती रानाको आफ्नै घरबाट करिब ५ सय मिटर टाढा सिम्री खोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो मृत्यु भएको छ ।
मिटर ब्याज तथा ठगीविरुद्धको आन्दोलन कार्यक्रम स्थगित
मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलन कार्यक्रम स्थगित गरेको घोषणा गरेको छ ।

काठमाडौंको माइतीघरमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारसँग माग पूरा गर्ने ५ बुँदे सहमति भएकोले तत्काललाई आन्दोलन स्थगित गरिएको संघर्ष समिति अध्यक्ष राम सुरत गुप्ताले जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाँणले एक हप्ताभित्र कार्यविधि बनाएर ५ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाउएकाले आजदेखि आन्दोलनका सबै कार्यक्रम स्थगित उनले बताए । सरकारले आश्वासन दिएअनुसार माग पूरा नभए पुन आन्दोलनमा फर्किने पनि उनीहरुले चेतावनी दिएका छन् ।

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार १ सय २९ एन्टीजेन परिक्षणका क्रममा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १ सय ६१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ८ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्पास्थ्य मन्त्रालयले जनाएको छ ।

सवारीचालक अनुमतीपत्रका लागि आवेदन खुला
आकस्मिक रूपमा सवारीचालक अनुमतीपत्र (लाइसेन्स) लिन आवेदन खुला गरिएको छ ।

यातायात व्यवस्था विभागले एक सार्वजनिक सूचना जारी गर्दै लाइसेन्स लिनका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको हो । आगामी असोज ७ शुक्रबारदेखि गतेदेखि सेवाग्राहीले आकस्मिक रूपमा लाइसेन्स लिन सक्नेछन् ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूको लागि अनलाइन निवेदन दिने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।

अडियाे सुन्नुहाेस् :

 

 

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ०५ बजे

खुट्टाले लेखेर एसइई पास उमेश भन्छन्- लोकसेवा पढेर अधिकृत बन्छु

जानकी– ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो

ब्रेक सु र विद्युतीय सामानमा लुकाएर पौने चार अर्बको सुन तस्करी

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री

झलनाथको च्याप्टर क्लोज, माधव नेपाल सर्वसम्मत अध्यक्ष  हुनुपर्ने तर्क 

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ

खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान

धुलिखेल– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको