सुदूरपश्चिमका ७ सय ५८ मतदान स्थल संवेदनशील | Khabarhub Khabarhub

सुदूरपश्चिमका ७ सय ५८ मतदान स्थल संवेदनशील


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी– आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिममा सबै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, मत पत्र र पम पेटिका पुगिसकेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए ।

भट्टका अनुसार सुदूरपश्चिमका एक हजार १ सय ६१ मतदान स्थल मध्य ४ सय ५ मतदान स्थल मात्र भौगोलिक तथा सुरक्षाका दृष्टिले सामान्य स्थितमा राखिएका छन् । तर ७ सय ५६ स्थल भने सुरक्षाका दृष्टिले संवेदनशिल  र अति संवेदनशिल मतदान स्थलको सूचीमा राखिएका छन् । प्रदेशका ३ सय ५२ मतदान स्थल अति संवेदनशील र ४ सय ४ स्थललाई संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ ।

ती मतदान स्थललाई भौगोलिक दृष्टि र अन्य मानवीय दृष्टिले संवेदनशिल स्थलमा राखिएका हुने । ‘सुदूरपश्चिमका एक हजार १ सय ६१ मतदान स्थल मध्ये कम स्थल मात्रै सुरक्षाका दृष्टिले समान्य अवस्थामा राखिएका छन्,’ भट्टले भने, ‘तर आधा भन्दा बढी मतदान स्थल विभिन्न दृष्टिले अति संवेदनशील र संवेदनशील सूचीमा राखिएका छन्, त्यहाँ सोही अनुसार सुरक्षा बल परिचालन गरिएको छ ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको छ । १६ प्रतिनिधि तथा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा दुई हजार १ सय ४६ मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये ७ सय १० अति संवेदनशील, ७ सय ७८ संवेदनशील र ६ सय ५८ मतदान केन्द्रलाई सामान्य अवस्थामा राखेर सुरक्षा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । 

सोही अनुसार प्रदेशमा साढे १७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १७ हजार ८ सय ५९ सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी रावलले बताए ।

निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी रावलका अनुसार निर्वाचनका दिन २० वटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकता अनुसार परिचालन गरिने छ ।

रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित म्यादी प्रहरी फरक/फरक ठाउँमा तैनाथ हुनेछन् ।  सूचना अधिकारी रावलका अनुसार निर्वाचनका लागि कैलालीमा दुई हजार आठ सय १२, कञ्चनपुरमा एक हजार छ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा नौ सय ३७, अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन गरिएका छन् ।

त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको उनले बताए ।

कुन जिल्लामा कति छन् संवेदनशिल मतदान स्थल

प्रदेश प्रहरी कार्यालयका अनुसार २ सय ३७ मतदान स्थल रहेको कैलालीमा ५३ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै १ सय ३१ मतदान स्थल संवेदशनील र ५३ मतदान स्थल सामान्य रहेका छन् । कैलालीमा ६ सय २९ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये १ सय ५८ अति संवेदनशील, ३ सय ४४ संवेदनशील र १ सय २७ मतदान केन्द्र सामान्य रहेका छन् ।  कैलाली प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको यो जिल्लामा पाँचवटा निर्वाचन क्षेत्र कायम छ । 

यस्तै तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कायम भएको १ सय ३२ मतदान स्थलमध्ये ६६ वटा अति संवेदनशील, २६ वटा संवेदनशील र ४० वटा मतदान स्थल सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यो जिल्लामा ३ सय ४६ वटा मतदान केन्द्र छन् । तीमध्ये १ सय ८५ अति संवेदनशील, ७३ संवेदनशील र ८८ वटा मतदान केन्द्र सामान्य छन् । 

यस्तै १ सय १ मतदान स्थल रहेको डडेल्धुरामा २३ मतदान स्थल अति संवेदनशील, ४१ वटा संवेदनशील र ३७ वटा मतदान स्थल सामान्य छन् । यो जिल्लामा १ सय ३९ मतदान केन्द्र कायम भएको छ । तीमध्ये ३९ वटा मतदान स्थल अति संवेदनशील, ५७ वटा संवेदनशील र ४३ वटा सामान्य छन् ।

बझाङमा १ सय ३५ मतदान स्थलमध्ये ५६ वटा अति संवेदनशील, ५८ संवेदनशील र २१ मतदान स्थल सामान्य छन् । भौगोलिक विकटता रहेको बझाङ जिल्लामा १ सय ८४ मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये ८३ मतदान केन्द्र अति संवेदनशील, ७५ वटा संवेदनशील र २६ मतदान केन्द्र सामान्य छन् । 

यसैगरी १ सय १५ मतदान स्थल रहेको डोटीमा नौवटा अति संवेदनशील, ३० संवेदनशील र ७६ वटा मतदान स्थल सामान्य छन् । डोटी जिल्लामा १ सय ७७ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ११ वटा अति संवेदनशील, ४८ संवेदनशील र १ सय १८ वटा मतदान केन्द्र सामान्य छन् । अछाममा १ सय ३० मतदान स्थलमध्ये ६० वटा अति संवेदनशील, ५० वटा संवेदनशील र २० वटा मतदान स्थल सामान्य छन् । अछाम जिल्लामा २ सय ८ वटा मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये ९७ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ३१ सामान्य छन् । भौगोलिक अवस्थाअनुसार विकट अछाममा पनि अति संवेदनशील र संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको छ ।

यस्तै बैतडीमा १ सय २९ मतदान स्थल छन् । तीमध्ये ३१ वटा संवेदनशील, ३४ वटा संवेदनशील र ६४ वटा मतदान स्थल सामान्य छन् । त्यस्तै  २ सय १० मतदान केन्द्रमध्ये ५४ वटा अति संवेदनशील, ५२ संवेदनशील र १ सय ४ वटा मतदान केन्द्र सामान्य रहेका छन् ।

यसैगरी १ सय १२ मतदान स्थल रहेको दार्चुलामा ११ वटा अति संवेदनशील, ११ वटा संवेदनशील र ९० वटा मतदान स्थल सामान्य छन् । यो जिल्लामा १ सय ४१ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये १३ वटा अति संवेदनशील, १४ वटा संवेदनशील र १ सय १४ वटा मतदान केन्द्र सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाजुरामा सबैभन्दा बढी जोखिम

मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा पहिलो चरणमा चुनावमा धाँधली भएको भन्दै दोस्रो चरणमा चुनाव भएको थियो ।

स्थानीय चुनावमा भएका गतिविधि र विगतका क्रियाकलापलाई आधार मानेर बाजुरालाई अतिसंवेदनशील जिल्लाका रुपमा राखिएको छ ।बाजुरा जिल्लाका ७० मध्ये ४ वटा मतदानस्थल मात्रै सामान्य अवस्थाका छन् । ४३ वटा मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए । यस्तै २३ वटा मतदानस्थल संवेदनशील रहेका विष्टले बताए ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदानस्थलमा १ सय १२ मतदान केन्द्र छन् । शान्ति सुरक्षाको संवेदनशीलतालाई बुझ्न सुदूर पश्चिम प्रदेश सरकारका सचिव नारायणप्रसाद दुवाडी शर्मा, प्रहरी नायब महानिरीक्षक मोहन आचार्य र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराई बाजुरा पुगेका थिए ।

चुनावलाई स्वतन्त्र निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अनुमगन तथा निरीक्षण भएको नेपाली सेनाको श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी दिवाकर खड्काले बताए । अनुगमनमा पुगेको टोलीले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सबै उपाय लगाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : २५ बजे

सर्वसाधारणलाई राष्ट्रपतिको हातबाट टीका र जमरा (तस्बिरहरु)

काठमाडौं– राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका

मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु

बागमती– करेन्ट लागेर आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको

टीका लगाउन सर्वसाधारणको चहलपहल

काठमाडौं–  बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज घरमा मान्यजनको हातबाट

नेपालबाट बाहिरियो मनसुन

काठमाडौ‌ं – यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान

काठमाडौं– विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई