काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलको प्रतिज्ञापत्रको रूपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारको विषय समावेश गर्न आग्रह गरेको छ ।
आयोगले दलको घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप उच्च महत्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न सबै राजनीतिक दललाई विशेष आग्रह गरेको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारका विषय समावेश गर्न निर्वाचनमा भाग लिने सबै दलहरूलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विगतमा राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई समावेश गरेकामा सराहना गर्दै दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानवअधिकारका विषय समावेश हुनेछ भन्ने आयोगले अपेक्षा गरेको छ ।”
लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनसमेतको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको र त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी राजनीतिक दलहरूको रहेको कुरा आयोगले सबै दललाई स्मरण गराएको छ ।
आयोगले निर्वाचनका क्रममा भयरहित, निष्पक्ष र स्वतन्त्ररूपमा निर्वाचनमा भाग लिन पाउने अधिकारको संरक्षण गर्नका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दललगायतलाई विभिन्न सिफारिस गरेको सम्बद्ध सबैलाई पुनः स्मरण गराएको छ । नेपालले मानवअधिकारसम्बन्धी विभिन्न ४१ वटा अन्तर्राष्ट्रिय महासन्धिलाई स्वीकार गरिसकेको सन्दर्भमा मानवअधिकारप्रतिको सम्मान, संरक्षण र परिपूर्ति गर्ने दायित्व राज्यका साथै सरकार सञ्चालन गर्ने दलहरूको पनि हुने आयोगको ठहर छ ।
प्रतिक्रिया