'पहिले लोकगीत गाउन सहज लाग्थ्यो, अहिले पपगीत' | Khabarhub Khabarhub

‘पहिले लोकगीत गाउन सहज लाग्थ्यो, अहिले पपगीत’

तनावको बीचबाट मुस्कानको बत्ती बाल्न सक्ने क्षमता नै ठूलो उपलब्धि हो !



काठमाडौँ – नेपाली सांगीतिक जगतमा एउटा कुशल सर्जकका रुपमा पहिचान बनाउन सफल गायक तथा संचारकर्मी कृष्ण समीप सुवेदी पनि एक हुन् । नेपाली गीत संगीतका माध्यमबाट कला र संस्कृतिलाई उदाहरणीय योगदान पुर्‍याउँदै आएका उनी गायन क्षेत्रमा डेढ दशक लामो समय बिताइसकेका सर्जक हुन् । सुबेदीका लागि आफ्ना मौलिक बाजा, संस्कृति, गाउँका खोला नाला, रीति रिवाज र वन पाखा प्रेरणाका खानी हुन् । इमेज टेलिभिजनमा ‘उकाली ओराली’ र ’इन्साइड स्टोरी’ गरी दुई वटा कार्यक्रम चलाउँदै आएका सुबेदीले धेरै गीतहरू सार्वजनिक गरिसकेका छन् । लोक गीतबाट औपचारिक रुपमा गीत रेकर्डिङ सुरु गरेका उनले विभिन्न विधाका गीतहरु सार्वजनिक गर्दै आएका छन् । उनका ‘सिर्सिर बतास’ बोलको लोक दोहोरी अत्यधिक रुपमा रुचाइएको गीत हो भने अन्य धेरै हिट गीतहरु पनि छन् । गायक तथा सञ्चारकर्मी समीपसँग गरिएको कुराकानीको सम्पादित अंशः

सांगीतिक यात्रा कसरी अघि बढिरहेको छ ?
कुनै रफ्तारका साथ अघि बढिरहेको छैन भने खासै सुनसान पनि भएको छैन सांगीतिक जीवन । विभिन्न आरोह अवरोहसँगसँगै मेरो सांगीतिक यात्रा निरन्तर रुपमा आफ्नै गीतमा अघि बढिरहेको छ । जीवनमा अनेक व्यवहारिक कठिनाइहरू आउने गर्छन् र भिन्न परिस्थितिहरुमा फरक उतार चढाव आउने गर्छन् तर ती कुराको वाबजुत पनि समयलाई व्यवस्थापन गरेर त्यसलाई निरन्तरता दिन सक्नुपर्छ।

यो डेढ दशक लामो समयमा सांगीतिक व्यवसायले आर्थिक रुपमा कतिको बलियो साथ दिइरहेको छ ?
बलियो भएकै कारणले पनि अघि बढ्ने उर्जा मिल्छ । एउटा आदर्शमा बाच्ने जिन्दगी र यथार्थमा बाच्ने जिन्दगीमा धेरै फरक छ । हामीले आदर्शमा पनि बाच्न जरुरी छ । यसलाई छोड्यौ भने हाम्रो यथार्थ जीवनको गति अड्किन सक्छ ।

आफ्ना विगतका दिनहरु कतिको सम्झिने गर्नु हुन्छ ?
एउटा सुन्दर महलको बलियो निर्माण त्यसको फेदबाट कतिको मजबुत बनाइरहेको छ भन्ने कुराले फरक पार्छ । हाम्रो सांगीतिक यात्रा पनि शिलानाश भए देखिने बाल्यकालको सपना देखि निर्माण भएको जीवनको यात्रा हो यो । त्यसकारण ती यात्रा हरेक रात बिहान सम्झना आउने गर्छन् ।

यो स्थानमा पुगीसक्दाको उपलब्धिहरु के–के हुन् ?
प्रश्न सुन्दा सामान्य भए पनि यस भित्र अत्यन्तै गहन पक्ष रहेको छ । सर्वप्रथम मैले समाजलाई आफू कृष्ण समीप सुवेदी भनेर दिन सकेको छु । मैले जिन्दगीमा एउटा अनुभव कमाएको छु । समग्रमा सांगीतिक जीवन बिताउन पाएको छु । कहिले आर्थिक रुपमा बलियो नभए पनि आफ्नो गन्तव्यमा पुगेर फर्कने हिम्मत सदैव रहन्छ । हरेक मानिसको व्यक्तिगत तनाव र कठिनाइहरू अनगिन्ती हुन्छन् । तर पनि त्यही तनाव र पीरको बीचबाट मुस्कानको बत्ती बाल्न सक्ने क्षमता नै मेरो लागि ठुलो उपलब्धि हो ।

तपाईँको लागि संगीत के हो ?
मेरा लागि संगीत दुख र सुख को साथी हो । हरेक रात युट्युबमा पुराना गीत र गजलहरु नबजाएसम्म मलाइ निन्द्रा लाग्न पनि कठिन पर्छ । संगीत भनेको संगत हो । संगीत भनेको जीवन हो ।

संगीत सिर्जना क्रममा चुनौती कस्ता हुन्छन् ?
पहिलो स्थानमा आफ्नो संगीतलाई व्यावसायिक रुपमा सफल पार्न सक्ने वा नसक्ने चुनौती आउँछ । त्यसपछि आफूलाई मन पर्ने सिर्जना गरे पनि दर्शक स्रोताहरुले त्यसलाई सोहि किसिमले अपनाउनु हुन्छ कि हुँदैन भन्ने कुरा आउँछ । यहाँ आफ्नो समकालीनसँगको प्रतिस्पर्धादेखि आफ्नो सिर्जनालाई कस्तो प्रतिक्रिया आउन सक्ने अनिश्चित पाटो पनि चुनौतीपूर्ण छ। विषयवस्तुका हिसाबमा उत्कृष्ट भए पनि युट्युबमा सोचे जस्तो भ्युज नगएको देखेका छौँ भने सामान्य कथावस्तु पनि अप्रत्याशित रुपले भाइरल भएका छन् । त्यसैले यी अनेकौँ कुराहरुलाई नियाल्ने हो भएन चुनौती अत्यन्तै छन् ।

एउटा गीत उत्कृष्ट हुन कुन कुराले ठुलो भूमिका खेल्छ ?
पानी जम्मा गर्नको लागि सबैभन्दा पहिले पोखरी बनाउन जरुरी छ । एउटा गीतको पोखरी भनेको शब्द हो । जस्तो शब्द आउँछ त्यसलाई मिठो लय हालेपछि गायकले सुन्न सकिने आवाज प्रस्तुत गर्छ । एउटा गीत गुणस्तरीय बनाउनको लागि बाजाहरुको प्रयोग देखि लिएर संगीतको निर्माण र त्यसलाई अझ राम्रो बनाउन संयोजनको पनि उत्तिकै भूमिका हुन्छ ।

कति समय लाखौँ लगानी गरिएका भिडियोको परिणाम पीडादायी हुन्छ भने थोरै लगानीका भिडियो अत्यधिक रुचाइएका हुन्छन् । यस्तो के कारणले आउन सक्लान् ?
पछिल्लो समय म्युजिक भिडियोमा पनि लाखौँ लाख लगानी भइरहेका छन् । दुर्भाग्यवश कति त्यस्ता म्युजिक भिडियोहरूले लगानी स्वरूप परिणाम पाइरहेका छैनन् । किनभने एउटा गीत उत्कृष्ट हुन लगानी धेरै मात्र हुँदैन । त्यसको अडियो सुरिलो हुन जरुरी छ । त्यो गीत र भिडियोको तारतम्य मिल्न जरुरी छ । त्यसले राम्रो सन्देश दिन सक्नु पर्छ । त्यसैलाई कालान्तरमा एउटा गुणस्तरीय गीतका रुपमा प्रमाणित गर्न सकिन्छ ।

अधिकांश गीतहरुमा तपाइको आफ्नै शब्द रहेका छन् । शब्द प्रस्फुटनको लागि कस्तो स्थितिबाट बढी प्रेरित हुने गर्नु भएको छ ?
शब्द रचना भनेको सिर्जनाशिल काम हो । आफू लेख्छु भनेर तयारी अवस्थामा रहँदा पनि शब्द आइरहेको हुँदैन । कहिलेकाहीँ सामान्य रुपमा दिनचर्या बितिरहँदा पनि आफै शब्दहरू फुरिरहेका हुन्छन् । कतिपय अवस्थामा यथार्थको धरातलमा बसेर म यस्तो विषयवस्तुमा गीत लेख्छु भनेर पनि शब्द सिर्जना हुने गर्छन् । तर पनि संगीत सिर्जनाको लागि सर्जकको भावना र कल्पनामै निर्भर हुने गर्छ ।

आफ्नै जिन्दगीसँग मेल खाने कुनै गीत सिर्जना गर्नु भएको छ ?
कहीँ न कहीँ कुनै प्रसङ्ग वा शब्दहरूले आफ्नो जीवनमा मेल खान जालान् । तर ठ्याक्कै आफ्नै जिन्दगीमा आधारित गीत सिर्जना गरेको छैन। अब चाँडै नै मेरो कहानीबाट प्रभावित गीत सार्वजनिक गर्दैछु । जहा आफ्नो अनुभव र संघर्षहरु समेटेको छु । जसले गर्दा कृष्ण समीप सुबेदीको जीवन के हो भनेर त्यो गीतले व्याख्या गर्छ ।

तपाईँले आफूलाई कतिको बहुप्रतिभाशाली गायक भन्न रुचाउनु हुन्छ ?
मलाइ आफू बहु प्रतिभाशाली गायक हो भन्ने लाग्दैन । तर म सदैव कोसिस गरिरहने छु । नेपाली संगीत भित्र विधा आ–आफ्नो हुन्छन् । तर पनि एउटा स्रष्टाले निश्चित विधामा मात्र केन्द्रित भएर पनि हामी एक गायकको रुपमा अघि बढ्न सक्नु पर्छ । मैले काम गरेका मध्ये धेरै लोक गीतहरु गाएको छु । किनभने मेरो जन्मभूमिको वातावरणले अलि अघि बढी लोक प्रेरित बनाएको छ । तर आफ्नो सिकाइ र भोगाइले सबै किसिमको काम गर्न सक्नु पर्छ जस्तो लाग्छ । त्यसैले कहिले लोक गीत, पप र आधुनिक गीतहरु गरिरहेको हुन्छु ।

नेपाली संगीतमा कत्तिको विकृति फैलिएको छ ?
बिहान झुल्केको घाम उदाउँदै गर्दा पनि पारि पट्टिको भागलाई उज्यालो प्रदान गर्छ भने आफ्नै पाटोको एउटा भाग छायामा परिरहेको हुन्छ । अस्ताउने क्रममा उज्यालोमा परेको भागमा पूर्ण छाया पर्दै जान्छ । जहाँ पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । संगीत एउटा महासागर हो जहाँ हरेक चिजको मेल हुने गर्छ । एकदम राम्रा गीतहरु सार्वजनिक भइरहेका छन् भने ’न्युज र भ्युज’ पाउन मात्र बनेका गीतहरु पनि सुनिरहेका छौँ । गीतसंग मेल नखाने अश्लील भिडियो पनि देखिरहेका छौँ तर सुन्ने स्रोता र दर्शकहरुले पक्कै पनि राम्रा चिजहरूलाई प्राथमिकता दिँदै आइरहनु भएको छ । हाम्रो नेपाली संगीतमा बिस्तारै सकारात्मक पक्षहरु विकास हुँदै जाने छन् ।

लोक गीत गाउन कत्तिको कठिन छ ?
बजारमा आएका अधिकांश गीतहरु लोकगीत भए पनि व्यावसायिक हुन् । अलि कठिन भएको हिसाबले लोक गीतमा समावेश गरिनु पर्ने कति मौलिक भाकाहरू आएकै छैनन् । सुरुवातमा मलाइ लोक गीत गाउन सजिलो लाग्थ्यो तर आज भोलि लोक पप गाउन सहज लाग्छ । दोहोरी शैलीका गीत गाउन कता कता अप्ठ्यारो महसुस हुन्छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ०८ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको