चितवनमा विकास खर्च गर्नै मुस्किल, संघको २८ र प्रदेशको ३२ प्रतिशत मात्रै   « Khabarhub

चितवनमा विकास खर्च गर्नै मुस्किल, संघको २८ र प्रदेशको ३२ प्रतिशत मात्रै  


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – केन्द्रीय नेतै नेता भएको जिल्ला चितवनमा विकास खर्च गर्न मुस्किल पर्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वगृहमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठलगायत केन्द्रीय स्तरमा पहुँच भएका नेताहरूको गृह जिल्ला हो, चितवन।

जिल्लामा हुने हरेक कार्यक्रममा भौतिक विकासको भाषण गर्न नछुटाउने नेताहरुले विकास खर्च बढाउनेतर्फ भने चुइँक्क बोल्दैनन् । यस आर्थिक वर्ष २०७८/७९ मा विकास खर्चका रुपमा लिइने पुँजीगत खर्चको अवस्था ज्यादै कमजोर छ । गत आर्थिक वर्ष २०७७/७८ मा भन्दा पनि यस आवमा विकास खर्च अत्यधिक न्यून भएको छ । यस पटक पुँजीगत बजेटको झन्डै आधा बजेट फ्रिज हुने देखिन्छ ।

‘नारायणी र राप्ती नदी, राष्ट्रिय निकुञ्जलगायत पहाड र समथर भूभागसमेत भएको यो जिल्ला सिङ्गै राष्ट्रको लागि एउटा विकासको मोडल हुन सक्छ ’, केही दिनअघि भएको एक कार्यक्रममा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेका प्रचण्डले भनेका थिए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनकाअनुसार चालु आवको जेठमसान्तसम्म पुँजीगतमा संघतर्फ २८.७४ प्रतिशत र प्रदेशतर्फ ३२.३४ प्रतिशत मात्रै खर्च भएको छ । चालुमा भने संघतर्फ ८७.३७ प्रतिशत र प्रदेशतर्फ ६०.३२ प्रतिशत खर्च भइसकेको छ । गत आव २०७७/७८ को यस अवधिमा पुँजीगतमा संघतर्फ ५५.७२ प्रतिशत र प्रदेशतर्फ ४७.२९ प्रतिशत खर्च भएको थियो ।

यस आवमा चितवनका लागि संघतर्फ १० अर्ब पाँच करोड ५० लाख ६९ हजार र प्रदेशतर्फ तीन अर्ब २९ करोड ४४ लाख ४२ हजार रूपैयाँ पुँजीगत बजेट प्राप्त भएको थियो ।

जेठ मसान्तसम्म संघतर्फ दुई अर्ब ८८ करोड दुई लाख ४० हजार र प्रदेशतर्फ ८७ करोड ६० लाख १९ हजार रूपैयाँमात्रै पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक मुक्तिप्रसाद चापागाईले बताए । जेठमा मात्रै संघको ५२ करोड ४२ लाख ७५ हजार र प्रदेशको १८ करोड ९५ लाख ८२ हजार रुपैयाँ पुँजीगत खर्च भएको छ ।

असारमा पुँजीगत खर्च बढेर कुल बजेटको ५० प्रतिशत आसपास पुग्ने कोलेनिकाको अनुमान छ । नेपालमा हरेक वर्ष आर्थिक वर्षको अन्तिममा बर्खाको समयमा विकासले गति लिने गर्छ । असारे विकासको गुणस्तरीयतामा भने प्रश्न चिह्न खडा हुँदै आएको छ । ‘असारमा एक दिनमै करोडौँ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ’, चापागाईँ भन्छन्, ‘यो महिनामा पुँजीगत खर्चमा अल्लि धेरै प्रगति देखिन्छ ।’

अत्यधिक मूल्य वृद्धिलाई नियन्त्रण गर्न नसकेको सरकार विकास खर्च गर्नमा पनि असफल भएको छ । सत्ता सहयात्री दलका प्रमुख नेता प्रचण्डले पनि यसतर्फ चासो दिएका छैनन् । मूल्य वृद्धि भएपछि मूल्य समायोजनको माग राख्दै निर्माण व्यवसायीहरुले ‘कन्स्ट्रक्सन होलिडे’ गरिरहेका छन् । साढे दुई महिनादेखिको समस्या समाधान गर्नतर्फ सरकारले ध्यान दिएको देखिँदैन ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ३८ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो