न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर बजारका प्रमुख तीनवटै सूचक बढेर बन्द भएका छन् ।
उतारचढावपूर्ण व्यापारिक साताको अन्तिम दिन डाउ जोन्स औद्योगिक औसत ०.८३ प्रतिशतले बढेर ५१ हजार ६५४.९५ बिन्दुमा पुगेको छ । त्यस्तै, एसएन्डपी ५०० सूचक ०.५९ प्रतिशतले बढेर सात हजार ८११.५४ बिन्दुमा पुगेको छ भने नास्डाक कम्पोजिट ०.६४ प्रतिशतले बढेर २७ हजार ३६६.१७ बिन्दुमा बन्द भएको छ ।
एसएन्डपी ५०० अन्तर्गतका ११ क्षेत्रमध्ये नौ क्षेत्रको सेयर मूल्य बढेको छ । रियल इस्टेट तथा उपभोक्ता वस्तु र सेवा क्षेत्रले राम्रो प्रदर्शन गरेका छन् । माइक्रोसफ्ट, अमेजन र पालान्टिरको सेयर मूल्यमा भएको वृद्धिले पनि बजारलाई टेवा पुर्याएको छ ।
यद्यपि, स्पेसएक्सले रेडियो स्पेक्ट्रम प्रयोग अनुमतिपत्र खरिद गर्ने सहमति गरेपछि परम्परागत दूरसञ्चार कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ । एटी एन्ड टी, टी–मोबाइल यूएस र भेरिजोनका सेयर मूल्य ८.७५ देखि १३.२७ प्रतिशतसम्म घटेका छन् ।
यसैबीच, अमेरिकी उपभोक्ताको विश्वास कमजोर बनेको छ । मिशिगन विश्वविद्यालयको उपभोक्ता भावना सूचक अक्टोबरमा घटेर ४६.३ मा पुगेको छ । यो पाँच महिनायताकै न्यून स्तर हो । उपभोक्ताहरूले आगामी एक वर्षमा मुद्रास्फीति दर ४.७ प्रतिशत पुग्ने अनुमान गरेका छन् ।
अब लगानीकर्ताको ध्यान आगामी साता सार्वजनिक हुने प्रमुख कम्पनीहरूको वित्तीय नतिजामा केन्द्रित हुनेछ । सिटीग्रुप, वेल्स फार्गो, युनाइटेडहेल्थ ग्रुप र जोन्सन एन्ड जोन्सनले वित्तीय विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । ती विवरणले अमेरिकी सेयर बजारको आगामी दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया