विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन ३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।

ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ ।

सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो । यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।

श्रीलंकामा राजनीतिक संकट कायमै

श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् ।

उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाइका लागि आफू पछि हटेको उनले बताएका छन् ।

उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चार मन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ ।

कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्टको समर्थन रहेकोले यो दौडमा अग्रपंक्तिमा रहेको विश्वास गरिएको छ ।

पेरिसमा गोली चल्दा एक जनाको मृत्यु

फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ ।

दुई जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् । अर्को संदिग्ध फरार रहेको जनाइएको छ ।

उक्त गोलाबारी शिशा क्याफेमा भएको स्थानीय मेयर फ्रान्कोइस भौग्लिनले जानकारी दिएका छन् । उनका अनुसार एक जना ग्राहकले एक जना संदिग्धलाई समात्न सफल भएका थिए ।

आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

बेलायतमा बोरिस जोनसनको सरकारले पायो विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ ।

चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यले मन्त्रीहरूको समर्थनमा मतदान गरे ।

विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ ।

सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् ।

जोनसनले कन्जरभेटिभको संसदीय दलको नेताबाट राजीनामा दिइसकेकाले अर्को नेता नचुन्जेल उनी पार्टीको कामचलाउ नेताको रुपमा रहेका छन् । कन्जरभेटिभ नेता छान्ने पक्रिया सुरु भइसकेको छ ।

विपक्षीले जोनसनलाई अविश्वासको प्रस्तावमार्फत हटाउनुपर्ने जनाएको थियो । तर, उनले राजीनामा दिने बताइसकेको र संसदीय दलको नेताबाट पनि हटिसकेकोले तत्काल पदमुक्त गर्नु नपर्ने कन्जरभेटिभले बताउँदै आएको छ ।

थाइल्याण्डमा गम्भीर कोभिड सङ्क्रमित बढ्दै

थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण यससँग सम्बन्धित मृत्युको सङ्ख्या पुनः बढेको जनाइएको छ ।

देशमा भएको लामो बिदा र पछिल्लो समय कोभिडको अत्यधिक सङ्क्रामक ओमिक्रोन उप–प्रजातीको फैलिएका कारण भेन्टिलेटरमा रहेका अधिकांश जटील घटना र सङ्क्रमित व्यक्ति राजधानी बैंकक र छिमेकी प्रान्तहरूमा भेटिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा रोग नियन्त्रण विभागका महानिर्देशक ओपस कर्णाविन्पोङले बताएका हुन् ।

उनले भने, “गतहप्ता पत्ता लागेका अधिकांश नयाँ सङ्क्रमितहरू वृद्ध तथा दीर्घकालीन रोग लागेका मानिसलगायत उच्च जोखिम भएका समूहमध्ये थिए, जसमध्ये धेरैलाई खोप लगाइएको थिएन वा पूर्ण खोप लगाइएको थिएन ।”

“हालैका बिदाको क्रममा अन्तर–प्रान्तीय यात्रामा आएको अत्यधिक वृद्धिले गर्दा कोभिड–१९ सङ्क्रमणहरूको सङ्ख्यामा वृद्धि हुनु स्वभाविक होे र यसलाई नियन्त्रणमा राख्न थप निगरानीको आवश्यकता पर्दछ,” ओपसले भने ।

सम्भावित प्रकोपलाई फैलिन नदिन तयारीका लागि कोभिड–१९ का औषधि तथा चिकित्सा सामग्रीहरू खरिद गर्न थाई मन्त्री परिषद्ले सोमबार झन्डै ११ करोड अमेरिकी डलर छुट्याउने प्रस्ताव अनुमोदन गरेको छ ।

थाइल्याण्डले सोमबार थप एक हजार ८१४ जनामा कोभिड–१९ र १७ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

भारतमा छात्रालाई भित्री लुगा हटाउन भनिएको भन्दै उजुरी

छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन भनिएको भन्दै केरलामा घटनाबाट रूष्ट अविभावकले प्रहरीमा उजुरी दिएका छन् ।

स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन् ।

कोल्लममा एक विद्यार्थीले प्रहरी उपरीक्षकमा उजुरी दर्ता गरेपछि घटना प्रकाशमा आएको हो ।

रिपोर्टअनुसार, अविभावकहरूले उक्त छात्राहरूलाई अन्य छात्र तथा परीक्षामा खटाइएका पुरुष ‘इन्भिजिलेटर’को अगाडि भित्री लुगा नलगाई परीक्षामा उपस्थित हुन बाध्य गराइएको भन्दै यसले उनीहरूलाई मानसिक तथा शारीरिक तवरमा विचलित तुल्याएको दावी गरेका छन् ।

“मेरी छोरी ८ कक्षादेखि नै नीट परीक्षाको तयारीमा जुट्दै छिन् । हामी विश्वस्त थियौं कि उनले परीक्षामा राम्रो श्रेणी प्राप्त गर्नेछिन् तर यस मुद्दाको कारण उनको ध्यान मनोवैज्ञानिकरूपमा अन्यत्र गएका कारण परीक्षामा राम्रो गर्न सकिनन्,”रूष्ट एक विद्यार्थीका पिताले एएनआईसँग भने ।

राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)को मार्गनिर्देशनलाई उद्धृत गर्दै अभिभावकले भने, “‘कुनै पनि प्रकारको भित्री कपडा लगाउन प्रतिबन्ध लगाइएको छैन’ । हामीले सबै निर्देशनहरू पालन गरिरहेका थियौं । तर कर्मचारीहरूले भित्री लुगा नहटाईकन कक्षा कोठामा प्रवेश गर्न दिएनन् ।”

राज्यको महिला आयोगले पनि घटनाको विषयमा छात्राहरूको अधिकार हनन गरिएकोमा ‘सुओ मोटो’ मुद्दा दर्ता गरेको छ । रिपोर्टअनुसार यस घटनाबारे गुनासोहरू बढिरहेका छन् ।

भारतमा झण्डै १७ हजार नयाँ कोरोना भाइरसका सङ्क्रमित थपिए

भारतमा बितेका २४ घण्टामा १६ हजार ९३५ जना कोरोनाका सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसअघि एक दिनमा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका सो मन्त्रालयले जनाएको थियो । भारतमा हाल एक लाख ४४ हजार २५४ जना सक्रिय सङ्क्रमित छन् । यो कुल सङ्क्रमितको ०.३३ प्रतिशत भएको जनाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३७ लाख ६७ भन्दा बढी पुगेको छ ।

पछिल्लो एक दिनमा १६ हजार ६९ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ९७ हजार ५१० पुगेको छ । कोरोना भाइरस सङ्क्रमण निको भएको यो दर ९८.४७ भएको जनाइएको छ ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५१ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार ७६० जनाको मृत्यु भएको छ । माहामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब भन्दा बढी मात्रा खोप लगाइएको छ ।

भारतमा मङ्कीपक्सका अर्का सङ्क्रमित फेला

भारतको दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको छ ।

केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईभी) मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मङ्कीपक्स सङ्क्रमण पुष्टि गरिएको हो । केरला सरकारले यो रोग विरुद्धको रोकथामका उपायलाई तिव्रता दिएको छ ।

कन्नूर जिल्लाका स्थायी वासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए । स्वास्थ्य अधिकारीका अनुसार मङ्कीपक्स सङ्क्रमित बिरामीको स्वास्थ्य चिन्ताजनक अवस्थामा छैन ।

प्रशासनले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि समूहमा घुलमिल नहुन आह्वान गरेको छ । साथै चिकित्सकहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई पनि अवलोकन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुलुककै पहिलो मङ्कीपक्सका बिरामी पनि केरालामा नै पत्ता लागेको थियो । तर, ती संक्रमित व्यक्ति संयुक्त राज्य अमेरिकाबाट आएका यात्री थिए । ती यात्री जुलाई १२ मा केरला आइपुगेको बताइएको छ ।

भारतमा मङ्कीपक्सको पहिलो सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारले यसलाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो ।

युरोपमा प्रचण्ड गर्मी

युरोपेली मुलुकहरुमा गर्मी बढ्दै जान थालेको पाइएको छ । युरोपमा बढेको गर्मीका कारण स्पेनमा मात्रै ५ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । तातो हावाबाट स्पेनमा ५ सय १० जनाले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन ।

स्पेनसहित दक्षिणी युरोपमा यही जुलाई १० यता गर्मी सुरु भएको बताइएको छ । गर्मीका कारण सो क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । स्वास्थ्यमन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको जनाएको छ ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले ५१० जनाको मृत्यु भएको बताएका छन् । गर्मीका कारण ज्यान गुमाउने अधिकांशमा ज्येष्ठ नागरिक छन् । मृतकमध्ये ३ सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन् ।

गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ । यसैबीच बेलायतमा पनि गर्मी बढ्दै जान थालेको छ । बेलायतमा तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् ।

बेलायतको शाही वायुसेना अर्थात् रोयल एयर फोर्स (आरएएफ) ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ ।

चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ ।

सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो । इजीजेट र रायनएयरलगायतका एयरलाइन्सले प्रयोग गर्ने अन्तर्राष्ट्रिय विमानस्थलले गर्मीका कारण उडान स्थगित भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।

गर्मीका कारण केही विद्यालयहरु बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ ।

पाकिस्तानमा डुङ्गा डुब्दा २३ जनाको मृत्यु

पाकिस्तानमा डुङ्गा डुब्दा २३ जनाको मृत्यु भएको छ । पाकिस्तानको सिन्धु नदीमा विवाहको पाहुना बोकेको डुङ्गा दुर्घटनामा परेको हो ।

एकसय जना भन्दा धेरै विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा अरु २६ जना हराइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् । आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ । डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए ।

गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ५८ बजे

बजेट कर्मचारीमैत्री बनाउन सरकारलाई निजामती ट्रेड युनियनको संयुक्त दबाब

पोखरा – गण्डकी प्रदेशका प्रमुख निजामती ट्रेड युनियनहरूले प्रदेश सरकारको

‘शिक्षकले खोस्टो ऐन मागेको होइन, माग पूरा नभए असार १६ देखि आन्दोलन हुन्छ’

काठमाडौं- देशभरका सरकारी विद्यायमा कार्यरत शिक्षकले काठमाडौंका सडकमा २९ दिनसम्म

प्रचण्डले पार्टीभित्र उत्तराधिकारीको शृङ्खला तयार पार्नुभएको छः वर्षमान

भक्तपुर – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अध्यक्ष

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आइटी)

‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो !

काठमाडौं – मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह गत वैशाख ५