बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. माओवादी स्थायी समिति बैठक सुरु
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त भएपछि पूर्वनिर्धारित समयभन्दा केही समय ढिला गरी बैठक सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुङ्गो लगाउने नेताहरूले बताएका छन् । महासचिवमा देव गुरुङलाई चयन गर्ने लगभग पक्का भएको स्रोतले जनाएको छ ।

महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने बताइएको छ ।

२. चुनावका लागि उपयुक्त ठाउँ तय गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पूर्वाधार र सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने गरी कार्यालय तथा भवन तय गर्न निर्देशन दिएको छ ।

चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सदरमुकाममा रहेको उपयुक्त स्थलमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी सम्बन्धित निर्वाचन क्षेत्रको केन्द्रमा पर्ने एवम् भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुने गरी निर्वाचन अधिकृतको कार्यालय राख्ने ठाउँ तथा भवनको यकिन गर्न आयोगले निर्देशन दिएको हो ।

३. आजदेखि वाइसीएलको राष्ट्रिय भेला 
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदै छ ।

‘आत्मनिर्भरताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासाथ वाईसीएलको भेला सुरु हुन लागेको हो ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्ने वाइसीएलले जनाएको छ ।

४. ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

५. तनहुँमा करेन्ट लागेर २ जनाको मृत्यु 
तनहुँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको हो भने आमा घाइते भएकी छिन् ।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

६. आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छ ।

ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।

७. बञ्चरेडाँडामा आजदेखि नियमित रूपमा फोहर विसर्जन 
बञ्चरेडाँडामा आजदेखि नियमित रूपमा फोहर विसर्जन हुने भएको छ । हिजो काठमाडौँ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाण्डौबाट फोहर बोकेका गाडी आजबाट नियमित रूपमा बञ्चरेडाँडा पुग्न थालेका छन् ।

बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र  काठमाडौँबाट थप गाडी पुगिरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी गरेको छ ।

८. दाङमा हनी ट्रयापमा पार्ने ५ जना पक्राउ
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेको पाईको छ ।

हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एक जना पुरुष सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । योजनामा संलग्न अरू २ जना फरार रहेका छन् ।

आरोपीहरूले ट्रयापमा पारेपछि व्यापारीलाई  घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेको दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो ।

९. आँधीले युरोपमा १३ जनाको मृत्यु
शक्तिशाली आँधीमा परी मध्य युरोपमा ३ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आँधीकै कारण त्यत्तिकै संख्यामा मानिसहरु घाइते भएका छन्। आँधीले सैयौं घर क्षतिग्रस्त बनाएको छ ।

फ्रान्सको कोर्सीका टापुमा हिजो बिहान आएको भीषण आँधी र हुरी बतासका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

तीन दिनको तीव्र वर्षापछि परेको चट्याङले पाँच जनाको मृत्यु भएको कोर्सीकन प्रहरीलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

१०. पाकिस्तानलाई एक खेल अगावै सिरिज
पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ ।

गए राति भएको दोस्रो एकदिवसीयमा ७ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज आफ्नो बनाएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ११ बजे

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस