विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज असोज ३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १९, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

अडियो सुन्नुहोस्-

जापानमा आँधी

जापानको दक्षिणपश्चिममा अवस्थित क्युसु टापुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रतिघण्टाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको मौसम विज्ञान निकायले बताएको छ ।

यस आँधीको कारण मङ्गलबार होन्सु टापुको ठूलो भूभागमा भारी वर्षा हुने र बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरिएको निकायले जनाएको छ । जापानको मौसम विज्ञान निकायले टोकियो र छेउछाउको कानागावा प्रान्तको लागि लागू हुने गरी बाढीको चेतावनी जारी गरेको छ ।

लगातारको वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिम उच्च रहेका जापान टाइम्सले जनाएको छ ।

भीषण समुद्री आँधीसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

आँधीले अझ ठूलो बाढी र पहिरो ल्याउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन् ।

आँधीका कारण एक करोड ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको क्युसुको सामान्य जनजीवन प्रभावि बनेको हो । उक्त द्वीप जापानका चार मुख्य टापुमध्ये सबैभन्दा दक्षिणमा पर्छ ।

अधिकारीहरूले उक्त टापुमा सर्वसाधारणलाई सचेत बनाउन ‘विशेष सूचना’ जारी गरेका छन् । ओकिनावा प्रिफेक्चरबाहिर जारी भएको त्यस्तो सूचना हालसम्मकै पहिलो भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानको जलवायु निकायले आँधीका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने र वायुको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जनाएको छ ।

जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् ।

अमेरिकामा कोरोना भाइरस महामारी समाप्त : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोभिड भाइरसको महामारी समाप्त भएको बताएका छन् ।

कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको पछिल्लो भनाइ आएको हो ।

’महामारी समाप्त भएको छ । हामीसँग अझै पनि कोभिडको समस्या छ । हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने ।

तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अरबौं डलर निकास गर्न अनुरोध गरेका थिए ।

गौतम अडानी विश्वकै दोस्रो धनी बन्न सफल

भारतीय धनाढ्य गौतम अडानी विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । यससँगै अमेजन कम्पनीका मालिक जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका छन् ।

ब्लुमबर्गको अर्बपति सूचांकमा अडानी द्रुत गतिमा माथि उक्लने क्रम जारी रहेसँगै बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब अडानी मात्रै छन् ।

पहिलोपटक कुनै पनि एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष दुईमा परेको यो नै पहिलोपटक हो । अडानीको कूल सम्पत्ति १४६ दशमलब ९ अर्ब डलर छ । उनी संसारकै सबैभन्दा धनाढ्य एलन मस्कभन्दा अझै धेरै पछाडि छन् । मस्कको कुल सम्पत्ति २६० अर्ब डलर छ ।

गौतम अडानी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । उनले सन् १९८८ मा अडानी समूहका स्थापना गरेका थिए । अडानी समूहले कोइला व्यापार, खानिज, तेल तथा ग्यास अन्वेषण, बिजुली उत्पादन र वितरणजस्ता क्षेत्रमा कारोबार सम्हाल्दै आएको छ ।

नाइजेरियामा सडक दुर्घटनामा परी १९ जनाको मृत्यु

अफ्रिकी मुलुक नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडकमा तीन सवारी ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १९ जनाको ज्यान गएको र अरु सात जना नराम्ररी घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राजधानी अबुजाको यान्जी ग्वाग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको जानकारी दिएका छन् ।

सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र यसका कारण यति धेरै मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

नाइजेरियामा सडक सुरक्षाको बेवास्ता, बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र त्यहाँका सवारी साधनहरुले क्षमताभन्दा बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

तालिबानद्वारा अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।

मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिबानका अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागू हुने बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अफगानिस्तानमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिबान नेतृत्वको सरकारले अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको छ ।

तालिबान सरकारका सञ्चारमन्त्री नाजिबुल्लाह हक्कानीले भने, “हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाइट बन्द गरेका छौँ, एउटा बन्द ग¥यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।”

अमेरिकासँग बन्दी आदान प्रदान गर्न इरान तयार

इरानले अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुक अमेरिकासँग बन्दी आदान प्रदान गर्न तयार रहेको जनाएका हुन् ।

इरानी समाचार संस्था इस्नासँगको कुराकानीका क्रममा इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्नासँगको कुराकानीका क्रममा उनले भने– ‘हामी अमेरिकासँग बन्दीहरु आदान प्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि हामी तयार नै छौँ ।’

उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको समेत जानकारी गराए । यसबाहेक उनले यस विषयमा केही समयअघि अष्ट्रियाको राजधानी भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी दिएका छन् ।

अमेरिकाले ताइवानको रक्षा गर्छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन् । चिनियाँ फौजले ताइवानमाथि हमला गरेको खण्डमा अमे।िरकाले ताइवानको रक्षा गर्ने राष्ट्रपति बाइडेनले बताएका हुन् ।

अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित ताइवान टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले उक्त टापुको रक्षा गर्ने बताए ।

केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ ।

चीनको चेतावनीबीच पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । उनको भ्रमणपछि चीनले ताइवानको रक्षा क्षेत्रमा हवाई गस्ती बढाएको थियो ।

श्रीमतीको ‘धार्मिक आस्थामा समस्या’ देखिएको भन्दै तालिबानका पूर्व अधिकारीद्वारा सम्बन्ध विच्छेद

आफ्नी श्रीमतीको ‘धार्मिक आस्थामा समस्या’ देखिएको भन्दै अफगानिस्तानमा तालिबानका पूर्व अधिकारीले सम्बन्ध विच्छेद गरेका छन् ।

आफ्नी श्रीमतीको धार्मिक आस्था खस्किँदै गएको भन्दै तालिबानको आन्तरिक मामिला मन्त्रालयका पूर्व प्रवक्ता सइद खोस्तीले आफ्नी २४ वर्षे श्रीमतीसँग सम्बन्धविच्छेद गरेका हुन् ।

यसअघि काबुल चिकित्सा विश्वविद्यालयमा अध्ययनरत उनकी श्रीमतीले भिडियो सार्वजनिक गर्दै खोस्तीले आफूमाथि यौनजन्य हिंसा गरेको र जबरजस्ती विवाह गरेको आरोप लगाएकी थिइन् । फ्रन्टियर पोस्टका अनुसार उनले उक्त भिडियोमा ती तालिबान अधिकारीले आफूमाथि दुव्र्यवहार गरेको र आफ्नो शरीभर घाउको खत भएको बताएकी थिइन् ।

समाचारमा जनाइएअनुसार उनलाई आफ्नो फोनमा अफगान सुरक्षा बलका सैनिकको तस्वीर राखेको अभियोगमा थुनामा राखिएको थियो । सोही क्रममा खोस्तीले आफूमाथि दुव्यर्वहार गरेको उनको आरोप छ ।

त्यसपछि उनलाई खोस्तीसँग जबरजस्ती विवाह गराइएको फ्रन्टियर पोस्टले जनाएको छ ।

यता खोस्तीले भने ६ महिनाअघि आफ्नी श्रीमतीले नै आफूसँग विवाहको प्रस्ताव गरेको तर पछिल्लो समय उनको ‘धार्मिक आस्थामा समस्या’ देखेपछि सम्बन्ध विच्छेद गरेको जनाएका छन् ।

भारतमा दिवालीअघि नै ५जी सार्वजनिक हुने

भारतमा पाचौँ पुस्ताको मोबाइल प्रविधि ५जी सार्वजनिक प्रयोगका लागि खुला गर्न तयारी सुरु भएको छ ।

फिनल्याण्डको प्रविधि कम्पनी एचएमडी ग्लोबलले भारतीय दूरसञ्चार कम्पनी रिलायन्स जियोसँग सहकार्य गरी भारतमा ५जी ल्याउन लागेको हो ।

एचएमडी ग्लोबलका प्रमुख कार्यकारी फ्लोरियन सिचले भारतमा ५जी सार्वजनिक गर्नका लागि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘भारतमा ५जी ल्याउन हामी उत्साहित छौँ ।’ प्रमुख कार्यकारी सिचलाई उद्धृत गर्दै भारतीय अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतमा यही दिवालीभित्र राजधानी दिल्ली, कोल्काता, मुम्बई चेन्नईजस्ता सहरमा ५जी सार्वजनिक गरिसक्ने र सन् २०२३ को अन्त्यसम्म ५जी प्रविधिलाई मुलुकभर विस्तार गर्ने जनाइएको छ ।

अफगानिस्तानका पूर्वराष्ट्रपति कारजाईद्वारा तालिबानको आलोचना

अफगानिस्तानको पञ्जशीर प्रान्तमा हत्याका घटनामा निरन्तर वृद्धि भइरहेको भन्दै पूर्व राष्ट्रपति हमिद कारजाईले अफगान शासन चलाइरहेको तालिबानको आलोचना गरेका छन् ।

सो क्षेत्रमा तालिबानविरुद्ध सक्रिय नेशनल रेसिस्टेन्ट फोर्सेज (एनआरएफ) र तालिबानबीच भएको झडपपछि कारजाईले तालिबानको आलोचना गरेका हुन् ।

पूर्व राष्ट्रपति हामिद कारजाईले हालै एक वक्तव्य प्रकाशित गर्दै तालिबान र राष्ट्रिय प्रतिरोध बल (एनआरएफ) बीचको झडपबारे आफ्नो मौनता तोडेका हुन् ।

‘विगतको तीतो अनुभवले स्पष्ट रूपमा सङ्केत गरेको छ कि रक्तपात र युद्ध कहिल्यै समाधान होइन, तर यसले थप भयाबह र विनाश ल्याउँछ’ अफगानिस्तानको खामा प्रेसले पूर्व राष्ट्रपति हामिद कारजाईको फेसबुक पेजमार्फत सार्वजनिक विज्ञप्तिलाई उद्धृत गर्दै जनाएको छ ।

सेप्टेम्बर १५ मा अष्ट्रियाको राजधानी भियनामा अफगानिस्तानका राजनीतिज्ञहरूबीच तीन दिने छलफल सुरु भएपछि कारजाईको यो भनाइ आएको हो । नेसनल रेजिस्टेन्स फ्रन्टका नेता अहमद मसूदले अफगानिस्तानको मुद्दा राजनीतिक निर्णयबाट मात्र समाधान गर्न सकिने बताएका छन् ।

भियना बैठकमा एनआरएफका नेता अहमद मसूद, पूर्व विदेशमन्त्री डा. रङ्गिन डाडफर स्पान्टा, महिला अधिकारकर्मी तथा शान्ति वार्ताका लागि अफगान प्रतिनिधिमण्डलका पूर्व सदस्य फाउजिया कोफी र नर्वेका लागि पूर्व अफगानी राजदूत शुक्रिया बारेकजाईलगायत सहभागी छन् ।

खामा प्रेसका अनुसार अफगानहरुको दुर्दशा, आर्थिक प्रणालीको पतन, बालिकाहरूको शिक्षाबाट बञ्चित हुनु, सञ्चारमाध्यमका गतिविधिहरूमा प्रतिबन्ध, र तालिबान शासनअन्तर्गत आतङ्कवादी समूहहरूको गतिविधिमा वृद्धि संयुक्त राष्ट्रसंघको कार्यालयमा छलफलको मुख्य विषय छन् ।

अन्तर्राष्ट्रिय आँकलनअनुसार अफगानिस्तानमा अहिले सबैभन्दा धेरै खाद्य सुरक्षामा संकट देखिएको छ । त्यहाँ दुई करोड ३० लाखभन्दा बढीलाई सहायताको खाँचो छ र करिब ९५ प्रतिशत जनसङ्ख्यामा खाद्यान्न अपुग छ ।

अफगानिस्तान पुनर्निर्माणका लागि अमेरिकाका विशेष प्रतिनिधिको एक प्रतिवेदनअनुसार अफगानिस्तानमा दुई करोड ४४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ ।

प्रतिवेदनमा तालिबानले आफ्नो देशमाथि कब्जा जमाएको र अन्तर्राष्ट्रिय सहायतामा आएको कटौतीका कारण मानवीय सङ्कट बढ्दै गएको जनाइएको छ । अहिले करिब ७० प्रतिशत अफगान नागरिकले दैनिक रुपमा आफ्ना आधारभूत आवश्यकता पूरा गर्न असमर्थ रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : १७ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले