पछिल्लो समय मानसिक समस्याले धेरै जना पीडित हुन थालेका छन् । नेपालको एक मात्र मानसिक अस्पताल पाटनमा आउने बिरामीको संख्या बढिरहेको छ । यसरी बिरामी बढिरहेका कारण बिरामीले बेडको संख्या पनि पाएका छैनन् । वार्षिक ३५ हजार भन्दा बढीले ओपीडीमा सेवा लिने गरेको तथ्याङ्क छ । बढ्दो बिरामी, कम संरचनाले गर्दा मानसिक बिरामीको अवस्थामा कस्तो असर पर्छ त ? यसै विषयमा आधारित भएर मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्त अधिकारीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
पाटन अस्पतालको अहिलेको उपचारको अवस्था कस्तो छ ?
यो नेपालको एउटा मात्र केन्द्रीय अस्पताल हो। यो निकै पुरानो भएको कारणले मानसिक समस्या भएर धेरै बिरामी आइपुग्नु हुन्छ। अहिले ओपीडीको हिसाबले कुरा गर्दा हामीले सहज रूपमा सेवा प्रदान गरेका छौँ। हाम्रोमा दिनमा १५० देखि दुई सय जनाले बहिरंग सेवामार्फत् सेवा लिनुहुन्छ।
काठमाडौं वरिपरिका वा बाहिरको बिरामी आउनु भएको छ ?
बाहिर विभिन्न जिल्लाबाट पनि आउनु भएको हुन्छ। उपत्यका वरिपरिका अलि धेरै नै आउनु भएको छ।
अस्पताल आएपछि उपचारको प्रक्रियामा कसरी जाने ?
बिहान जनरल ओपीडी खुल्छ र साँढे ८ बजे पछाडि टिकट खुल्छ। बिहान साढे ९ बजेदेखि बिहान टिकट लिएकोले सेवा लिन सक्नुहुन्छ। बेलुका ३ बजे पछाडि विस्तारित मानसिक उपचार जहाँ बिरामीले आफूलाई उपचार गराउन मन लागेको डाक्टरलाई केही पैसा तिरेर उपचार गराउन सकिन्छ। दिउँसो सवा दुई बजेदेखि ओपीडी सञ्चालन भइरहेको छ। त्योबाहेक मनोपरामर्श पनि छन्, लागु औषधबाट टाढा राख्ने सेवा पनि हामीले सञ्चालन गरेका छौँ।
दरबन्दी नभएर उपचार पर्याप्त छैन भनिएको छ, त्यसको वास्तविकता के हो ?
बहिरंग सेवाको हिसाबले अहिलेसम्म यहाँ आएका एक जना बिरामी पनि बहिरंग सेवा नपाएर फर्केका छैनन्। कहिले काही बेडसंख्या नपुगेर हामीले केही दिन कुराउने वा अर्को अस्पताल पठाउनु पर्ने अवस्था छ। अहिलेको अवस्थामा शैया संख्या कम भएको छ।
तपाईंले यो अस्पतालको शैया संख्या बढाउन कस्तो पहल गर्नु भएको छ ?
नेपाल सरकारको अस्पताल भएपछि, अस्पतालको स्तर उन्नति गर्न (ओएन एम सर्वे) गरिनु पर्ने हो। यो केन्द्र अस्पतालको देश संघीतामा गएपछि (ओएनएम सर्वे) भएको छैन्। हामीले अस्पतालमा थप दुई सय शैया बनाउनु पर्दछ भनेर प्रारम्भिक सर्वे बनाएर त्यो फाइल मन्त्रालयमा पुगेको छ। थप पूर्वाधारको लागि पनि केही बजेट छुट्याइएको छ।
ओएनएम सर्वे नहुनुमा दोषी को हो ?
विगतका वर्षमा मानसिक अस्पताललाई मानिसले पनि वास्ता नगर्ने, सरकारले पनि ध्यान दिएन। तर अहिले विश्व स्वास्थ्य सङ्गठनले पनि प्राथमिकतामा राख्नु पर्दछ भनेर राखेको छ। यो समस्याको विषयमा मानिसहरूमा पनि अहिले सकारात्मक सोच बढ्दै गएको छ।
धेरै वर्ष भएसँगै सुधार भएन भनिन्छ, किन यस्तो भयो ?
शैय्या संख्या कम भएको हो। तर, उपचार गर्दा हामीले ओपीडीमा सबैले सेवा प्रदान गरेकै छौँ। केही न केही गुनासा त सबैतिर हुन्छन्। उपचारमा कमी गरेका छैनौं।
हरेक कार्यको लागि नीति बन्छ तर कार्यान्वयन हुँदैन भनिन्छ। यहाँ पनि त्यही भएको हो ?
बनेका नीतिहरू कार्यान्वयन नहुने मानसिक स्वास्थ्यमा मात्र होइन हरेक क्षेत्रमा छन्। तर मानसिक स्वास्थ्यलाई ध्यान दिनु पर्दछ भनेर भनिएको हो। गत वर्ष मानसिक स्वास्थ्यको रणनीति र कार्य योजना भनेर नेपाल सरकारले ल्यायो। त्यसमा केन्द्रीय अस्पताललाई विकास गरेर मनोरोगीलाई स्थानीय स्तरमा नै उपचार गर्ने, त्यहाँ नभए मात्र यता ल्याउने भनेको छ। त्यसमा दुई सय शैय्या भएका अस्पतालमा कम्तीमा १० शैय्या मानसिक स्वास्थ्यलाई छुट्याउने भनिएको छ। केही जिल्लामा त सुरु पनि भइसेकेको छ।
नेपालको एक मात्र केन्द्रमा रहेको मानसिक अस्पतालमा बाहिरबाट आएपछि उपचार गर्न के के गर्नु पर्छ र के सुविधा पाउनु हुन्छ ?
यो नेपाल सरकारको एउटा मात्र अस्पताल यो। हाम्रो उपचारको व्यवस्था राम्रो छ। शैय्या संख्या कमी भए पनि उपचारमा कुनै कमी छैन। आर्थिक अवस्था कमी भएका बिरामीलाई निःशुल्क उपचार गराएका छौँ। कोही पनि उपचार नगरी फर्किनु भएको छैन।
लामो समयसम्म उपचार गराइरहेका बिरामीलाई कसरी व्यवस्थापन गराइरहनु भएको छ ?
हाम्रोमा मानसिक स्वास्थ्यका समस्या धेरै लिएर बिरामी आउनु भएको छ। त्यसमा पनि कोही तनाव, चिन्ताबाट आएकालाई त सामान्य मनोवैज्ञानीक सुझावले पनि निको हुन्छ। तर, अधिकांश बिरामीमा औषधि उपचार नै चाहिन्छ। उनीलाई हामी औषधि उपचार गर्छौँ। अरू विद्युतीय उपचार पद्धति पनि हामीसँग छ। हामी सबैले कसैलाई मनोरोग छ भने निर्धक्क भएर आए हुन्छ। हाम्रो अस्पतालमा आएको बिरामी त्यसै फर्किनु पर्दैन।
मानसिक स्वास्थ्यमा धेरै कस्तो समस्या लिएर आउनु भएको छ ?
समग्र देशको कुरा गर्दा एन्जाइटी, डिप्रेसनको बिरामी धेरै हुनुहुन्छ। तर, हाम्रो अस्पतालमा हेर्ने हो भने अन्तबाट छानिएर अलि कडा खालका मनोरोग लिएर आउनु हुन्छ। त्यसैले सिजोफ्रेनिया साइकोसिस लगायतका समस्या लिएर आउनु हुन्छ।
मानसिक समस्यालाई उपचार गर्न लजाउनेलाई के भन्नु हुन्छ ?
मानसिक स्वास्थ्य पछाडि पार्ने काम हाम्रो परम्परागत रूपमा नै आएको छ। तर, अहिलेको युवामा शिक्षा जनचेतनाको कारणले पनि उपचार गराउनु पर्दछ है भन्ने भएको छ। गाउँमा मिडिया सम्बन्धित निकायले अरू शारीरिक स्वास्थ्य जस्तो मानसिक रूपमा पनि स्वास्थ्य हुनु पर्दछ। यो समस्या पनि अरू जस्तो सजिलै निको भएर जान्छ भन्नुपर्छ।
सुरुवाती अवस्थामा उपचार पश्चात् निको भएको मानसिक समस्या पछि दोहोरिन्छ ?
मानसिक स्वास्थ्यका प्रकार धेरै हुन्छन्। धेरै समस्या उपचार पश्चात् निको हुन्छन्। तर, कुनै सही रूपमा उपचार गरेर कन्ट्रोलमा राख्न सकिन्छ।
अन्तिममा केही भन्नै पर्ने विषय छ कि ?
रोग निम्त्याउने कारणहरू बायोलोजिकल साइकोलोजिक कुराले समस्या उत्पन्न भएका हुन। त्यसलाई हामीले मिलाउनु पर्दछ। हामी जो कोही पनि जुनसुकै बेला मानसिक स्वास्थ्यको सिकार हुनसक्छौं। त्यसैले नलजाई समयमा उपचारमा जानुपर्छ। लागु पदार्थ सेवन नगर्ने, सकारात्मक सोच राख्ने, मानसिक समस्या भएको हो कि जस्तो लाग्यो भने तुरुन्तै अस्पताल जाने यति गयौ भने हामीले हाम्रो मानसिक स्वास्थ्यको जगेर्ना गर्न सक्छौँ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया