विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज चैत्र ५, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च २०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

बंगलादेशमा डुङ्गा दुर्घटना

बंगलादेशमा डुङ्गा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । राजधानी ढाका नजिकैको शितलक्ष्य नदीमा मालवाहक डुङ्गा दुर्घटनामा परेको हो । घटनामा दर्जनबढी हराइरहेको अनुमान गरिएको छ ।

प्रहरीले बताए अनुसार एमभी रुपोशी–९ आन्तरिक कार्गोवाहक डुङ्गा ढाकाको दक्षिणपूर्वमा अर्को मालबाहक डुङ्गा एमभी अफ्सरुद्दीनसँग ठक्कर खाएपछि भएको दुर्घटनामा झन्डै दुई दर्जन मानिसहरू पौडी खेली किनारामा आउन सफल भएका स्थानीयले बताएका छन् ।

स्थानीय सञ्चार माध्यमहरूले मानिस र सामानसहित डुबेको दृश्यलाई कैद गरी सामाजिक सञ्जालमा सम्प्रेषित भिडियोमा डुङ्गाबाट हतारहतार प्रदूषित पानीमा कराउँदै मानिसहरू हामफालेको देखिएको छ ।

स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीलाई बताए अनुसार एक पुरुष, तीन महिला र एक बालकसहित पाँच जनाको शव फेला परेको छ ।उक्त डुङ्गामा ६० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको र उनीहरूमध्ये २२ जना सकुशल किनारामा आउन सफल भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासक मोन्जुरुल हाफिजले तटीय गार्डका कर्मचारी र गोताखोरहरूले उद्धार कार्यमा सहयोग गरिरहेको बताए । बंगलादेशमा डुङ्गा दुर्घटना हुनुमा साधनको मर्मतसंहारको कमी, कमजोर सुरक्षा प्रणाली र भारबहन क्षमताभन्दा बढी भारी बोक्नुलाई विशेषज्ञहरूले दोषी मान्ने गर्छन् ।

गत जुनमा एउटा पानीजहाजसँग ठोक्किएर ढाकामा डुङ्गा डुब्दा कम्तीमा ३२ जनाको मृत्यु भएको थियो भने सन् २०१५ को फेब्रुअरीमा राजधानीको पश्चिममा रहेको नदीमा एउटा मालवाहक जहाजसँग भीडले भरिएको जहाज ठक्कर खाँदा कम्तीमा ७८ जनाको मृत्यु भएको थियो ।

विषाक्त रक्सी खाँदा १७ जनाको मृत्यु

भारतको बिहार राज्यमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका १७ जनाको मृत्यु भएको छ ।

राज्यका मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा विषाक्त रक्सी सेवन गर्ने १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार मधेपुरामा तीन, बाँकामा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने बिहारको मुर्लिगन्जमा एकजनाको मृत्यु भएको जनाइएको छ ।

बिहार सुक्खा राज्य हो र सन् २०१६ देखि यहाँ अनाधिकारिक रूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

रक्सी खाएर मृत्यु भएको भनिएका उनीहरूको पोष्टमोर्टम रिपोर्ट आउन अझै बाँकी रहेकोले अहिल्यै मृत्युको वास्तविक कारण पुष्टि गर्न हतार गर्नु गलत हुने प्रहरीले बताएको छ । भारतमा रक्सीले गर्दा हुने घातक मृत्युबारे अक्सर समाचारहरू आउने गर्छन् ।

गरिब मानिसहरूको बसोबास रहेको यस क्षेत्रमा अक्सर घरायासीरूपमा बनाइने सस्तो मदिरा वा देसी दारु पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको बताइन्छ ।

युक्रेनमा रुसी आक्रमणबाट १ सय हताहत भएको आशंका

दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने साक्षी र अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सो क्षेत्रमा ६ ओटा रकेटहरू प्रहार भएका थिए ।

‘एउटा विशाल बिस्फोट’, एक स्थानीय निकोलाईले एएफपीलाई भने । बिस्फोटले सो क्षेत्रका धेरै भवनहरु क्षतिग्रस्त बनेका छन् । ‘ब्यारेकमा कमसेकम २०० सैनिक थिए’, २२ वर्षीय म्याक्सिमले भने । ब्यारेक नजिकै रहेका म्याक्सिन विनाशको मात्रा देखेर त्रसित छन् ।

‘कम्तीमा ५० शवहरु निकालिएका छन् । तर, भग्नावशेषमुनि कति छन् थाहा छैन’, उनले भने । अर्का सिपाही येभगेनीका अनुसार ब्यारेक हमलामा १०० जना मारिएका हुन सक्छन् । मृत्युबारे अहिलेसम्म आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।

युक्रेनी अधिकारीहरूका अनुसार ओडेसाको प्रमुख रणनीतिक सैन्य बन्दरगाहको ‘ढाल’ को रूपमा वर्णन गरिएको माइकोलिभले रूसी आक्रमणको प्रतिरोध गर्दै आएको थियो ।

जोनसनको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार

बेलायतले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका हुन् ।

यद्यपि जेलेन्स्कीले भने उक्त प्रस्ताव अस्वीकार गरेको बेलायती सञ्चार माध्यमले जनाएका छन् । जोनसनले सन्डे टाइम्सलाई बताए अनुसार उनको जेलेन्स्कीसँग नियमित कुराकानी भइरहेको छ ।

जोनसनले जेलेन्स्कीलाई ‘अत्यन्त आकर्षक व्यक्तित्व र प्रेरणाको स्रोत पनि साबित भएको ।’ बताएका छन् । जोनसनका अनुसार कुराकानीका क्रममा जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो ।

यद्यपि जेलेन्स्कीले उक्त प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ । ‘उनी सधैं स्पष्ट छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु ।’ जोनसनले भने ।

गत फेब्रुअरी २४ यता रुसले युक्रेनमा सैनिक आक्रमण गर्दै आएको छ ।

ट्युनिसियामा २० शव फेला

उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको तटपारि भूमध्य सागरमा २० शव फेला परेको छ । अवैध रुपमा युरोपतर्फ जान खोज्ने आप्रवासीका ती शव उत्तरपूर्वी ट्युनिसियाको नयेबुल शहर नजिक फेला परेका हुन् ।

शुक्रबार १२ शव फेला परेकोमा शनिबार थप ८ शव भेटिएको स्थानीय रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरु सिरियाली नागरिक हुन खोज्ने प्रहरीको आशंका छ ।

हाल फेला परेका शवलाई डीएनए परीक्षण र अन्य पहिचानका लागि स्थानीय अस्पतालतर्फ लगिएको बताइएको छ । थप शव भेटिने आशङ्कामा सो क्षेत्रमा खोजी कार्य पनि जारी रहेको समाचार संस्था एपीले जनाएको छ ।

ट्युनिसियाको तट युरोप प्रवेश गर्ने अफ्रिकी आप्रवासीका लागि कुख्यात मानिन्छ । हरेक वर्ष यस क्षेत्रमा अवैध रुपमा युरोपतर्फ जान खोज्ने सयौँ आप्रवासीले ज्यान गुमाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका अनुसार गत वर्ष मात्रै भूमध्य सागरको सो क्षेत्रमा १३ सय भन्दा धेरै आप्रवासी मारिएको वा बेपत्ता भएका थिए ।

हात्तिको व्यवहारको अध्ययन

मानिसको भावना उसको सामाजिक परिवेशबाट धेरै प्रभावित हुन्छ । मानिसको सामाजिक व्यवहारले तनाव, चिन्ता, त्रास जस्ता भावनाहरुमा प्रभाव पारिरहेको हुन्छ ।

तर, हात्तीमा पनि यस्तो नियम लागू हुने नयाँ अध्ययनले देखाएको छ । उक्त अध्ययन अनुसार हात्तीहरू समूहभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् । एक्लोपनले भाले मत्त हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी ढोई हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरी तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालिएको जनाइएको छ । अनुसन्धान टोलीले म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो ।

अनुसन्धानकर्ताका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिंदैन।

‘हामीले पत्ता लगाएका छौं कि भाले हात्तीहरूले कुनै साथी नभएको बेला र पोथीहरू भन्दा पनि धेरै भाले भएको सामाजिक समूहमा हुँदा उच्च तनाव देखाउँछन्’ अध्ययन टोलीका मार्टिन सेल्टम्यान र प्राध्यापक भिरपी लुम्मा भन्छन् ।

‘सामाजिक समूहमा बच्चाहरू हुँदा पोथी हात्तीले न्यून तहको तनाव देखाउँछन् । सामाजिक समूहको आकार पुरुष वा महिलाहरूमा तनाव हर्मोनको स्तरसँग सम्बन्धित छैन,’ उनीहरूले भने ।

विदेशी मुद्रा नभएपछि श्रीलंकामा परीक्षा स्थगित

प्रिन्ट गर्ने कागज आयात गर्न विदेशी मुद्राको अभाव भएपछि श्रीलंकामा परीक्षा नै स्थगित गरिएको छ । सोमबारबाट शुरु हुने भनिएको परीक्षा प्रिन्ट गर्ने कागजको गम्भीर अभाव भएपछि विद्यालयस्तरीय परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो ।

यसबाट श्रीलंकाका ४५ लाखमध्ये दुई तिहाइ वा करिब ३० लाख विद्यार्थी प्रभावित हुने सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

‘प्रिन्टरहरुले विदेशी मुद्राको अभावमा कागज र मसी आयात गर्न नसक्ने भएपछि विद्यालयका प्रधानाध्यापकहरू पनि परीक्षा आयोजना गर्न सक्ने अवस्थामा छैनन् ।’ पश्चिमी प्रान्तको शिक्षा विभागले जनाएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलंकामा कागज र मसीमात्र नभई खाद्यान्न, इन्धन र औषधिजस्तो अत्यावश्यक वस्तुको पनि अभाव रहेको बताइएको छ । सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकट झेलिरहेको श्रीलंकाले यसै वर्ष झण्डै ७ अर्ब अमेरिकी डलर विदेशी ऋण तिर्नुपर्ने छ ।

यद्यपि फेब्रुअरी महिनाको अन्त्यसम्म त्यहाँ केबल २ अर्ब ३० करोड अमेरिकी डलर बराबर मात्रै विदेशी मुद्राको सञ्चिती रहेको बताइएको छ ।

बेलायती पूर्व प्रधानमन्त्री पोल्याण्ड जाँदै

बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन युक्रेनी शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै पोल्याण्डतर्फ लागेका छन् ।

पूर्व प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल ट्विटरमार्फत् तस्वीर सार्वजनिक गर्दै रुसी आक्रमणको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएकाहरुलाई सहायता प्रदान गर्न आफैँ भ्यान चलाएर पोल्याण्डतर्फ लागेको बताएका हुन् ।

आफूले चलाएको भ्यानमा ‘न्यापीदेखि लिएर स्यानिटरीका सामान, न्यानो कपडादेखि लिएर प्राथमिक उपचारका सामग्रीसम्म सबैथोक’ रहेको उनको भनाइ छ ।

उनको भ्यानमा अक्सफोर्डशायर फुड प्रोजेक्ट चिप्पी लार्डरले संकलन गरेको सामग्रीहरू रहेको र पोल्याण्ड पुगेर ती सामग्री रेडक्रसलाई प्रदान गर्ने बताइएको छ ।

उनीसँगै उनका अरु दुई साथीहरु पनि पोल्याण्ड यात्रामा रहेको बीबीसीले जनाएको छ । ‘यो निकै लामो यात्रा हुनेछ, तर म तपाईंहरूलाई बाटोभरि अपडेट गराइरहनेछु ।’ उनको ट्विटमा लेखिएको छ ।

जेलेन्स्कीको आग्रह

युद्ध चर्किदै जाँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठोस वार्ताका लागि रूसलाई फेरि आग्रह गरेका छन्। रुसले युक्रेनमाथि आक्रमणलाई निरन्तरता दिएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन्।

युक्रेनले युद्ध बढ्दै जाँदा शान्ति वार्ताको विकल्प नभएको बताइरहेका बेला रुसले भने पहिलो पटक युक्रेनमाथि आफ्नो सबैभन्दा नयाँ मिसाइल प्रयोग गरेको दाबी गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले अमेरिकी जो बाइडेनसँग सबै पक्षले रुस–युक्रेन वार्तालाई समर्थन गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार दुई देशबीचको युद्धका कारण ६५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। हजारौंको मृत्यु हुँदा रुस र युक्रेन युद्धका कारण ३० लाख बढी मानिस विस्थापित भएका छन्।

भारतमा कोरोना संक्रमित घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा द्ुई हजार भन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा चार लाख ३१ हजार ९७३ जनाको कोरोना परिक्षण गरिएकोमा एक हजार ७६१ जनामा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ ।

यद्यपी शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार दुई हजार ७५ जनामा यो सङ्क्रमण देखिएको थियो । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २६ हजार २४० पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार १९६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६५ हजार १२२ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण १२७ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ४७९ को मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ०५ बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड