नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोसः

राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधानविरुद्ध सर्वोच्च पुगे जनप्रतिनिधि

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्।

तर, केही कागजात नपुगेर उनको रिट दर्ता भने नभएको जनाइएको छ । आचारसंहिताले आफ्नो संवैधानिक हकमाथि प्रहार गरेको र निर्वाचनमा उम्मेदवारी दिने अधिकार कुण्ठित हुने भएकाले कानूनी उपचार खोजेको अध्यक्ष शेर्पाले बताए ।

भारतको राजदूतमा डा.शंकर शर्मा नियुक्त

भारतको अवासीय राजदूतमा डा.शंकर शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम शर्मालाई भारतको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयको कार्यालयले जनाएको छ । सरकारले शर्मालाई राजदूत सिफारिस गरेको लामो समय बितेपनि भारतले एग्रिमो पठाउन ढिलाइ गर्दा नियुक्तिमा ढिलाइ भएको थियो ।

म्यादी प्रहरीमा आवेदन दिनेको लाइन

प्रहरी प्रधान कार्यालय, नक्सालले म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशन गरेर भर्नाका लागि आवेदन खुलाएको छ । आजबाट आवेदन खुलेसँगै विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ । काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर, अन्य जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरूको लामो लाइन लागेको हो ।

चैत १ गते नेपाल प्रहरीले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १ लाख जना म्यादी प्रहरी माग गरेको थियो । आवेदन दिने अन्तिम मिति चैत ११ सम्म रहेको छ । त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ ।

न्याय सेवा आयोगद्वारा १८५ जनाको सरुवा सिफारिस

न्याय सेवा आयोगले ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको  आज बसेको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै  लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका ११४ जना शाखा अधिकृतलाई पनि विभिन्न स्थानमा पदस्थापनका लागि सिफारिस गरिएको छ ।

वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एउटै कुचोले पाँच दललाई बढार्ने दाबी गरेका छन् ।

इलाममा आयोजित आमसभालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ’एमालेले टाँसिदिएका जुँगामा ताउ लगाएर एमालेकै बाकस खाली गर्छौं’ भन्ने भन्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति आक्रोश व्यक्त गरे । ओलीले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई आफ्नो पक्षमा पारेर परिणाम आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाए ।

नेप्सेले गर्‍यो कम्पनीहरूको वर्गीकरण, ए समूहमा परे ३६ कम्पनी

नेप्सेले सूचीकृत कम्पनीहरूको पछिल्लो वर्गीकरण सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार ३६ कम्पनी ए समूहमा परेका छन् । धितोपत्र सूचीकरण विनियमावलीअनुसार कम्पनीहरूको  वर्गीकरण गरिएको हो ।

नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा कम्पनीहरूलाई वर्गीकरण गर्ने गरेको छ । ए समूहमा २५ वटा वाणिज्य बैंकहरू परेका छन् । कुल २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य पुर्णतः सरकारी स्वामित्वको कम्पनी हो भने एनआईसी एसिया बैंक जेड समूहमा परेको छ ।

माओवादीका प्रमुख सचेतक विष्टसहित १५० नेता कार्यकर्ता एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

उनीहरूलाई आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरे । एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई आजै निष्कासन गरेको थियो । प्रमुख सचेतक रहेकै समयमा विष्टले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

खनाललाई नेम्वाङको जवाफ कसको मतपेटिका खाली हुन्छ हेरौँला

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कसको मत पेटिका रित्तो हुन्छ स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट थाहा हुने प्रतिक्रिया दिएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय आयोजित आमसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाले आउँदो चुनावमा एमाले र केपी ओलीको मतपेटिका शून्य पार्नुपर्ने बताएका थिए ।

एमालेले बोलायो पोलिट्ब्यूरो बैठक भोलि बस्ने

नेकपा एमालेले भोलिका लागी पोलिट्ब्यूरो बैठक बोलाएको छ । बिहान ११ बजे बबरमहलस्थित एक ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ ।

त्यस्तै समसामयिक राजनीतिक परिस्थितिबारे समेत बैठकमा छलफल हुने रिजालले बताए ।

काँग्रेसमै एकता कायम गरौँं, कम्युनिष्टसँग तालमेल नगरौँ : नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा काँग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका छन् ।

मोरङको सुन्दर हरैचामा आयोजित कार्यक्रममा नेता कोइरालाले विचार नमिल्ने कम्युनिष्टसँग मिल्नुभन्दा पार्टीभित्रका गुट उपगुट अन्त्य गर्नेतिर सोच्नुपर्ने भनाइ राखे । उनले पार्टीभित्र गुट उपगुट अन्त्य गर्न सभापतिले सही भूमिका निर्वाह गर्नुपर्ने औंल्याए ।

उनले गठबन्धनबारे पार्टीभित्र दुवैखाले मत रहेको भन्दै स्थानीय तहको निर्वाचनमा केन्द्रबाट निर्णय गर्नुभन्दा पार्टीको स्थानीय समितिले नै आवश्यकता अनुसार निर्णय गर्न पाउनुपर्ने भनाइ राखे ।

काँग्रेसले गठबन्धन गर्नेबारे केन्द्रीय समिति बैठकबाट निर्णय लिने

स्थानीय चुनावमा सत्ता गठबन्धनमा सम्बद्ध दलहरूसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय लिने भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठकले चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा निर्क्योल गर्ने प्रवक्ता प्रकाशशरण महतले बताए । उनले तल्ला तहमा पार्टी संगठनको अवस्था र गठबन्धनको आवश्यकताबारे तथ्यगत रूपमा पार्टीले विस्तृत अध्ययन गरेपछि मात्रै कहाँ–कहाँ गठबन्धन गर्ने भनेर टुंगो लगाउने भनाइ राखे ।

नेविसंघद्धारा पार्टी कार्यालय सानेपामा धर्ना

काँग्रेसको भातृसंगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरि विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेविसंघको विधान पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने आसन्न तीनवटै तहको निर्वाचनमा युवा, विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्नुपर्ने, अध्यावधिक स्ववियु निर्वाचन र नेविसंघको महाधिवेशनको ग्यारेन्टी गर्नुपर्ने माग पनि राखेका छन् ।

काँग्रेसको बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित

नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित गरिएको छ । बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बाँनियाले पार्टीको विधान धारा १३ (६) को झ बमोजिम आज मनोनयन गरेको काँग्रेस बागमती कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।

सभापति बाँनियाले निमा लामा, कृष्णलाल भँडेल, सन्तबहादुर प्रजा, प्रभात तामाङ, कल्पना नेपाली, तिलकप्रसाद रुवाली, छिरिङ दोर्जे लामा, अर्जुन न्यौपाने, कैलाश कोइराला, राजु खरेल, गौरी दवाडी, रमेशकुमार बखती, हरिहर अधिकारी, राजेश महर्जन, प्रभुराम श्रेष्ठ र भगवतीकुमारी खड्कालाई मनोनयन गरेका हुन् ।

कमल थापाको यस्तो दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् । आज काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गरेका हुन् ।

उनले संघीय चुनावपछि राप्रपाले काँग्रेस एमालेलाई चुनौती दिने गरी अघि बढ्ने बताए । अहिले सामाजिक सञ्जालमा आफुलाई गालीगर्नेहरूको भीड लागेको भन्दै आगामी दिनमा उनीहरू राप्रपा नेपालमा नै आउने उनले बताए ।

पीसीआर परीक्षण गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कोभिड–१९ तथा अन्य संक्रामक रोगहरूको परीक्षण गराउन निर्देशन दिएको छ । पूर्ण खोप प्राप्त नगरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको रिपोर्ट नेगेटिभ नभएका यात्रुहरूको पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो ।

त्यस्तै पूर्णं खोप प्राप्त गरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट भए पनि कोभिड संक्रमणको लक्षण भएका यात्रुहरूको समेत पीसीआर परीक्षण गराउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

नेपालमा कोरोना अपडेट

पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ९८ पीसीआर परिक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना पुष्टि भएको छ । आज ३ सय ८३ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३ हजार २ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

अभिनेत्री प्रियंका कार्कीलाई सीआईबीद्वारा सोधपुछ

अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग गरेर नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन सामाजिक सञ्जालमा प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले कार्कीसँग सोधपुछ गरेको छ । सीआईबीले अभिनेत्री कार्कीलाई कार्यालयमा नै बोलाएर आज सोधपुछ गरेको हो ।

विज्ञापनमा कार्कीको तस्बिर दुरुपयोग भएको हो या होइन भन्ने बुझ्न कार्कीसँग सोधपुक्षका लागि बोलाएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

मूल्यवृद्धिको विरोधमा निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आज विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन् ।

त्यस्तै उनीहरूले पेट्रोलियम पदार्थ घटाएर विद्युतिय सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन् । पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । निगमले भने वृद्धि गर्दा पनि घाटा नै रहेको बताउदै आएको छ ।

बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

बैतदीमा बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बैतडीको शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द हुने

लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द हुने भएको छ । सडक खण्डको तिमाङ छहरामामा निर्माण गरिएको कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ ।सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो ।

शेयर बजार दोहोरो अंकले घट्यो

कारोबारको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अकंले घटेको छ  । आज नेप्से १४ दशमलव ६७  अकंले घटेर २ हजार ६ सय १६  दशमलव ५८ विन्दुमा पुगेको हो । आज कुल ४२ लाख ८७  हजार ५ सय ६९ कित्ता शेयर २ अर्ब २७  करोड  ४६ लाख २६ हजार ११९ रुपैँयामा कारोबार भएको छ ।आज राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, नेपाल टेलिकम, अपी पावर र नेपाल बैंक क्रमशः अगाडि रहेको छ ।

बक्यौता नतिर्ने सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी गरेको छ । पटक पटक पत्रचार गर्दा पनि  बक्यौता  तिर्न नआएको भन्दै  प्राधिकरणले सात  एयरलाइन्सविरुद्ध कारबाहीको  तयारी गरेको  जनाएको हो ।प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिन भित्र वक्यौता तिर्न  पनि आग्रह गरेको छ।

प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको हो ।यी कम्पनीहरू अहिले सञ्चालनमा भने छैनन् ।

प्राधिकरणले कम्पनीहरूलाई बक्यौता तिर्न नपर्ने हो भने त्यो  अनुरूप कागजात लिएर आउनसमेत  सम्बिन्ध एयरलाइन्सलाई आग्रह समेत गरेको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : १४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले