आज जेठ ६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
श्रीलङ्कामा मन्त्रिमण्डल विस्तार
आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदलीय सरकार’ ले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेको छ ।
पछिल्लो मन्त्रिमण्डलमा अर्थमन्त्री बाहेक नौ मन्त्रीहरूलाई नियुक्त गरिएको छ । राष्ट्रपति गोताबाया राजपाक्षेका जेठा दाइ एवम् पूर्व प्रधानमन्त्री महिन्दा राजपाक्षेमाथि श्रीलङ्काको अर्थतन्त्रलाई सङ्कटको संघारसम्म पुर्याएको आरोप लाग्दै आएको छ । केही समयअघि तीव्र सरकार विरोधी प्रदर्शनमाझ उनले राजीनामा दिएका थिए । उनको स्थानमा प्रधानमन्त्री रनिल विक्रेमासिङ्घेले यस महिनाको सुरुमा प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेका थिए ।
विक्रमासिङ्घेले अघिल्लो मन्त्रिमण्डल विघटन भएपछि गठबन्धन सरकार बनाउने प्रतिबद्धता जनाउँदै नेतृत्व सम्हालेका थिए । राजधानी कोलम्बोमा कडा सुरक्षाबीच सरकारी निवासमा राष्ट्रपति गोताबाया राजपाक्षे सामु स्वास्थ्य, शिक्षा र न्यायका लागि नयाँ मन्त्रीहरूलाई शपथ खुवाइएको त्यहाँको सरकारले जानकारी गराएको छ । मुख्य विपक्षी ‘समागी जन वालवेगया’ (एसजेबी) पार्टीका दुई विधायकले नयाँ सरकारमा सामेल हुन आफ्नो पार्टी परित्याग गरेका छन् । अर्को विपक्षी दल ‘श्रीलङ्का फ्रिडम पार्टी’ ले राष्ट्रपति राजापाक्षेलाई समर्थन गर्न सहमति जनाएको छ र यस दललाई पनि नयाँ मन्त्रिमण्डलमा सामेल गरिएको छ ।
कर्जाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग महत्वपूर्ण वार्ताका लागि जिम्मेवारीसहित आउने अपेक्षा गरिएको अर्थमन्त्रीको नियुक्ति भने नयाँ मन्त्रिमण्डल बिस्तार हुँदा पनि खाली राखिएको छ । प्रधानमन्त्रीको कार्यालयले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई जानकारी गराएअनुसार उक्त जिम्मेवारी तोक्नका लागि अर्को हप्तासम्म लाग्नेछ । अर्थमन्त्रीको नियुक्तिमा ढिलाइ हुँदा आइएमएफसँग वार्ताका लागि बाधा पुग्नसक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीबार चेतावनी दिएका थिए । खाद्यान्न, इन्धन र औषधिजस्तो अत्यावश्यक आयातलाई समेत धान्न नसक्ने अवस्थामा रहेको श्रीलङ्का सरकारले विदेशी मुद्राको अत्यधिक अभाव झेलिरहेको छ ।
दुई करोड २० लाख जनसङ्ख्या भएको यस दक्षिण एशियाली मुलुकले महिनौँदेखि गम्भीर आर्थिक कठिनाइ भोग्दै आएको छ । उपभोक्ताले पेट्रोल, डिजेल र खाना पकाउने ग्यास पाउन सकेका छैनन् भने चामल पिठोजस्ता आधारभूत खाद्यान्न लगायतका सामान समेतको अभाव झेलिरहेका छन् । यस देशमा लामो समयदेखि मुद्रास्फीति र दैनिकरूपमा आवश्य बिजुलीको पनि अभाव हुँदा घण्टौँ लामो लोडसेडिङ पनि भइरहेको छ । पेट्रोल अभावले देशभर यातायात सेवामा समस्या भएकाले सरकारले साप्ताहिक विदाबाहेक शुक्रबार पनि कार्यालय र विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
अधिकारीहरूले भने सरकारले यस हप्ता कोलम्बो बन्दरगाहमा आइपुगेको पेट्रोल ढुवानीको लागि आवश्यक पाँच करोड ३० लाख अमेरिकी डलर जुटाएको दाबी गरेका छन् । सप्ताहन्तमा खुद्रा रूपमा आधारभूत सामानहरूको आपूर्ति गर्न ‘पम्पिङ स्टेसनहरू’ खोल्न सकिने बताइएको छ ।
श्रीलङ्काको केन्द्रीय बैंकले मुलुकको ५१ अर्ब डलरको बाह्य कर्जा पुनर्संरचना ग्यारेन्टी नभएसम्म कम्तीमा अर्को छ महिनाका लागि वैदेशिक ऋण चुक्ता गर्न नसक्ने घोषणा गरेको छ ।
रुसी विदेशमन्त्रीद्वारा ब्रिक्सका विदेशमन्त्रीसँग बैठक
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भिडियो कन्फरेन्स मार्फत उदीयमान मुलुकहरूको समूह ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका छन् ।
युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा सहभागी भएका हुन् । बैठकका क्रममा आफ्नो टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनको अवस्थाको विकास र विशेष सैन्य परिचालनको विस्तृत आधारभूत मूल्याङ्कन प्रस्तुत गरेका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वागत सम्बोधन गर्दै उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा चिनियाँ राष्ट्रपतिले ब्रिक्स राष्ट्रहरू र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको प्रयासको सान्दर्भिकताले वास्तविक बहुपक्षीयतालाई समर्थन गर्ने बताएका छन् ।
‘बैठकमा अन्तर्राष्ट्रिय चासोका समसामयिक विषयमा महत्त्वपूर्ण विचार आदानप्रदान भएको थियो । मन्त्रीहरूले विश्वव्यापी मामिलामा सामूहिक सिद्धान्त सुदृढ गर्ने, क्षेत्रीय द्वन्द्व, नयाँ चुनौती र खतरासँग लड्नका साथै बहुपक्षीय विषयमा पाँच राष्ट्रबीचको अन्तरक्रियाका विषयमा गहन छलफल गरेका थिए र बैठकमा वर्तमान अवस्था र पाँच–पक्षीय सहयोगको सम्भावनाहरू बारे विशेष ध्यान दिइएको थियो ।’ कार्यक्रमका क्रममा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा अर्जेन्टिना, इजिप्ट, इन्डोनेसिया, कजाकस्तान, नाइजेरिया, साउदी अरेबिया, सेनेगल लगायतका मुलुकका विदेशमन्त्रीहरूको सहभागितामा ब्रिक्स प्लस ढाँचामा छुट्टै सत्र पनि सञ्चालन भएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले संयुक्त राष्ट्रसंघ, विश्व व्यापार सङ्गठन र जी–२० भित्रको सहयोगमा जोड दिँदै राज्य र विश्वव्यापी शासन प्रणालीको विकासको सम्भावनाका बारेमा छलफल गरेका थिए।’ गत साता ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक पनि आयोजना भएको थियो सो अवसरमा मन्त्रीहरूले ठूलो महामारी विरुद्ध प्रारम्भिक चेतावनी प्रणाली शुरु गर्ने कुरामा सहमति जनाएका थिए ।
ब्रिक्स एक बहुपक्षीय मञ्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, दक्षिण अफ्रिका र चीन सदस्य छन् ।
नाइजेरियाली सेनाको कारवाहीमा ४३ अतिवादी लडाकु मारिए
नाइजेरियाली सेनाको कारवाहीमा करिब ४३ अतिवादी हतियारधारीहरू मारिएका छन् । गएको तीन सातायता जारी नाइजेरियाली सेनाको कारवाहीमा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् ।
नाइजेरियाली सेनाले केही साता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् । साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको जनाइएको छ । त्यस्तै, अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको दाबी गरिएको छ ।
उनीहरूलाई सो क्षेत्रमा आतंक मच्चाइरहेका हतियारधारीहरूले अपहरण गरी लगेका थिए । अपहरणकारीको कब्जामा रहेका बन्दीहरूलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए ।
मोदीले जापानको भ्रमण गर्ने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता जापान भ्रमणमा जाने भएका छन् ।
यही मे २४ मा जापानको राजधानी टोकियोमा हुने “क्वाद लिडरर्स समिट” मा सहभागी हुन उनी जापान जान लागेका हुन् । सम्मेलनमा जापान र अष्ट्रेलियाका समकक्षी र अमेरिकाका राष्ट्रपतिलगायतसँग उनको भेटवार्ता हुने अधिकारीहरूले जनाएका छन् । मोदीको भ्रमणका बारेमा भारतको विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा विहीबार जानकारी दिइएको हो ।
यो सम्मेलन अहिले चौथोपटक हुन लागेको जनाइएको छ । सम्मेलनमा आपसी हित, साझा चासो, अन्तर्राष्ट्रिय तथा क्षेत्रिय चासोलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
सबैको सुरक्षाका लागि मिलेर काम गर्नुपर्ने चिनियाँ राष्ट्रपतिको भनाइ
चीनका राष्ट्रपति सी जिनपिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसका लागि ब्रिक्स राष्ट्रहरूलाई आह्वान गरेका छन् ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले यस्तो टिप्पणी गरेका हुन् । विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न अस्थिरता, अनिश्चितता र असुरक्षाका कारकहरू बढ्दै गएकाले ब्रिक्स राष्ट्रहरूलाई एकजुट हुन उनले आग्रह गरेको जनाइएको छ । ‘शान्ति र विकास वर्तमानको अपरिवर्तित विषय अन्तर्राष्ट्रिय समुदायको साथ, सहयोग र ऐक्यबद्धता अत्यावश्यक छ’ उनले भने ।
अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक, प्रेरणादायी र रचनात्मक शक्तिको रूपमा ब्रिक्सका सदस्य देशले दृढतापूर्वक काम गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायित्व, शान्ति र विकासको प्रवर्द्धन, निष्पक्षता, न्याय, लोकतन्त्र एवम् स्वतन्त्रताको समर्थन आवश्यक भएको पनि राष्ट्रपति सीले बताए । अरूको खर्चमा आफ्नो सुरक्षा खोज्दा नयाँ तनाव र जोखिम मात्रै सिर्जना हुने बताउँदै राष्ट्रपति सीले विश्वमा साझा सुरक्षा प्रवद्र्धन गर्न विश्वव्यापी सुरक्षा प्रयास उपयोगी हुने विचार व्यक्त गरे । ब्रिक्स देशहरूले राजनीतिक रूपमा पारस्परिक विश्वास र सुरक्षा सहयोगलाई सुदृढ गर्न, प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा निकट सम्पर्क कायम गरेर एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र विकासका लागि सुरक्षाको विश्वव्यापी समुदाय निर्माण गर्ने उनको भनाइ छ । उनले शीतयुद्धको मानसिकता र टकरावबाट मुक्त हुनुपर्नेमा पनि जोड दिए ।
‘अहिलेको जोखिम र चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशहरूले समृद्धिका लागि पारस्परिक एकता र सहयोगलाई अझ बलियो बनाउनुपर्छ, आपसी समझदारी एवं विश्वास बढाउन, सहयोगका क्षेत्रलाई बढाउन तथा आपसी हित प्रवर्द्धन अभिवृद्धि गर्नुपर्छ’ उनले भने ।
पाकिस्तानद्वारा अत्यावश्यक बाहेकका सामानको आयातमा रोक
पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरूको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरू आयातमा रोक लगाएको शुक्रबार जानकारी दिएको हो ।
यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । पाकिस्तान सरकारले आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रमहरू ल्याएको छ । त्यहाँ पनि आर्थिक संकट उत्पन्न हुन सक्ने संकेतहरु देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो । त्यसै क्रममा यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरु आयात गर्ने काममा रोक लगाएको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिएका हुन् । मन्त्री मारिम औरन्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरु देखिन थालेको भन्दै यसका लागि देशबासीहरुले त्यसमा सहयोग गर्नुपर्ने बताइन् । उनले देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको पनि बताइन् ।
टर्कीका चिन्तालाई सम्बोधन गरिने नेटो महासचिवको आश्वासन
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)) का महासचिव येन्स स्टोल्टेनबर्गले सैन्य गठबन्धनमा सामेल हुन फिनल्याण्ड र स्वीडेनले दिएको आवेदनका विषयमा टर्कीले उठाएका चिन्तालाई सम्बोधन गर्ने बाचा गरेका छन् ।
‘हामीले टर्कीले व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्दैछौ’ उनले डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनसँग संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् । फिनल्याण्ड र स्वीडेनले नेटो सदस्यताका निम्ति हालै आवेदन गरेका छन् । स्टोल्टेनबर्गले फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुनका लागि दिएको निवेदनहरूलाई ‘सबै सहयोगीहरूको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्ने आवश्यकताको रूपमा’ समन्वयात्मक रूपमा निर्णय र व्यवस्थापन गरिने बताएका छन् । सो अवसरमा उनले नेटो फिनल्याण्ड, स्विडेन र टर्कीसँग नजिकको सम्पर्कमा रहेको’ पनि उल्लेख गरेका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीमाथि प्रतिबन्ध लगाएका फिनल्याण्ड र स्वीडेनले नेटोमा आवेदन दिएका विषयमा आफू सहमत नहुने बताएका छन् । टर्कीले कुर्दिस्तान वर्कर्स पार्टी र सिरियामा कुर्दिश लडाकु समूह पिपुल्स डिफेन्स युनिटलाई उल्लेख गर्दै दुबै राष्ट्रले ‘आतङ्कवादी सङ्गठन’ लाई समर्थन गरेको आरोप लगाएको छ।
रुसले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन बारम्बार चेतावनी दिँदै आएको छ । रुसले यस्तो कदमबाट बाल्टिक सागर क्षेत्रमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएर ‘सैन्य सन्तुलन पुनर्स्थापना’ गर्न बाध्य पार्ने पनि बताएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु घट्दै
दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु विस्तारै घट्दै गएको देखिएको छ । दक्षिण कोरियाली अधिकारीहरूले दिएको जानकारी अनुसार गएको २४ घण्टाको समयावधिमा त्यहाँ २५ हजार जना कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् ।
दक्षिण कोरियामा यसअघि दैनिक लाखौँ कोरोनाका संक्रमित देखिएकामा पछिल्ला केही साता यता भने घट्दै गएको पाइएको हो । त्यहाँ २५ हजार १३५ जनामा संक्रमण देखिएको पाइएको छ । त्यहाँ अघिल्लो दिनका तुलनामा संक्रमितहरु घटेका हुन् । अघिल्लो दिन मात्र त्यहाँ २८ हजार भन्दा बढी संक्रमित भेटिएका थिए । त्यस्तै यस हप्ताको सुरुमा ३२ हजार जना भन्दा बढी संक्रमित भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरूले पहिलेका तुलनामा पछिल्ला दिनहरूमा त्यहाँ सङ्क्रमितको संख्या थोरै भए पनि घट्दै गएको पाइएको बताएका छन् ।
यसैसँगै कूल संक्रमितको संख्या १ करोड ७९ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरियामा यहाँ अस्पताल भर्ना हुने कोरोना भाइरसका संक्रमितहरुको संख्या भने न्यून छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि दक्षिण कोरियामा कम रहेको जनाइएको छ ।
प्रतिक्रिया