बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१.समानुपातिकतर्फ ४८ राजनीतिक दलद्वारा बन्दसूची दर्ता 
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय सीमा तोकेको थियो । आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले  हिजो  बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले  समानुपातिकमा भाग लिने गरी निवेदन दर्ता गराएका थिए ।प्रदेशसभातर्फ  प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन् ।निर्वाचन कार्य तालिकाअनुसार दलहरूले सूचीमा  असोज २२ सम्म परिमार्जन गर्न सक्छन् । आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ । सात वटा प्रदेशबाट २ सय ३८ दलले समानुपातिकतर्फको बन्दसूची पेश गरेको  आयोगले जनाएको छ ।

२. खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगको  चेतावनी 
निर्वाचन आयोगले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने चेतावनी दिएको छ । आयोगले आज सूचना जारी गर्दै समयमै निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारलाई निश्चित समय तोकेर जरिवानासहितको रकम बुझाउन समय दिने र सो समयमा पनि खर्च विवरण नबुझाए ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरिएको जनाएको हो ।  चित्तबुझ्दो स्पष्टीकरण नदिने र आयोगको सूचनालाई बेवास्ता गरी स्पष्टीकरण नै नदिने महानगरका प्रमुख र उपप्रमुखलाई आयोगले ७ लाख ५० हजार, वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही  तीन लाख, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखलाई जनही ५ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ

३. राष्ट्रपतिबाट नागरिकता विधेयक  प्रमाणीकरण गर्ने आज अन्तिम दिन 
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक समय सीमाभित्र नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्ने तत्परता नदेखाएपछि सरकार सशंकित बनेको छ ।संवैधानिक समयसीमा सकिन एक दिन मात्र बाँकी रहँदा पनि राष्ट्रपतिबाट संकेत नपाएपछि विधेयक प्रमाणीकरण नभए के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलसँग छलफलमा जुटेका छन् । प्रतिनिधिसभा अन्त्य भइसकेको अवस्थामा नागरिकता विधेयकमाथि राजनीति गरेर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण धमिलो बनाउन खोजेको आशंका सत्ता गठबन्धन दलले गरेका छन् । यसैबीच कांग्रेसका नेता  मीन विश्वकर्माले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरेको खण्डमा कानुनी प्रक्रियामार्फत अगाडि बढ्न सक्ने संकेत गरे । रेडियो क्यान्डिडको नियमित प्रस्तुति क्यान्डिड टकमा कुरा गर्दै नेता विश्वकर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेको अवस्थामा, सरकारले  यसलाई संविधान उल्लखन गरेका ठहर गर्दै  अदालतमा रिट लिएर जान  सक्ने बताए । संघीय संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर आएको नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रपति कार्यालय शीलतनिवासमा विचाराधीन अवस्थामा रहेको  छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन हो । तर, राष्ट्रपतिले प्रमाणीकरण गर्ने–नगर्नेबारे अन्योल कायमै छ । गत  भदौ २० मा विधेयक प्रमाणित गरेर सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ पठाएका थिए । सभामुखबाट आएको १५ दिनभित्र प्रमाणीकरण गर्नै पर्छ । १५ दिनको समय सीमा आज राति १२ बजेबाट सकिँदै छ । यो समय सीमाभित्र संविधानबमोजिम राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरे के हुन्छ भन्ने अन्योल छ ।

४. भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाख २८ हजार नाघे
एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ ।पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।कुल संक्रमितको शून्य दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलव ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ ।

५. आशा लघुवित्त वित्तीयको आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला
आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम  मूल्य  ३ सय ९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा पुग्ने गरी गोप्य सिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।  यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर बिक्री गर्न लागिएको हो ।

६. चट्याङ लागेर एक युवकको मृत्यु 
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १२, घारिबथानमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।  घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन्।  हिजो साँझ वर्षासँगै परेको चट्याङ लागेर ईश्वरपुर १२ गुइडुङ गाउँका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए । घटनामा मृतक घलानकी पत्नी २६ वर्षीया नन्दीमाया घलान, २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी छोरी ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीया रुद्रबहादुर स्याङ्तान घाइते भएका छन् । घाइते सबैको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  यस्तै मकवानपुरको वकैया गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । वकैया–११ आहालडाँडाका करिब ५५ वर्षीय आइतसिंह भोलनको चट्याङ लागेर  गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छे ।  उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

७. बालकको शव क्षतविक्षत अवस्थामा फेला  
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत  अवस्थामा  फेला  परेको  छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय  विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो । विजयकी आमा मकै बारीमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । बालकको शव बायाँ  खुट्टा  छुट्टिएको र अङ्ग नभएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताउनुभयो । बालक भदौ ३१ गतेदेखि हराएको स्थानीयले बताएका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

८. म्यानमारको विद्यालयमा सेनाले गोली चलाउँदा ६ बालबालिकाको मृत्यु
म्यानमारको उत्तरी क्षेत्र बौद्ध विहारमा रहेको विद्यालयमा सेनाको हेलिकप्टरले गोली लागेर ६ बालबालिकाको मृत्यु भएको छ । अन्य  १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको म्यानमारको  सेनाले दाबी गरेको छ । विद्यालय प्रशासकले सेनाले एमआई–३५ गनसिपले विद्यालयमा गोली चलाएको बताएका छन् । गोली चलिरहँदा बालबालिकालाई सुरक्षित स्थानमा पुर्‍याउने प्रयास गरिएको थियो । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ ।

९. रुसद्वारा पुनः क्षेप्यास्त्र प्रहार
रुसले युक्रेनको दक्षिणी क्षेत्रमा पुनः क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनको एउटा आणविक ऊर्जा केन्द्र नजिकै युक्रेनी क्षेप्यास्त्र खसेको युक्रेनी अधिकारीहरूले बताएका हुन् । सोही क्षेप्यास्त्र अन्य औद्योगिक उपकरणमा खसेको र नजिकै रहेका ३ वटा आणविक रियाक्टरलाई कुनै क्षति नपुगेको जनाइएको छ । युक्रेनी आणविक सञ्चालन निकाय इनर्गोएटमका अनुसार साउथ युक्रेन न्युक्लियर पावर प्लान्टको नामले समेत चिनिने प्रिभ्देन्नोउक्रेन्स्क न्युक्लियर प्लान्टदेखि केवल ३ सय मिटर पर क्षेप्यास्त्र खसेको छ ।  क्षेप्यास्त्र आक्रमणबाट कुनै मानवीय क्षति नभएको बताइएको छ । युक्रेनी अधिकारीहरूले यस घटनालाई आणविक आतंकवादको संज्ञा दिएको छ ।रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनी प्रमुख पूर्वाधारहरूमाथि आक्रमण हुनसक्ने चेतावनी दिए लगत्तै क्षेप्यास्त्र हमला भएको हो ।

१०. सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटका खेलहरू बिहीबारबाट सुरु हुँदै 
अखिल नेपाल फुटबल संघ (एन्फा) ले  सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । छनौट खेलहरू असोज ६ गते बिहीबारबाट   ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनौट कात्तिक २४ गतेसम्म चल्नेछ । एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ ।  हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् ।नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : ३६ बजे

आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक