दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. सत्ता गठबन्धनको बैठक अपरान्ह ४ बजे पुनः बस्ने

सिट बाँडफाँडको टुंगो लगाउन  सत्तारुढ पाँच दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरू आज बिहान छलफलमा जुटेका हुन् । आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आपसमा सिट बाँडफाँड गर्न सत्ता गठबन्धनका दलबीच निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बिहानको बैठकमा नेताहरूबीच सामान्य छलफल भएको आज अपराह्न ४ बजे पुनः बस्ने जानकारी दिए । आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरूबीच सिट बाँडफाँडमा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँडका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

२. सर्वोच्च अदालतको सुरक्षा व्यवस्था कडा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियुमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो । यसैबीच निलम्बित प्रधानन्यायाधीश जबराको  बालुवाटारस्थित सरकारी निवास परिसरबाट सुरक्षाकर्मी हटाएको छ । गत आइतबार सर्वोच्च अदालत फर्कने तयारी गरेका जबरालाई प्रहरीले निवास बाहिर निस्कन रोक लगाएको थियो ।

३. २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारत निर्यात

चालु आर्थिक वर्षको  भदौ महिनामा २ अर्ब  ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा  भारत निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले  गत जेठ १९ इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत् व्यापार (भारु) मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

४. राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने तत्परता नदेखाएपछि आशंका बढ्यो 

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक समयसीमाभित्र नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्ने तत्परता नदेखाएपछि सरकार आशंकित बनेको छ । प्रतिनिधिसभा अन्त्य भइसकेको अवस्थामा नागरिकता विधेयकमाथि राजनीति गरेर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण धमिलो बनाउन खोजेको आशंका सत्ता गठबन्धन दलले गरेका छन् । यसैबीच कागे्रंसका नेता  मीन विश्वकर्माले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणित नगरेको खण्डमा कानुनी प्रक्रियामार्फत अगाडि बढ्न सक्ने संकेत गरे । रेडियो क्यान्डिको नियमित प्रस्तुती क्यान्डि टकमा कुरा गर्दै नेता विश्वकर्माले नागरिकता विधेयक प्रमाणिकरण नगरेको अवस्थामा, सरकारले यसलाई संविधान उल्लंघन गरेका ठहर गर्दै  अदालतमा रिट लिएर जान सक्ने बताए । 

५. अनशनरत केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु

धनगढीमा ९ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको  हो । यसअघि दुई टोलीबीच गत  आइतबार भएको वार्ता निष्कर्षविहीन बनेको थियो । स्वास्थ्य मन्त्रालयका टोलीसँग केसीका प्रतिनिधि  हिजो  पनि अनौपचारिक छलफलमा जुटेका थिए ।सरकारले कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ ।

६. नेपालमा डेंगी सङ्क्रमणबाट २१ जनाको मृत्यु 

नेपालमा  हालसम्म डेंगी सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमितको संख्या १७ हजार ४९४ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ  सबैभन्दा धेरै ललितपुरमा चार हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा चार हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी सङ्क्रमितको संख्या १० हजार २६५ पुगेको छ ।  उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ६१० जनामा संक्रमण देखिएको छ । डेंगीबाट जोगिने  लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्  । 

७. ट्राफिक प्रहरीले नाकामा विशेष जाँच गर्ने

ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारीसाधनबाट हुन सक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’ को व्यवस्था गर्न लागेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुंगा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायत स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिए । ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ ।

८. इरानमा सुरक्षा बलको गोली लागेर ५ जनाको मृत्यु 

प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । हेंगाउ  मानव अधिकार सङ्गठनले  सो  जानकारी दिएको हो । महसा अमिनीलाई प्रहरीले गिरफ्तार गरेपछि उनको मृत्यु भएको भन्दै प्रदर्शनकारीले विरोध गरेका थिए  । कुर्दिश अधिकार समूहका अनुसार घटनाप्रति कट्टरपन्थी सरकारविरुद्ध राष्ट्रव्यापी आक्रोश बढेको छ । आक्रोशलाई नियन्त्रण गर्ने प्रयासमा, आधिकारिक समाचार एजेन्सी आइआरएनएले सात प्रान्तका धेरै शहरहरूमा ‘सीमित’ विरोध प्रदर्शन भएको जनाएको छ  ।

९. नेपालले साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने

नेपालले साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । माल्दिभ्समा आयोजना हुने च्याम्पियनसिप यहीँ सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स जाने छन् । नेपाली टोलीलाई  आज सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे । 

१०. आईसीसी विश्वकप लिग टु : पपुवा न्युगिनी पराजित 

आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीलाई पराजित गरेको छ । पपुवा न्युगिनीको अमिनी पार्कमा  आज  भएको खेलमा नामिबिया १ सय ६७ रनले विजयी भएको हो । नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले  ४२.४ ओभरमा अलआउट हुँदै १ सय १८ रन मात्र बनायो । उसका लागि नर्मन भानुवाले ३८ तथा चार्ल्स अमिनीले २७ रन बनाए ।  हिरी हिरीले १३ तथा चाड सोपारले १२ रन बनाए । दामिन रभिले ११ तथा सेसे बाउले ६ रन बनाए । नामिबियाका लागि ब्रिनड स्कोलजले ३ तथा जान निकोल र  जान फ्रायलिंक समान २/२ विकेट लिए । कप्तान गेहार्ड इरास्मस तथा रुबेन ट्रपिलम्यानले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । जितसँगै नामिबियाको २१ खेलमा २४ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ । पपुवा न्युगिनी भने २३ खेलमा ५ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ४० बजे

आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक