अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प छैन : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् । आज काठमाडौँमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताए।

२. नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय सकियो
संघीय संसद्बाट दोस्रो पटक नागरिकता विधेयक पारित भएर राष्ट्रपति कार्यालय पुगेको आज १५ दिन पूरा भएको छ । यसअघि पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय पुगेको सो विधेयक उनले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएपछि गत २० भदौमा प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरी फेरि राष्ट्रपति कहाँ पठाएको हो। दोस्रो पटक पठाइएको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले लिएको समय आज १५ दिन नाघेको हो। पुनर्विचारका लागि १५ दिनको समय सीमा तोकिएकाले आजसम्म राष्ट्रपतिले निर्णय लिन सक्ने व्यवस्था रहेको छ ।  तर, राष्ट्रपति भण्डारी अझै पनि विधेयक ‘होल्ड’ मा राख्ने मनस्थितिमा रहेको निकट स्रोतले जनाएको छ ।

३. माइतीघरमा नागरिकताविहीनको धर्ना 
नागरिकताविहीन संघर्ष समितिले आज माइतीघर मण्डलामा धर्ना दिएको छ।नागरिकता विधेयक, २०७९ लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समिति आबद्ध व्यक्तिहरूले धर्ना दिएका हुन्। ‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म?’, ‘नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म?’ जस्ता ब्यानर र प्लेकार्डसहित समितिले धर्ना दिएको हो ।

४. नेप्सेमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार आठ ३७ दशमलव ६० मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक सात अङ्कले ओरालो लागेर तीन सय ५८ दशमलब ८७ मा सीमित भएको छ । कूल दुई सय ३१ कम्पनीको ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता शेयर रु एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भयो ।कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ६५ लाख ३३ हजार आठ सय २९ बराबरको कारोबार भयो । रिडी हाइड्रो पावर रु पाँच करोड ३५ लाख १३ हजार सात सय ४९, नवील बैंक रु चार करोड ७३ लाख ६५ हजार एक सय ८०, अरुण काबेली पावर रु तीन करोड २६ लाख दुई हजार सात सय ५८ र अपि पावर कम्पनी रु तीन करोड भार लाख ३७ हजार पाँच सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० तीन दशमलव ८७, आदर्श लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी एक दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले एक दशमलव ३८ प्रतिशतले कमाएका छन् ।यस्तै कालिका पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ । वरुण हाइड्रोपावर आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक सात दशमलव ९४, समृद्धि फाइनान्स छ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

५. नागरिकता विधेयक रोक्न परेको रिटको सुनुवाइ स्थगित
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को  प्रमाणीकरण रोक्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटको आजको सुनुवाइ स्थगित भएको छ । संघीय संसद्का दुवै सदनबाट पारित गरेर दोस्रो पटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्न आज पेसी चढाइएको थियो । तर, ‘हेर्न नमिल्ने’ कारण देखाएर सुनुवाइ स्थगित गरिएको छ ।

६. अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन
निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको हो ।असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ । आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाताका रूपमा सूचीकृत हुन पाउने छन् ।

७. अनसनरत डा. केसीको स्वास्थ्य बिग्रियो, काठमाडौँ ल्याउने तयारी
धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि काठमाडौँ ल्याउने तयारी भएको छ । अस्पताल प्रशासनले केसीको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं पठाउने तयारी गरेको छ । अनसनरत केसीले भने आफ्ना माग पूरा नभई काठमाडौँ नजाने अडान लिएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले काठमाडौँबाट जसरी भए पनि डा. केसीलाई पठाउन निर्देशन आइसकेकोले जबर्जस्ती भए पनि पठाउने बताए।

८. दसैँका लागि ८० प्रतिशत हवाई टिकट अग्रिम  बुकिङ
दसैँका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका अनुसार दसैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको हो । दसैँ आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

९. रुस र चीन सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउन सहमत
रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुद बनाउन सहमत भएका छन् ।रुसको राष्ट्रिय सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभको बेइजिङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति भएको हो । रणनीतिक साझेदारी गर्ने तथा आपसी सहयोगलाई अरु व्यापक बनाउने सहमति भएको बताइएको छ ।

१०. ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ ।एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।छनौट खेलहरू असोज पर्सि बिहीबारबाट एन्फा कम्प्लेक्समा सुरु भई कात्तिक २४ गतेसम्म चल्नेछ ।एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : १२ बजे

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री