विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज असोज ४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २०, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

अडियो सुन्नुहोस्-


बेलायती महारानीको अन्त्येष्टि सम्पन्न

हालै निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सम्पन्न भएको छ । राजधानी लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि कार्यक्रम गरिएको हो । महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल दरबारमा निधन भएको थियो ।

राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरी दिवंगत महारानीप्रति सम्मान गरिएको थियो ।

राजा चाल्र्स तृतीयले आमाको कफिन पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गर्दा उनलाई राजपरिवारका अन्य सदस्यले साथ दिएका थिए ।

बीबीसीका अनुसार महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले संगीतबद्ध रुपमा श्लोकहरू गाएका थिए जुन परम्परा १८ औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चल्दै आएको छ ।

प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरेकी थिइन । समारोहको अन्त्यमा दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो ।

महारानीको अन्त्येष्टिका लागि विभिन्न देशका प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिलेदेखि नै बेलायत आइपुगेका थिए ।

सन् १९६५ मा विन्स्टन चर्चिलपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो ।

राजकीय अन्त्येष्टिको दिन बेलायत सरकारले औपचारिक रूपमा बिदाको रूपमा घोषणा गरेको थियो ।

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतका विश्व नेताहरू लण्डन आइपुगेका थिए ।

महारानी एलिजाबेथको निधनमा शोक व्यक्त गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले महारानीको न्यानो मनस्थितिलाई स्मरण गर्दै भने, “उहाँको नरमपन र शिष्टताले विश्वलाई प्रभावित पारेको थियो । उहाँसँग भेट हुँदा उहाँले भन्ने गरेका ‘के तपाईं ठीक हुनुहुन्छ ? म तपाईंको लागि केही गर्न सक्छु ? तपाईंलाई के चाहिएको छ ?’ जस्ता उहाँका शब्दहरूले मलाई मेरी आमाको याद दिलाउँछ ।’

महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम बिदाइ गर्न ४८ घण्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका थिए ।

महारानीको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफेयरस्थित १७ ब्रुटन स्ट्रिटमा भएको थियो । उनी ड्यूक र डचेस अफ योर्ककी पहिलो सन्तान थिइन् ।

म्यान्मारको विद्यालयमा सेनाद्वारा लडाकु हेलिकोप्टरबाट आक्रमण

म्यान्मारमा सेनाको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । म्यान्मारको सेनाले उत्तरी म्यान्मारको गाउँमा लडाकु हेलिकोप्टरबाट आक्रमण गरेको जनाइएको छ ।

सेनाको आक्रमणबाट विद्यालयमा क्षति पुगेको जनाइएको छ । मारिनेमा सात जना बालबालिका समेत छन् ।

म्यान्मारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूका सहयोगीमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनस्थित लेट येट कोने गाउँमा ती बालबालिका मारिएका हुन् ।

प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो सबैभन्दा ठूलो हताहती हो ।

सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा शहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ ।

राष्ट्रसङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ जहाँ केयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झण्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् ।

जर्मन चान्सलर सोल्जले खाडी मुलुकको भ्रमण गर्ने

जर्मनीका चान्सलर ओलाफ सोल्ज खाडी मुलुकको भ्रमणमा जाने भएका छन् । खाडी मुलुकको भ्रमणका क्रममा उनले साउदी अरब पुगेर त्यहाँका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन् ।

आगामी साता उनी साउदी अरबसँगै कतार र संयुक्त अरब इमिरेट्स (युएई) पनि पुग्ने उनका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१८ मा वासिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आशङ्कामा बिन सलमानलाई केही समय अघिसम्म पश्चिम मुलुकहरुमा परायाको रुपमा हेरिन्थ्यो ।

तर, रुसले युक्रेनमाथि आक्रमण गरेको अवस्थामा रूसले युरोपतर्फ ग्यासको आपूर्तिमा कटौती गरेपछि युरोप र युरोपेली साझेदार मुलुकहरुले प्राकृतिक उर्जाको नयाँ स्रोतको खोजी गरिरहेका बेला सोल्जले खाडी मुलुकहरुको भ्रमण गर्न लागेका हुन् ।

सरकारी प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटका अनुसार एक व्यापारिक प्रतिनिधिमण्डलका साथ सोल्जले शनिबार साउदी अरबको भ्रमण गर्नेछन् । साउदी अरबमा रहँदा उनले युवराज बिन सलमानसँग भेट्नेछन् । उनले स्वास्थ्यमा प्रतिकूलता नरहेमा राजा सलमानसँग पनि भेट्ने बताइएको छ ।

प्रवक्ताले सोल्जको खाडी भ्रमणको कारणबारे विस्तृत जानकारी नदिए पनि ऊर्जाको विषयमा छलफल नभए आफू ‘निकै आश्चर्यचकित’ हुने प्रतिक्रिया दिए ।

प्रवक्ताले खशोग्गीको हत्याको विषयमा छलफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।

गत जुलाईमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि फ्रान्सको राजधानी पेरिसमा बिन सलमानसँग वार्ता गरेका थिए भने अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि केही समयअघि साउदी अरबको भ्रमण गरेका थिए ।

आइतबार सोल्जले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानसँग भेटवार्ता गर्नेछन् । जर्मन अर्थमन्त्री रोबर्ट हेबेकले रूसको ऊर्जा आपूर्तिको प्रमुख विकल्पका रुपमा हेरिएको ग्याससँग सम्बन्धित सम्झौतामा सोल्जले हस्ताक्षर गर्ने अपेक्षा गरिएको बताएका छन् ।

अपरान्ह चान्सलरले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । रूसी ग्यासको विकल्प खोज्ने प्रयासमा हेबेकले मार्चमा कतार र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गरिसकेका छन् ।

आपूर्ति कटौती गर्ने रूसको निर्णयले युरोपमा ऊर्जा सङ्कट निम्त्याएको छ, उपभोक्ता र व्यवसायहरूले जाडो नजिकिदै जाँदा बढ्दो खर्चहरूको सामना गरिरहेका छन् ।

बिहारमा चट्याङबाट २१ जनाको मृत्यु

नेपालसँग सीमा जोडिएको भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा वर्षासँगै चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको छ ।

बिहारका विभिन्न स्थानमा चट्याङबाट २१ जनाको मृत्यु भएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । कृषिकर्ममा व्यस्त भएका बेला चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

बिहारका १०जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जना रहेको बिहारको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसैबीच, बिहार राज्यका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

साथै उनले सबै राज्यवासीलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन् ।

अमेरिकासँग व्यापार सम्झौताको अपेक्षा छैन : बेलायती प्रधानमन्त्री ट्रस

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने आफूले अपेक्षा नगरेको बताएकी छिन् ।

बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमाणका क्रममा अमेरिका पुगेकी उनले आफ्नो भ्रमण दलमा रहेका पत्रकाररूसँग विमानमा कुरा गर्दै वर्षौँसम्म बेलायत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने बताइन् । अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उनले बताइन् ।

संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेकी उनले कन्जरभेटिभ पार्टीका आफ्ना पूर्ववर्ती बोरि जोनसन र टेरेसा मेका अडान विपरीत अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिएकी छैनन् ।

बेलायत युरोपेली सङ्घबाट बाहिरिँदा दुबै पूर्ववर्ती प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रधामन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत खाडी सहयोग परिषद् जीसीसीका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताइन् ।

दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हालेकी उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूबीच यसअघि गत सोमबार महारानी एलिजाबेथको अन्त्येष्टिका बेला लण्डनमा भेट भएको थियो ।

राष्ट्रपति बाइडेनसँग बुधबार हुने भेटले अधिनायकवादीहरूका विरुद्ध बेलायत र अमेरिका एकसाथ रहेका तथा युक्रेनमा जारी रूसी आक्रमणविरुद्ध सामुहिक रूपमा उभिन बेलायत र अमेरिका समर्थ छन् भन्ने सन्देश गर्ने प्रधानमन्त्री ट्रसले बताइन् ।

युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्वव्यापी रूपमा उत्पन्न चुनौती समान गर्न अमेरिकाजस्ता सहयोगीका साथै फ्रान्स, युरोपेली सङ्घ, बाल्टिक देशसँग सहकार्य गर्न चाहेको उनले बताइन् । बेलायत र अमेरिकाले युक्रेन युद्ध, रूस र चीनप्रति समान धारणा एवम् अडान राखेका छन् ।

पाकिस्तानमा बाढी : थप १५ जनाको मृत्यु

पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउनेमध्ये एक शिशु र तीन जना महिला छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीजन्य घटनामा हालसम्म एक हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ । बाढीजन्य घटनामा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन् ।

देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा नौ लाख ७३ हजार छ सय ३२ चौपाया मरेका छन् ।

बाढीले १२ हजार सात सय १६ किलोमिटर सडक र तीन सय ७४ वटा पुलमा क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखियो

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ ।

केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा मङ्किपक्स पुष्टि भएको छ । मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्य लाभ गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्किपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपचारका निम्ति उपलब्ध एक मात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन् ।

मेक्सिकोमा भूकम्प

ल्याटिन अमेरिकी मुलुक मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा राजधानी मेक्सिको सिटीमा सयौं माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ।

भूकम्पको केन्द्रबिन्दु प्रशान्त महासागरको तटमा रहेको मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर (३७ माइल) दक्षिणमा र मेक्सिको सिटीबाट सयौं किलोमिटर पश्चिममा रहेको भूकम्पविद्हरूले बताएका छन् ।

मेक्सिको सिटीको भूकम्पको अलार्म राजधानीले आपतकालीन प्रकोप अभ्यास गरेको एक घण्टा नहुँदै बजेको थियो, जसले मानिसहरु फेरि सडकतर्फ भागेका थिए ।

भारतमा एकैदिन ४ हजार ८ सय नयाँ कोरोना संक्रमित भेटिए

एकै दिनमा ४ हजार ८ सय ५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४ करोड ४५ लाख ३९ हजार ४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार २७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३ सय ३५ पुगेको छ ।

कुल संक्रमितको शून्य दशमलब ११ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलव ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब७८ प्रतिशत छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : २१ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले