'प्रकृति संरक्षणमा अन्तरनिकायबीच समन्वय र सहजीकरण आवश्यक'  | Khabarhub Khabarhub

‘प्रकृति संरक्षणमा अन्तरनिकायबीच समन्वय र सहजीकरण आवश्यक’ 


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका उनले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा धेरै काम गर्नुपर्ने उल्लेख गर्दै यसबाट नेपाल र नेपालीले धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालको मनोरम हिमशृङ्खला, तराईदेखि हिमालसम्मको भौगोलिक विविधता एवं संस्कृति र यहाँ पाइने वन्यजन्तु तथा चराचुरुङ्गीजस्ता प्रकृतिको गहनाका रुपमा रहेको उल्लेख गर्दै प्रकृति संरक्षण तथा जैविक विविधताको माध्यमबाट नेपालको पर्यटन विकास र समृद्धिको महत्वपूर्ण आधार हुन पुगेको बताए ।

कोषका संरक्षकसमेत रहेका उनले नेपालले बाघ संरक्षणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको जनाउँदै पछिल्ला वर्षमा नेपालबाट अन्तर्राष्ट्रिय समुदायसामु सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरे। ‘सन् २०१० मा बाघको सङ्ख्या एक सय २१ लाई दोब्बर बनाएर दुई सय ५० पुर्‍याउने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता थियो । त्यसमा नेपाललाई अपार सफलता मिलेको छ । अब, हामीले बाघको सङ्ख्या त बढायौँ पछिल्ला दिनमा मानव-वन्यजन्तुद्वन्द्व बढिरहेको अवस्थामा यस चुनौतीका बिचमा हामीले असीमित सम्भावना खोज्न जरुरी छ’, उनले भने । 

प्रधानमन्त्री देउवाले मुलुकको दिगो विकाससँग प्रकृति र जैविक विविधता संरक्षण प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै योसँग जोडिएर संरक्षणसम्बन्धी ठोस् तथा उपलब्धिमूलक कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले कोषले समुदायमा आधारित संरक्षणको अभ्यास गर्दै नयाँ अभ्यास अपनाउन सफल भएको बताउँदै संरक्षण क्षेत्रको व्यवस्थापनमा अन्नपूर्ण संरक्षण क्षेत्रको मोडेल विश्वप्रसिद्ध रहेको धारणा व्यक्त गरे ।

 कोषले संरक्षण क्षेत्र व्यवस्थापनमा जनसहभागितामा आधारित संरक्षण र वन्यजन्तुको अध्ययन अनुसन्धानमा पुर्‍याएको योगदान विश्वमै ख्याति रहेको बताउँदै उनले नेपालको कूल भू- भागमध्ये संरक्षित क्षेत्रले ओगटेको २३ दशमलव ३९ प्रतिशत भू-भागलाई वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । कोषले आफ्नो गौरवशाली इतिहासमा सदरचिडियाखानाको व्यवस्थापनमा पुर्‍याएको योगदान स्मरणीय रहेको बताउँदै उनले यो चिडियाखानालाई संरक्षण शिक्षा केन्द्रका रुपमा राख्दै भक्तपुरको सूर्यविनायकलाई अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यानमा विकास गर्नेगरी कार्य भइरहेकामा यसलाई तदारुकताकासाथ अघि बढाउन निर्देशन दिए ।

कोषले जलवायु परिवर्तनको क्षेत्रमा जलवायु वित्त संयन्त्रमा प्रवेश गरी यस क्षेत्रको हरित जलवायु कोषको रुपमा मान्यता प्राप्त गरिसकेको सन्दर्भमा सम्बन्धन प्राप्त निकायका रुपमा मुलुकको जलवायु अनुकूलन र न्यूनीकरणका लागि परियोजना भित्र्याउन सहज वातावरण निर्माण भएको उनको भनाइ छ । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रकृति संरक्षण, वन्यजन्तु एवं जैविक विविधताको प्रवर्द्धनमा कोषले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अन्तर निकायबीच समन्वय गरेर प्रकृति संरक्षणको कामलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वमन्त्री दीपक ज्ञवाली, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेल, कोषका अध्यक्ष डा कृष्णप्रसाद आचार्य र सदस्यसचिव शरद अधिकारीलगायतले संरक्षणको क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि विश्व समुदायका लागि उदाहरणीय रहेको भन्दै आगामी दिनमा प्रकृति तथा जैविक विविधता सम्पदाको संरक्षणलाई आधुनिक ढङ्गले अघि बढाइनुपर्ने बताए ।

प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले विसं २०३९ मा राष्ट्रिय प्रकृति कोष स्थापना गरिएको थियो । अन्नपूर्णलगायत तीन संरक्षित क्षेत्रको व्यवस्थापन कोषबाट हुँदै आएको छ । ‘संरक्षणका चार दशकः गौरवमय इतिहास र अबको बाटो’ भन्ने नाराका साथ कोषले वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा प्रकृति, वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वनाथ उप्रेतीलाई रु एक लाख २५ हजार राशिको कोषको संरक्षक संरक्षण पुरस्कारबाट सम्मान गरिएको छ । पुरस्कृत उप्रेतीलाई प्रधानमन्त्री देउवाले नगदसहित दोसल्ला र कदर-पत्रद्वारा सम्मान गर्नुभएको थियो । कोषले वन्यजन्तु संरक्षणमा योगदान  पुर्‍याउने विभिन्न निकाय तथा व्यक्तिलाई पनि कदर-पत्रबाट सम्मान गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १ : ४२ बजे

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय