डेङ्गुको जोखिम कायमै « Khabarhub

डेङ्गुको जोखिम कायमै


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेङ्गुका बिरामी छन् । 

जसमध्ये धनगढी उपमहानगरपालिकामा एक सय ४१ डेङ्गुका बिरामी छन् । सबै भन्दा कम मोहन्याल गाउँपालिकामा तीन जना छन् । घोडाघोडी नगरपालिका र जानकी  गाउँपालिकामा चार/चार जना छन् ।

लम्कीचुहा नगरपालिकामा एक सय १३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए । गौरीगङ्गा नगरपालिकामा सात, भजनी नगरपालिकामा पाँच, जोशीपुर गाउँपालिकामा छ डेङ्गुका बिरामी छन् । कैलारी गाउँपालिका र चुरे गाउँपालिकामा अहिलेसम्म डेङ्गुका बिरामी शून्य रहेको जनाइएको छ ।

जिल्लामा डेङ्गुबाट उपचारका क्रममा दुई जनाको मृत्यु भइसकेको छ । धनगढी उपमहानगरपालिका –१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेखित छ ।

असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ । कैलालीमा डेङ्गुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताए । सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरिको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेङ्गु नियन्त्रणको उपाय रहेको उनले बताए । डेङ्गु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ । 

यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । यो एडिस एजप्टाई/एलबोपिक्टस जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्छ । यो लामखुट्टेलाई टाइगर मसकुइटो पनि भनिन्छ ।

धनगढी उपमहानगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण पुनः फैलिन सक्ने भन्दै लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असोज मसान्ततिर लगातार परेको पानीका कारणले गर्दा केही न्यून भएको डेङ्गु रोगको सङ्क्रमण पुनः फैलिनसक्ने खतरा बढेकोले लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह गरेको हो । घर, अफिस तथा समुदायका अन्य स्थानमा लामखुट्टे लार्भा उत्पादन गर्न सक्ने सम्भावित स्थान परिचालन गरी डेङ्गु रोग गराउने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न धनगढी उपमहानगरपालिकाभित्रका १९ वटै वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई आग्रह  गरिएको छ । 

अभियानमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, आमा समूह, वडा क्लब परिचालन गरी सञ्चालन गर्न पनि भनिएको छ । एक उपमहानगरपालिकाले यसअघि पनि धनगढीका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकासहित वडाका टोलटोलमा डेङ्गुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  १ : ५४ बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको