तरकारी व्यापारले फेरिएको महिलाको जीवनस्तर | Khabarhub Khabarhub

तरकारी व्यापारले फेरिएको महिलाको जीवनस्तर


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– केही वर्षअघिसम्म गाउँको साहुमहाजनमा बनिबुतो गरी परिवारको गुजारा गर्दै आएकी सप्तरी  डाँक्नेश्वरी नगरपालिका–१ कबिलासाकी सुर्तीदेवी सदालाई आजभोलि बजारमा तरकारी पुर्‍याउन भ्याननभ्याइ छ । सामान्य लेखपढ गर्नसमेत नजानेकी सुर्तिदेवीलाई अहिले बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र गाउँ नजिकैको सहरमा कतिबेला पुर्‍याउने भन्ने हतारो हुन्छ । 

दुई वर्षअघिसम्म रकमको अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी सदालाई अहिले भने तरकारी खरिद बिक्रीलाई आफ्नो आयआर्जनको राम्रो आधार बनाएकी छिन् । आयआर्जनको गतिलो आधारसँगै उनको जीवनमा परिवर्तन मात्र होइन् परिवारको पहिचानसमेत फेरिएको छ । आयआर्जनको ठोस् आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहुमहाजन कहाँ हरवा चरवाको रुपमा बनिबुतो गर्दै आएको विगतको अतित सम्झिँदै उनले भनिन्, ‘पहिले ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौधौ हुन्थ्यो ।’ 

हरवाचरवाको रुपमा काम गर्दा मात्र तीन किलो धान मात्र ज्याला पाउथ्ये, त्यसकारण परिवार चलाउन समस्या हुन्थ्यो । उनले भनिन् ,’तर अब मेरो त्यो दुःखको दिन हट्यो ।’ अहिले तरकारी व्यापार गरेरै पाँच जनाको उनको परिवार चलेको छ । दुई वर्षदेखि तरकारीको व्यवसाय सुरु गरेकी उनले परिवारको गुजारा चलाउनु मात्रै होइन्, छोराछोरीलाई नजिकै विद्यालयमा पढाउँदै आएकी छिन् । त्यति मात्रै होइन्, त्यही तरकारी व्यापारबाट १० धुर जग्गासमेत जाेडेकी छिन् ।

सधैँ घरबाट निस्कन र बोल्न लजाउने स्वभावकी स्थानीय वसन्तीदेवी सदालाई पनि यतिबेला मौसम अनुसारको हरियो तरकारी खरिदबिक्री गर्न भ्याइनभ्याइ छ । श्रीमानको मृत्युपछि आर्थिक रुपमा कष्टपूर्ण जीवन बिताइरहेकी वसन्तीदेवीको तरकारी व्यापारबाट राम्रो आम्दानी हुन थालेसँगै जीवनयापन सहज बनेको छ । 

‘पतिको मृत्युपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता थियो’, वसन्तीदेवीले भनिन् ,’तर विगत दुई वर्षदेखि तरकारी व्यापार सुरु गरेपछि अहिले त्यो चिन्ता हटेको छ, राम्रो आम्दानी हुन थालेपछि आफ्नो दुःखको दिन टरेको महसुस भइरहेको छ ।’ 

समान्य घरायसी गर्जो टार्न समेत साहु महाजनसँग ऋण माग्न बाध्य सोही ठाउँकी कुशेश्वरी सदाको त्यो समस्या टरेको छ । सुर्तिदेवीवसन्तीदेवी जस्तै कुशेश्वरी सदा पनि तरकारीको व्यापार थालेपछि परिवारको गर्जो टार्न साहुमहाजनसँग ऋण काट्नुपर्ने बाध्यता हटेको बताउँछिन् । 

अशिक्षा र अज्ञानताका कारण आर्थिक विपन्ता झेल्दै आएका सो दलित बस्तीका महिलाको जीवनमा उनीहरुकै अग्रसरताबाट गठन भएको समूहबाट आएको हो । ‘सुरु सुरुमा म धेरै लजाउँथे, के गरौँ–नगरौँ भन्ने थाहै थिएन्, सधैँ मजदुरी गरेर जेनतेन परिवार मात्रै पाल्थे’, कुशेश्वरीले भनिन्,’तर, जब गाउँमा हरवाचरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला समूह बनाएर बचत तथा ऋण गरे, तबदेखि मेरो जीवनमा परिवर्तन आयो ।’ 

‘द’ फ्रिड्म फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा सञ्चालित हरवारचवा सशक्तीकरण कार्यक्रम अन्तर्गत गठित महादेव हरवाचरवा बचत तथा ऋण समूहमा आवद्ध भएकी कुशेश्वरीले पाँच हजार अनुदान सहयोगमा दुईबर्ष अघिबाट तरकारी व्यापार सुरु गरेकी छिन् । उनीहरु राजविराज, सिरहाको लहान, गोलबजार, धनगढीमाई लगायतको बजारबाट सस्तोमा तरकारी खरिद गरी स्थानीय पातो, तरही, मधुवनी , ब्रहमपुरलगायतको बजारमा तरकारी व्यापार गर्दै आएकी छिन् । 

‘अहिले त्यही व्यापारबाट दैनिक तीन सय  देखि एक हजारसम्म नाफा भइरहेको छ’, कुशेश्वरीदेवीले भनिन् ,’तरकारी व्यापारबाट हुने कमाइले परिवारको गुजारा चलाउनेदेखि मासिक बचतसमेत गर्दै आएकी छु ।’ व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उनको भनाइ छ ।

‘सुरु सुरुमा तरकारी व्यापार गर्न लाज लाग्दै थियो’, वसन्तीदेवीले भनिन्, ‘तर केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत साना व्यापारसम्बन्धी प्रशिक्षण लिएपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मानेरै भए पनि तरकारी किनबेचलाई निरन्तरता दिँदै आएकी छु ।’ 

अहिले पति बैधनाथहित परिवारका सदस्यबाटसमेत व्यापारमा राम्रो साथ पाइरहेको उनले सुनाइन्। तरकारी व्यापारका कारण अहिले साहुमहाजनको ऋणबाट मुक्तिबाट मात्र होइन् गरिबी जीवनबाटसमेत छुटकारा पाएको अनुभव हुँदै गएको सुर्तिदेवीको भनाइ छ । दलित बस्तीका महिलाको कामबाट आफूहरू उत्साहित भएको सुनाउँदै श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदाले भने, ‘मैथिलीमा एउटा भनाइ छ, जेने करे कपार, से करे व्यापार  हो रहेछ, त्यो मैले महसुस गरेँ ।’ 

महादेव हरवाचरवा  ऋण तथा बचत समहूमा दलित हरवाचरवा परिवारका ४३  जना आवद्ध रहेको समूहका अध्यक्ष कैलु सदाले बताए । समूहमा आवद्ध महिला तथा पुरुष आफ्नो कमाइबाट भएको आम्दानीमध्ये मासिक ५० का दरले बचत गर्छन् । आर्थिक समस्यामा परेका सदस्यलाई बैठकबाट ऋण दिने  र लगानी गर्ने गरेको उनको भनाइ छ । गत २०७८ सालमा गठन भएको सो बचत तथा ऋण समूहमा हाल रु १६ हजार बचत भएको र त्यसमध्ये रु १४ हजार समूहमा लगानी रहेको सचिव चन्द्रकान्त सदाले बताए। निकट भविष्यमै सहकारीमा दर्ता गराउने तयारी गरेको छ ।

–राजु विश्वकर्मा रासस

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ३ : ०० बजे

सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गा लागेर मजदुरको मृत्यु

काठमाडौं । मकवानपुरको बकैया खण्डमा निर्माण हुँदै गरेको द्रुतमार्गमा पर्ने

परराष्ट्रमन्त्री राणासँग युएइ र इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त

विमान दुर्घटनाप्रति बागमती प्रदेश प्रमुख शर्माद्वारा शोक व्यक्त

बागमती– सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको निधन भएकोप्रति

रौतहटबाट अवैध सालको काठ बरामद

रौतहट – रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन

सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – गृहमन्त्री रमेश लेखकले सहिद मुकेश कायस्थको परिवारले राज्यबाट