नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

उम्मेदवारहरूलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरियोः निर्वाचन आयोग
निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरूलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ । आज काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताए ।

बहालमा रहेकै अवस्थामा उम्मेद्वार बन्दा राज्यको स्रोतसधान उपयोग गर्ने सम्भावना देखिएको र त्यही स्वस्थ प्रतिपर्धा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको पनि उनले बताए ।

तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताए ।

‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो’ भन्दै उहाँले सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय नभएको प्रतिक्रिया दिए । देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा सबै लाग्नुपर्नेमा पनि जोड दिए ।

वैशाख ९ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने एमाले पोलिटब्युरो बैठकको निर्णय
प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवार छनौटसम्बन्धी मापदण्डमा सामान्य हेरफेर गर्ने निर्णय गरेको छ । आज काठमाडौँमा बसेको एमाले पोलिटव्युरो बैठकले आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गर्ने निर्णय गरेको हो ।

बैठकले उम्मेदवार छनौटका लागि ६ बुँदे मापदण्ड तयार गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यस्तै बैठकले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने तय भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाप्रति एमाले अध्यक्ष ओलीको आपत्ति
नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका प्रति आपत्ती जनाएका छन् । काठमाडौंमा आज बसेको एमाले पोलिटव्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरूले राजीनामा दिनुपर्ने लगाएतका आयोगको व्यवस्थाप्रति आपत्ति जनाए ।

ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने प्रावधान उचित नरहेको भन्दै आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको धारणा राखे । उनले स्थानीय तह निर्वाचनको तयारीका विषयमा आयोगले गठबन्धन दलसँग मात्र परामर्श लिएको आरोप लगाए ।

५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि मनाइयो
५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । दिवसका अवसरमा बिभिन्न संघ संस्थाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपदेखि शान्तिबाटीकासम्म प्रभातफेरीको आयोजना गरेका थिए ।

सरकारद्धारा राजस्व बाँडफाँड र अनुदान वितरणको सीमा स्वीकृत
सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा लगायत अनुदान वितरणको सीमा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक बर्ष २०७९/८० का लािग प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा, हिस्सा तथा वित्तिय समानिकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

मन्त्रिपरिषद्ले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको महाप्रबन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गरेको छ भने बिद्युत नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंंगोललाई नियुक्त गरेको छ ।

चिनियाँ विदेशमन्त्री यी नेपाल भ्रमणमा आउँदै
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । विदेशमन्त्री वाङ परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा लगायत शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै परराष्ट्रमन्त्री खड्कासँग चैत १२ गते दुई पक्षीय भेटवार्ता हुने जनाइएको छ । भ्रमणका क्रममा वाङले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ७८ पीसीआर परीक्षणका क्रममा ४१ जना र १ हजार ७ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज १ सय ४७ जना कोरोना मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६३ हजार १ सय ११ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ललितपुरमा करणी आरोपमा एक जना पक्राउ
ललितपुरमा एक किशोरीलाई बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका–४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा बलात्कार गरेको ती किशोरीको आरोप छ ।महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध छिञ्चु बजार र सुर्खेत–नेपालगञ्ज सडक खुल्यो
टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि अवरुद्ध छिञ्चु बजार र सुर्खेत–नेपालगञ्ज सडक खुलेको छ ।

क्षतिपूर्ती र दोषीलाई कारबाहीको विषयमा सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । गत शनिबार लेकवेशी नगरपालिका–५ नेटाकी १७ वर्षीया लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट वीरेन्द्रनगरमा मृत्यु भएको थियो ।

दुई वर्षअघि बुढानिलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर
दुई वर्षअघि काठमाडौँको बूढानीलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर भएका छन् । आज काठमाडौँ जिल्ला अदालतले आंशिक दाबी पुग्ने भन्दै दोषी ठहर गरेको हो ।

आज न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासमा परेको सो मुद्दाको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको थियो । आज बहस सकिएपछि काठमाडौँ जिल्ला अदालतले आंशिक दाबी पुग्ने ठहर गरेको हो । चालकले लापरवाहीपूर्वक सवारीसाधन चलाएको पुष्टि भएको कारण उनलाई ६ महिना कैद र एकहजार रुपैयाँ जरिवानाको फैसला गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

मोरङमा महिला प्रहरीको हत्या भएपछि प्रहरीद्वारा छानबिन सुरु
मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या भएपछि प्रहरीले छानबिन सुरु गरेको छ ।घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आज आठ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिए ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा हिजो भएको छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सो घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

कास्कीमा आमाको हत्या आरोपमा पक्राउ
कास्कीको पोखरामा वृद्धाको हत्या आरोपमा मृतकका छोरासहित दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपालीको हत्याको आरोपमा ३६ वर्षीय ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार उनको शव आफनै कोठामा मृत अवस्थामा फेला परेको थियो । आमाले जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा सहयोग मागेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

नाबालिका करणी आरोपमा पलको अनुसन्धान सकियो
नाबालिका गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको जनाएको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।शाह गत फागुन १५ देखि प्रहरी हिरासतमा छन् ।

शेयर बजार परिसूचक नेप्से आज दोहोरो अकंले वृद्धि
कारोबारको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से आज दोहोरो अकंले बढेको छ । नेप्से आज १७ दशमलव ९९ अंकले बढेर २ हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको हो । आज ५१ लाख ८९ हजार ८३ कित्ता सेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँमा कारोबार भएको छ । आज इमर्जिङ नेपालको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै ङादी ग्रुप पावरको मूल्य ७.६ प्रतिशत बढ्को छ ।

नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा टेलिकम, अरुण भ्याली, जीवन विकास लघुवित्त, अपी पावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा नै नेपालको कुल वैदेशिक व्यापार साढे १४ खर्ब नाघ्यो
चालु आर्थिक वर्षको ८ महिनामा नै नेपालको कुल वैदेशिक व्यापार साढे १४ खर्ब नाघेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क सार्वजनिक गरेको हो ।

फागुन मसान्तसम्म नेपालको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड पुग्दा व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.१२ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा ३४.५० प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा नेपालको कुल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७७ करोड रहेको थियो भने व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ३२ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा