वैदेशिक रोजगारी अहिले नेपाली समाज र राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख अङ्गको रूपमा स्थापित भइसकेको छ । स्वदेशमा रोजगारीको अवसर कम भएका कारण गुजाराका लागि विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ ।
अडियोमा सुन्नुहोस्:
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल दैनिक एक हजार नेपाली युवा रोजगारीका लागि विदेश जाने गरिरहेका छन् । हाल बत्तीस लाखभन्दा बढी नेपाल वैदेशिक श्रम वा रोजगारीमा छन् । साथै, अनौपचारिक रुपमा साठी लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत रहेको अनुमान छ । गत आ.व. मा मात्र १६६,६९८ जना वैदेशिक रोजगारीमा गएका थिए ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६-७७ मा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स (विप्रेषण) ले मुलुकको कुल गार्हस्थ उत्पादनको २८.०० प्रतिशत हिस्सा ओगटेको छ । रेमिटेन्सको रकम नेपालको ५६ प्रतिशत घरधुरीमा पुग्ने गरेको छ ।
नेपालमा वैदेशिक रोजगारी अहिले व्यापक हुँदै आएको भए पनि यसको इतिहास भने निकै लामो देखिन्छ । सातौँ शताब्दीका लिच्छवी राजा अंशुवर्माका पालामा पाटनका युवा कलाकार अरनिको चीन गएर बौद्ध सम्पदा निर्माणसम्बन्धी काम गरेको इतिहास छ ।
त्यतिबेला अरनिकोसँगै अरु पनि केही कालिगढहरू चीन गएर चैत्य, स्तुपा, मन्दिरजस्ता सम्पदाहरू निर्माण गरेका थिए । त्यसैले कलाकार अरनिको र उनको टोलीलाई वैदेशिक रोजगारीमा जाने पहिलो नेपाली भन्ने गरिन्छ । त्यसपछि सन् १८१६ मा तत्कालीन इष्ट इण्डिया कम्पनीसँग भएको सुगौली सन्धिपश्चात् नेपाली युवालाई बेलायती सेनामा भर्ती गराई विदेश लाने चलन सुरु भयो । यहीँबाट नेपालमा संस्थागत रुपमै वैदेशिक रोजगारीमा जाने चलन सुरु भएको मान्यता छ ।
खाडी मुलुकहरूमा औद्योगिकीकरण सुरु भएपछि नेपाली युवाहरू ती देशहरूमा गई रोजगारी गर्ने चलन पनि बढ्न थाल्यो । यसै कार्यलाई नियमन गर्न वि. सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भयो । वैदेशिक रोजगारीमा जानेहरूको संख्या अत्यधिक बढ्न थालेपछि सरकारले उक्त ऐन खारेज गरी २०६४ सालमा नयाँ ऐन ल्यायो । अहिले यही ऐन र यसैअन्तर्गत बनाइएका विभिन्न विनियम, निर्देशिकाहरूमा आधारित भई वैदेशिक रोजगारीसम्बन्धी कार्यहरू सञ्चालन भइरहेका छन् ।
वैदेशिक रोजगारीबाट अहिले नेपाली अर्थतन्त्र र समाजले ठूलो लाभ लिइरहेको भए पनि यस क्षेत्रमा जाने बेलाको गलत सूचना तथा ज्ञानको अभावका कारण समाजमा विभिन्न किसिमका विकृति र समस्याहरू पनि बढिरहेको पाइन्छ । तीसमस्याहरूमध्ये वैदेशिक रोजगारीका नाममा गरिने ठगी पनि हो । रोजगारी आवश्यक भएका युवाहरूलाई विदेशमा राम्रो ठाउँमा काम लगाइदिन्छु भनी पैसा लिएर भाग्ने, नेपालबाट राम्रो ठाउँ भनी विदेश पठाएर उता अलपत्र पारिदिने, यता एक प्रकारको काम भन्ने र उता पुगेपछि अर्कै प्रकारको काम गराउने, यता बढी पैसा दिन्छु भन्ने तर उता पुगेपछि भनिए जति पैसा नदिनेजस्ता विभिन्न ठगीका घटनाहरू हुने गरेका छन् ।
मलेसियामा व्यवसाय गरिरहेका गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य रमेश तिवारीका अनुसार काम नपाएकालाई मात्र होइन कुनै कम्पनीमा काम गरिरहेकै मजदुरहरूलाई समेत अर्को राम्रो ठाउँमा काम लगाइदिन्छु भनी पैसा ठग्ने मानिसहरू मलेसियामा छन् । केही समयअघि मात्रै त्यहाँ कार्यरत आठ जना नेपाली कामदारहरूलाई त्यहाँभन्दा राम्रो र बढी पैसा आउने ठाउँमा काम लगाइदिन्छु भनी जनही ८० हजार रुपैयाँ ठगेर भाग्ने काम भयो ।
काम दाम कानुन र देश, सबै जानकारी लिएर मात्र रोजगारीमा जानु वेश !
त्यसरी पैसा उठाएपछि उनीहरू सम्पर्कविहीन हुन्छन् । र, मलेसियामा उनीहरूलाई खोज्न पनि सकिँदैन । कतिपय नेपालीहरू पर्यटन प्रवेशाज्ञा (भिजिट भिसा) मा विदेशमा जाने र त्यहाँ केही समय काम गरेपछि भिसाको म्याद सकियो भन्दै फिर्ता हुनुपर्ने घटनाहरू पनि भएका छन् ।
यसरी वैदेशिक रोजगारीका नाममा कामदारलाई ठग्ने, विदेशी भूमिमा लगेर अलपत्र पार्ने, झुक्क्याएर कठोर प्रकारका श्रम गराउने, श्रम शोषण गर्ने, गराउने काम पनि मूलतः मानव बेचबिखनकै एउटा प्रकार हो ।
वैदेशिक रोजगारीमा खास गरी अशिक्षित वर्ग, चेतनाको कमी भएका व्यक्तिहरू यस प्रकारको ठगीमा पर्ने सम्भावना बढी हुन्छ । सुरक्षित रोजगारीबारे जानकारीको कमीका कारण वैदेशिक रोजगारीमा जाने वा जान चाहने धेरै व्यक्तिहरू मानव बेचबिखन र ठगीको सिकार हुने गरेका छन् ।
गरिबी र बेरोजगारीका कारण जीविकोपार्जनको समस्या भएका व्यक्तिहरूमा यस्तो जोखिम अझ बढी हुन्छ । समस्या र बाध्यताका कारण उनीहरूले आफू जान लागेको देश र त्यहाँ गएर आफूले गर्नुपर्ने कामको प्रकृतिबारे बुझ्नुपर्छ भनी थाहा नभएको पनि हुन सक्छ । तर यसरी कुनै पूर्वजानकारी नलिई सही कानुनी प्रक्रिया पनि पूरा नगरी वैदेशिक रोजगारीमा जाँदा विभिन्न प्रकारका समस्याहरू झेल्नुपर्ने हुन्छ ।
जस्तो वैदेशिक रोजगारीमा लाने बिचौलियाबाटै ठगिने, मानव बेचबिखनमा पर्ने, तोकिएकोभन्दा जोखिमपूर्ण काम गर्नुपर्ने र तोकिएकोभन्दा कम पारिश्रमिक पाइने, पक्राउ वा थुनामा पर्नसक्ने, दुर्घटना भएमा वा कुनै प्रकारले मृत्यु भएमा उद्धार गर्न समस्या हुने, रोजगारीको क्रममा शारीरिक, आर्थिक, मानसिक वा अन्य शोषण हुनसक्ने, राज्यबाट प्राप्त हुने सुविधाहरूबाट वञ्चित हुनेजस्ता समस्याहरू हुन्छन् ।
जान चाहेको देश, कम्पनी, काम गर्ने पद र पेसा, तलब, भत्ता, अन्य सुविधा र सेवा सर्तहरूबारे चित्त बुझेमा मात्र राजीखुसी साथ सम्झौता पत्रमा सही गर्नुपर्दछ ।
वि. सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भयो । वैदेशिक रोजगारीमा जानेहरूको संख्या अत्यधिक बढ्न थालेपछि सरकारले उक्त ऐन खारेज गरी वैदेशिक रोजगार ऐन २०६४ ल्यायो । यही ऐन र यसैअन्तर्गत बनाइएका विभिन्न विनियम र निर्देशिकामा आधारित भई वैदेशिक रोजगारीसम्बन्धी कार्यहरू सञ्चालन भइरहेका छन् । यस ऐनबमोजिम इजाजतपत्र नलिई कसैले पनि वैदेशिक रोजगारी व्यवसाय सञ्चालन गर्न पाउने छैन ।
व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान सक्ने प्रावधान पनि यस ऐनमा छ, जसअनुसार कुनै व्यक्ति वैदेशिक रोजगारीको निमित्त व्यक्तिगत रुपमा विदेश जान चाहेने व्यक्तिहरुले यी कुराहरु खुलाई वैदेशिक रोजगार विभागसमक्ष स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ – (क) रोजगारको लागि जान चाहेको मुलुक, (ख) विदेशमा गर्नु पर्ने कामको प्रकृति, (ग) रोजगारीदाता संस्थाले दिएको स्वीकृति पत्र, (घ) रोजगारीका सर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र, (ङ) अभिमुखीकरण तालिम प्राप्त गरेको प्रमाणपत्र, (च) निरोगिताको प्रमाणपत्र । तर, कुनै पनि इजाजतपत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाउन पाउने छैन ।
त्यसै गरी, यस ऐनले वैदेशिक रोजगारीमा जान स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने र रोजगारीदाता संस्था वा निजको प्रतिनिधि र कामदार तथा इजाजतपत्रवाला र कामदारबीच वैदेशिक रोजगारका लागि प्रस्थान गर्नुअघि सम्बन्धित मुलुकमा कामदारको सुरक्षाको स्थिति, रोजगारीका सेवा, सर्त तथा दुवै पक्षले पालना गर्नुपर्ने सर्त र कामदारले पाउने पारिश्रमिकको सम्बन्धमा कामदारलाई स्पष्टसँग बुझाई करार गर्नुपर्ने व्यवस्था यस ऐनले गरेको छ ।
त्यसैले वैदेशिक रोजगारीका क्रममा हुने यस्ता कुनै पनि समस्याहरूमा नपर्न रोजगारीमा जाने व्यक्तिले जानु पूर्व नै आफू जान लागेको ठाउँ र कामबारे पूर्ण जानकारी लिनु आवश्यक हुन्छ । रोजगारीमा जानु पूर्व आफूले गर्न लागेको काम कस्तो हो, पारिश्रमिक कति पाइने हो, आफूले कारोबार गरिरहेको म्यानपावर एजेन्सी दर्ता भएको हो कि होइन, पहिले कहिल्यै कारबाहीमा परिसकेको एजेन्सी हो कि, आफ्नो सीप र क्षमता नभएको ठाउँमा पठाउन खोजिएको छ कि, अविश्वसनीय ढङ्गले बढी पारिश्रमिक दिने कुरा गरिएको छ कि, म्यानपावर एजेन्सीले व्यक्तिगत श्रम स्वीकृति बनाइ पठाउन लागेको हो कि जस्ता कुराहरूलाई गहन पूर्वक ध्यान दिनुपर्ने हुन्छ ।
कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, वैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र कामदारलाई ठगिनबाट जोगाउन वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि नेपाल सरकारको वैदेशिक रोजगार विभागले एक सूचना जारी गरेको छ । जसअनुसार वैदेशिक रोजगारीमा जानका लागि कानुनी प्रक्रिया पुर्याई व्यक्तिगत र संस्थागत गरी दुई किसिमले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ ।
साथै, वैदेशिक रोजगारीमा जाँदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेबापत तलब, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने समय (घण्टा), अतिरिक्त समय (ओभरटाइम) काम भत्ता, करार अवधि आदिबारे राम्ररी जानकारी लिनुपर्दछ । जान चाहेको देश, कम्पनी, काम गर्ने पद र पेसा, तलब, भत्ता, अन्य सुविधा र सेवा सर्तहरूबारे चित्त बुझेमा मात्र राजीखुसी साथ सम्झौता पत्रमा सही गर्नुपर्दछ ।
लुकीछिपी जाँदा कानुनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौताबमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीले दिने सुविधा प्राप्त नहुने हुँदा विशेष होस पुर्याउनु पर्दछ ।
कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, वैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् । वैदेशिक रोजगारीमा हुने ठगी र अन्य सूचना लिन र दिन निःशुल्क (टोल फ्री) नं. १६६००१०९९९९ मा फोन गर्नुहोस् । साथै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टोल फ्री नं. १६६००१५०००५ मा पनि फोन गर्न सकिन्छ ।
प्रतिक्रिया