काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकहरूलाई रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलमा आक्रमण रोक्न निर्देशन दिएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार पुटिनले आफ्ना फौजलाई मारिउपोलमा आक्रमण नगर्न निर्देशन दिएका हुन् ।
उनले आक्रमण नगरी शहरमा घेराबन्दीलाई ‘झिँगा पनि उम्कन नसक्नेगरी’ अझ मजबुत बनाउन निर्देशन दिएको बताइएको छ ।
त्यस्तै, रुसी रक्षामन्त्री सर्गेई सोइगुले एजोभस्तल औद्योगिक क्षेत्रबाहेक मारिउपोलका सबै क्षेत्रलाई ‘मुक्त गरिसकेको’ बताएका छन् । पुटिनले यसलाई ‘सफलता’ को रुपमा चित्रित गरेको एपीले जनाएको छ ।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध आक्रमण थालेयता रुसी सैनिक मारिउपोल शहर कब्जा गर्न प्रयासरत छन् । यसका लागि रुसले मारिउपोलमा रहेका युक्रेनी फौजलाई बारम्बार आत्मसमर्पण गर्न प्रस्ताव पनि गर्दै आएको छ ।
यद्यपि युक्रेनी पक्षले मारिउपोल शहर आत्मसमर्पण नगर्ने अडान लिँदै आएका छन् । भीषण युद्धका कारण मारिउपोल शहर भग्नावशेषमा परिणत भएको बताइएको छ ।
प्रतिक्रिया