आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

 

मारिउपोल जितेको पुटिनको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मारिउपोल शहरमा आफ्ना सैनिक विजयी भएको दाबी गरेका छन् । रक्षामन्त्री सर्गेई सोइगुसँग टेलिभिजनमा प्रसारित भेटवार्ताका क्रममा पुटिनले यस्तो दाबी गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार झण्डै दुई महिना लामो रुसी घेराबन्दीमा परेको मारिउपोल शहरलाई ‘मुक्त गरेको’ पुटिनले दाबी गरेका हुन् ।

उक्त शहरको अधिकांश क्षेत्र रुसी फौजको नियन्त्रणमा पुगेको भएपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने रुसी र युक्रेनी फौजबीच भीषण लडाइँहरू भइरहेको बताइएको छ ।

यता रक्षामन्त्रीसँगको भेटवार्ताका क्रममा पुटिनले भने उक्त क्षेत्रमा आक्रमण गर्नुको आवश्यकता नरहेको बताए । ‘म औद्योगिक क्षेत्रमा प्रस्तावित आक्रमण अनावश्यक देख्छु ।’ उनले रक्षामन्त्री सोइगुसँग भने, ‘यो रद्द गर्न म तपाईंलाई निर्देशन दिन्छु ।’

‘यस्ता केटाकुम्ब (भूमिगत चिहानघारी) मा चढ्नु र औद्योगिक क्षेत्रमा भूमिगत भएर घिस्रिन आवश्यक छैन ।’ उनले भने, ‘झिँगा पनि उम्किन नसक्नेगरी यसलाई बन्द गर्नुहोस् ।’

सोइगुका अनुसार मारिउपोलको युक्रेनी फौज नियन्त्रित क्षेत्रमा अझै २ हजार युक्रेनी सैनिक छन् । पुटिनले ती युक्रेनी फौजलाई आत्मसमर्पण गर्न समेत आग्रह गरे । आत्मसमर्पण गरेको खण्डमा रुसले उनीहरूको इज्जत गर्ने बताए ।

रोयटर्सले जनाएअनुसार युक्रेनी रक्षामन्त्रालयकी प्रवक्ताले पुटिनको भनाइले उनको ‘बौलाहा प्रवृत्ति’ उजागर गरेको टिपप्णी गरिन् । यसबाहेक युक्रेनी पक्षबाट यसबारे कुनै प्रतिक्रिया नआएको जनाइएको छ ।

रुसद्वारा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

युक्रेनमाथिको आक्रमण जारी रहँदा रुसले आणविक हतियार बोक्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । रुसको सुदूर उत्तर पश्चिममा रहेको प्लेसेत्स्क कस्मोड्रोमबाट प्रक्षेपण गरिएको ‘सर्माट’ नामक क्षेप्यास्त्रले ६ हजार किलोमिटर टाढा सुदूर पूर्वी रुसको कामचत्का प्रायद्वीपमा लक्षित निशानामा प्रहार गरेको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनमार्फत क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेका हुन् । उनले परीक्षण सफल भएकोमा रुसी सेनालाई बधाई समेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘म सर्माट अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेकोमा तपाईँहरूलाई बधाई दिन्छु ।’ टेलिभिजन सम्बोधनमा पुटिनले भने ।

‘यो निकै अद्वितीय हतियारले हाम्रो सैन्यबलको लड्ने क्षमतालाई वृद्धि गर्नेछ, बाहिरी खतराबाट रुसलाई विश्वसनीय सुरक्षा प्रदान गर्नेछ र आक्रामक बयानबाजीको उत्कर्षमा रहेका केहीलाई हाम्रो मुलुकविरुद्ध धम्की दिनुअघि सोच्न बाध्य बनाउनेछ ।’ उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘यो नयाँ हतियारमा सबैभन्दा उच्च स्तरको सामरिक र प्राविधिक विशेषता छन् र सबै किसिमका क्षेप्यास्त्रभेदी प्रणालीलाई परास्त गर्न सक्षम छ ।’ पुटिनले भने ।

गत फेब्रुअरी २४ मा पुटिनले टेलिभिजन सम्बोधनमार्फत युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए । युक्रेनमाथि आक्रमण जारी रहेको प्रारम्भिक चरणमा पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ रहन निर्देशन दिएका थिए ।

त्यसयता युक्रेनमा जारी आक्रमणको सन्दर्भमा आणविक हतियारको प्रयोग गर्नसक्ने चिन्तामाझ रुसले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

यद्यपि समार्ट क्षेप्यास्त्र रुसी सेनामा प्रवेश गर्न अझै केही समय लाग्ने जनाइएको छ । अझ केही परीक्षण पछि यही वर्षको ‘शरद ऋतु’ मा रुसी सेनामा यो क्षेप्यास्त्र प्रवेश गर्ने रुसको रोस्कोस्मोस अन्तरिक्ष निकायका प्रमुख दिमित्री रोगोजिनलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ ।

चिनियाँ राष्ट्रपतिद्वारा ‘विश्वव्यापी’ सुरक्षा पहल’ को घोषणा

चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव गरेका छन् ।

चीनको हाइनान टापुस्थित बोआओ शहरमा आयोजित बोआओ एसिया मञ्चमा बोल्दै राष्ट्रपति सीले नयाँ ‘विश्वव्यापी सुरक्षा पहल’ को प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यद्यपि प्रस्तावित सुरक्षा पहलको विशेषता तथा यसबारे विस्तृत विवरण भने सीले उपलब्ध नगराएको जनाइएको छ ।

उनले हरेक मुलुकको ‘जायज’ सुरक्षा चासोलाई ख्याल गर्दै विश्वले सबै मुलुकको सार्वभौमिकता एवम् भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने बताए ।

‘हामीले सुरक्षा अखण्डताको सिद्धान्तको पालना; सन्तुलित, प्रभावकारी एवम् दिगो सुरक्षा पूर्वाधारको निर्माण र अरु असुरक्षित हुनेगरि राष्ट्रिय सुरक्षा निर्माण गर्ने नीतिको विरोध गर्नुपर्दछ ।’ सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरूले रुसविरुद्ध प्रतिबन्धको घोषणा गरेको सन्दर्भमा कुनै मुलुकको नाम नलिई टिप्पणी गर्दै उनले एकपक्षीय प्रतिबन्धको पनि आलोचना गरे ।

चीनले लामो समयदेखि पश्चिमा मुलुकहरूले घोषणा गर्ने यस्ता प्रतिबन्धको विरोध गर्दै आएको छ ।

भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री गुजरात पुगे

दुई दिने भारत भ्रमणका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरात पुगेका छन् । भारत भ्रमणका क्रममा उनी बेलायतबाट सीधै गुजरातको अहमदाबाद शहरमा रहेको विमानस्थलमा अवतरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गुजरातमा रहँदा उनले त्यहाँका व्यापारिक प्रतिनिधिहरू लगायतसँग द्विपक्षीय हित, व्यापारिक एवम् जनस्तरको सम्बन्धबारे छलफल गर्ने छन् ।

कुनै पनि बेलायती प्रधानमन्त्रीको यो पहिलो गुजरात भ्रमण हो । बेलायतमा बसोबास गर्ने भारतीय मूलका झण्डै आधा जनसंख्या गुजरातबाट त्यहाँ पुगेको एएनआईले जनाएको छ ।

भारतको पाचौँ ठूलो राज्य गुजरातको भ्रमण सकेर प्रधानमन्त्री जोनसन राजधानी नयाँ दिल्ली जाने कार्यक्रम छ । शुक्रबार बिहानै जोनसनले भारतको राष्ट्रपति भवनको भ्रमण गर्ने र महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्ने कार्यक्रम रहेको एएनआईले जनाएको छ ।

दिल्लीमा रहँदा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग उच्चस्तरीय वार्ता गर्नेछन् ।

उनको भ्रमणका क्रममा भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता, इण्डो प्यासिफिक क्षेत्रमा सहकार्य अभिवृद्धि, रक्षा सम्बन्ध, आर्थिक एवम् कूटनीतिक सहकार्य, लगायतका विषय प्राथमिकतामा रहेको एएनआईले जनाएको छ ।

यसबाहेक रुसले युक्रेनमाथि जारी राखेको आक्रमणका विषयमा पनि बोरिस जोनसनले भारतीय नेतृत्वसँग छलफल गर्ने जनाइएको छ ।

 पेरुमा सरकारले बलात्कारीलाई नपुंशक बनाउने विधेयक ल्याउँदै

ल्याटिन अमेरिकी मुलुक पेरुको सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन अर्थात् यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोगलाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ ।

मन्त्रिपरिषद् अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पेरुका न्याय तथा मानव अधिकार मन्त्री फेलिक्स चेरोले यसबारे जानकारी दिएका हुन् ।

तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’ न्यायमन्त्री चेरोलाई उद्धृत गर्दै पेरुको राजधानी लिमाबाट प्रकाशित हुने एण्डिना पेरुले जनाएको छ ।

नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपुंशक बनाइने उनले बताए । ३ वर्षीया बालिकाको बलात्कारको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानुन ल्याउन लागेको हो ।

पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो । सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् ।

बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् । ‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्नेछ’ कास्टिलोले यसै साता भनेका थिए ।

विद्येयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विद्येयकको आलोचना गरेका छन् । ‘हामीलाई खेद छ कि कार्यपालिकाले यौन हिंसा बुझ्दैन’, पेरुको महिला अधिकार समूह फ्लोर ट्रिस्टानले ट्विट गरेको छ ।

सरकारले ल्याएको विधेयक बिहीबार कांग्रेसमा पेश गरिने पेरुभियन न्यायमन्त्रालयलाई उद्धृत गर्दै एण्डिना पेरुले जनाएको छ ।

युक्रेनमा आक्रमण कहिले रोकिन्छ ? वरिष्ठ रुसी अधिकारी यसो भन्छन् ।

अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् ।

रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम तासलाई दिएको अन्तरवार्तामा उनले योजनाअनुसार नै युक्रेनमा रुसी सैनिक कारबाही अघि बढेको उल्लेख गरे ।

‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । डोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र अनाजीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन्’ उनले भने ।

नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् ।

गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । युद्धको सुरुआती चरणमा राजधानी किभ कब्जा गर्न नसकेपछि हाल रुसी फौजको कारवाही पूर्वी युक्रेनतर्फ केन्द्रित रहेको छ ।

रुसद्वारा दुई युरोपेली देशका ३६ कूटनीतिज्ञलाई देश निकाला

रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ । युक्रेनमाथि रुसी हमलाको विरोधमा पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मस्कोले पछिल्लो कदम चालेको हो ।

रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’ जारी गरेको छ । उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ ।

मस्कोले लक्जमवर्गका राजदूतलाई बोलाएर आफ्ना राजदूतलाई देश निकाला गरेको विषयमा विरोध जनाएको गरेको छ । त्यसको बदलामा लक्जमवर्गका राजदूतलाई देश निकालाको निर्णय गर्न सक्ने रुसले चेतावनी दिएको छ ।

युक्रेनमाथि रुसी हमलाको आलोचना भइरहेका बेला यो महिना रुस र ईयूका केही राष्ट्रले एक अर्का देशका राजदूतलाई निकाला गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य

भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ ।

तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् । बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए । कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन् । संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो । मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् ।

युद्धपोतमा आक्रमण गर्नुअघि अमेरिकी जासुसी विमानले कृष्ण सागरको गस्ती गरेको खुलासा

रुसी युद्धपोत मोस्कवामाथि युक्रेनले क्षेप्यास्त्र प्रहार गर्नु केही घण्टाअघि कृष्ण सागरमा अमेरिकी जासुसी विमानले गस्ती गरेको खुलासा भएको छ ।

बेलायतबाट प्रकाशित हुने टाइम्स अखबारको खुलासा अनुसार मोस्कवा युद्धपोतमाथि आक्रमण हुनुअघि अमेरिकी वायुसेनाको पी ८ पोसाइडन विमानले कृष्णसागरको गस्ती गरिरहेको थियो ।

गस्तीमा रहेको उक्त जासुसी विमान मोस्कवाबाट १ सय माइल नजिक सम्म पुगेको द टाइम्सले जनाएको छ ।

केही दिन अघि युक्रेनले प्रहार गरेको नेप्चुन क्षेप्यास्त्रबाट रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनामा तैनाथ मोस्कवा युद्धपोत ध्वस्त भएको थियो । आक्रमणको भोलिपल्ट ‘क्षतिग्रस्त युद्धपोत’ कृष्ण सागरमा डुबेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको थियो ।

रुसले आगलागीका कारण युद्धपोत डुबेको बताउँदै आएको छ । यद्यपि के कारणले आगलागी भएको भन्नेबारे रुसी पक्षले केही खुलाएको छैन ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ९ : ३५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन