लामाले रचिन् इतिहास  « Khabarhub

लामाले रचिन् इतिहास 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी भएकी छन् ।

बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडामा लामा पहिलो महिला मेयर बनेकी हुन् । कुल ७३ हजार ४१४ भोट खसेको हेटौंडामा लामाले २३ हजार ७५ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत सहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे ।

नेकपा एमालेले निरन्तर जित हासिल गरेको हेटौंडामा मेयर जित्नको लागि लामालाई त्यति सहज देखिँदैनथ्यो । एमालेको लालकिल्ला रहेको हेटौंडामा पाँच दलीय सत्ता गठबन्धनबाट लामाले उम्मेदवारी दिएकी थिइन् । लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि लामा नेकपा एसबाट सक्रिय राजनीतिमा लागेकी थिइन् ।

एक कार्यकाल उपमेयर भएर काम गरेकी लामा जिल्लाको पहिलो मेयर भएर इतिहास रचेकी हुन् । गठबन्धनकै तर्फबाट उपमेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ठूलो मतान्तरले विजय हासिल गरेका छन् । बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेकी छन् ।

राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले ५ हजार ४८३ मत सहित तेस्रो स्थानमा रहिन् । लामा आफ्नो पार्टीभित्रकै चरम असन्तुष्टिबीच चुनावी मैदानमा होमिएकी थिइन् । नाम सिफारिस भए पनि टिकट नपाएपछि तत्कालीन नेकपा एसका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका थिए । कांग्रेसका रुष्ट नेता तथा कार्यकतालाई बिस्तारै फकाउँदै लामाले आफ्नो पक्षमा मतदान गर्ने वातावरण सिर्जना गरिन् ।

विशेष गरी तामाङ बाहुल्य बसोबास रहेको हेटौंडा १२, १३ बाट ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने वातावरण उनले आफ्नो अगुवाईमा तयार पारिन् । एमालेको गढ मानिएको हेटौंडा ७, ८, ९ बाट पनि लामाले राम्रै मत प्राप्त गरिन् । करीब ४ हजार मत गणना बाँकी रहँदै एमालेका उम्मेदवार अनन्त पौडेल र सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर लामा र बानियाँलाई बधाई दिएका थिए । लामाले २०४६ सालमा विद्यार्थी जीवनबाट नै राजनीतिमा यात्रा सुरु गरेकी थिइन् ।

२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनीतिसँगै अध्ययनलाई अगाडी बढाउँदै गर्दा २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासँग उनको विवाह भयो । लामा २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव र २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य बनेकी थिइन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : ४८ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा