तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ : प्रधानमन्त्री देउवा


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले हामीले ‘निरोगीताका लागि योग’ भन्ने भाव सबैमा पुर्‍याउन जरुरी छ ।’

उनले अन्तर्राष्ट्रिय योग दिवस, जुन २१ को अवसरमा सम्पूर्ण मानव जगत्मा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको बताए ।

जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन मित्रराष्ट्र भारतले संयुक्त राष्ट्रसङ्घमा राखेको प्रस्तावमा नेपालले समर्थन गरेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले यस वर्ष ‘मावनीयताका लागि योग’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ ८औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै गरेको उल्लेख गरे ।

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवन पद्धति हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग र भक्तियोगले मानिसको जीवनलाई सार्थक बनाउँदछ भनी गर्नुभएको मार्गदर्शन दिव्योपदेशको रूपमा रहेको छ । हिमालय पर्वत शृङ्खला ऋषिमुनिको पवित्र तपोभूमिको रूपमा रहेकोले यस क्षेत्रलाई आदिमकालदेखि नै योगको जननीको रूपमा चिनिने बताउँदै उनले हाम्रो वैदिक सभ्यतासँग समेत प्रत्यक्ष सम्बन्ध रहेको योगले नेपाल–भारत बीचको सम्बन्ध, भाइचारा र सहिष्णुता थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

महर्षि पतञ्जलीले सुदृढ आधार दिनुभएको अष्टाङ्ग योगाभ्यास, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलगायत योगका विभिन्न अभ्यास आज विश्वभर फैलिँदो क्रममा छन् । प्रधानमन्त्री देउवाले शारीरिक अभ्यास, योग चिकित्सा र उपचार शारीरिकरुपमा मात्र नभई आध्यात्मिक दृष्टिकोणले पनि हाम्रो लागि लाभदायी एवं उपयोगी हुने बताए। उनले ‘योग गरौँ स्वस्थ बनौँ’ भन्ने सन्दर्भ र योगाभ्यासको महत्वपूर्ण पक्ष विश्वव्यापी बनेको बताउँदै अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक ऊर्जा प्रवाह गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।

तस्बिर : काठमाडौँस्थित भारतीय दुतावासको ट्वीटरबाट

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ५५ बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने