दिनभर आजः पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आज पनि विरोध, एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णय | Khabarhub Khabarhub

दिनभर आजः पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आज पनि विरोध, एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णय


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर रवि लामिछानेले नयाँ दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेको, नक्कली चालक अनुमति पत्र उपलब्ध गराउनेविरुद्ध मुद्दा दायर, एसपीपी अघि नबढाउने सरकारको निर्णय लगायतका विषय चर्चामा रहे ।

यी हुन् आजका प्रमुख समाचारहरुः

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई जवाफ दिनुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध

नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई जवाफ दिनुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रिय सभाको आज बसेको बैठकमा एमालेका सांसदहरूले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिनुपर्ने भन्दै विरोध जनाएका हुन् ।

बैठकमा एमाले सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि पनि राष्ट्रियसभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ नदिई सदनको कामकारबाही अगाडि बढ्न नसक्ने र आफूहरुको विरोध रहिरहने बताए ।

राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पाठ्यपुस्तक अभाव हुन नदिन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले अझै पनि सवै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेको भन्दै विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले सङ्घीय शिक्षा ऐन चाँडो संसदमा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ ।

समिति सभापति जयपुरी घर्तीले शैक्षिकसत्र सुरु भइसकेको दुई महिना बितिसक्दा पनि विद्यालय तहका सबै पाठ्यपुस्तक उपलब्ध नहुने अवस्था अन्त्य गर्नुपर्ने बताइन् । बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन आफू लागिपरेको बताए ।

उनले निजी क्षेत्रका मुद्रकले सबै कक्षाका पाठ्यपुस्तक छाप्न सक्ने जनाएर अनुमति मागेको भए पनि सरकारी स्वामित्वको जनक शिक्षालाई मेसिन थप गरेर काम दिनु उचित लागेकाले जनक शिक्षा केन्द्रलाई नै मुख्य जिम्मेवारी दिइएको बताए ।

एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको जानकारी दिए ।

मन्त्री कार्कीले सबै सरकारी निकायहरुले कुटनैतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय भएको पनि जानकारी दिए ।

यस्तै सरकारले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्व सामु नेपाललाई चिनाउन निर्णायक योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

योसँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।

विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै आयोगको ध्यानाकर्षण

नेपाली कांग्रेसले अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो संख्यामा नेपालीहरु रहेको भन्दै उनीहरुलाई मतदानबाट वञ्चित गर्न नहुने बताए । यस विषयमा प्रधानमन्त्रीलाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जिकिर गरे ।

त्यस्तै कांग्रेसका अर्का महामन्त्री गगन थापाले मताधिकारका साथै काठमाडौंमा पनि मतदाता नामावली संकलनलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए ।

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गर्दै लामिछानेले आफू अन्य कुनै पार्टीमा प्रवेश नगर्ने भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका हुन् ।

उनले पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी समेत सार्वजनिक गरे । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने बताए । निर्वाचनमा राइट टु रिकल को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए ।

योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने प्रधानमन्त्री देउवाको भनाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति हुने भएकाले यसको विशेष महत्व रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्वपूर्ण रहेको निरोगीताका लागि योग भन्ने सन्देश सवैमा जानुपर्ने उनले बताए ।

सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुराएको ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुराएको आरोप लगाएका छन् ।

काठमाडौंमा आज पूर्व राजदुतहरुको समूहले आयोजना गरेको अन्तक्र्रियामा ओलीले राष्ट्रियताका बिषयमा उठेका विषयमा सरकारले प्रतिपक्ष कुनै छलफल नगरेको बताए ।

प्रधानमन्त्रीले विदेश भ्रमण गर्दासमेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका विषय लोकतन्त्रमा हुन नसक्ने उनले बताए ।

उनले अबको समय निषेधको नभई सहकार्यको राजनीति हुनुपर्नेमा जोड दिए । ओलीले देशको विकास र देशले स्वीकार्यको नीति अनुसार नै अन्य देशहरुसँगको सम्बन्ध अघि बढनुपर्ने र त्यसका लागि दलहरुबीच पनि एकता हुनुपर्ने बताए ।

दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौँको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए ।

कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले ‘आफूमाथि यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको भन्दै जेठ पहिलो साता विद्यार्थीहरुले सार्वजनिक गरेका थिए । कलेज प्रशासनले कारबाही गर्न तादरुकता नदेखाएपछि उनीहरुले प्रदर्शन नै गरेका थिए ।

त्यसपछि प्रहरी वृत्त, गौशालाले दुवैजनालाई पक्राउ गरेको थियो ।

बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण

रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण भएको छ ।

बालगृहमा बस्ने किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा उनीहरुले ताला लगाएर प्रहरीलाई भित्र प्रवेश गर्न नदिई आक्रमण गरेका हुन् ।

आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

आक्रोशित किशोरहरुले सुधार गृहको भवनको सिसा समेत तोडफोड गरेका छन् । बाल सुधार गृहमा क्षमता भन्दा बढी ६० जना क्षमता भए पनि एक सय ६ जनालाई राखिएको छ ।

एसिड पोखिँदा पाँच जना घाइते

मोरङको विराटनगरस्थित यात्रुवाहक बसमा एसिड पोखिँदा पाँच जना घाइते भएका छन् ।रंगेलीतर्फ जाँदै गरेको को १ ख ३९८१ नम्बरको यात्रुवाहक बसमा आज दिउँसो एसिड पोखिँदा मोरङमा पाँच जना घाइते भएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट सुनचाँदी व्यवसाय गर्दै आएका एक व्यक्तिले बोतलमा बोकेको एसिड बसमा पोखिएको जानकारी दिएका थिए ।

चालकले बसमा अचानक ब्रेक लगाउँदा बोतलको बिर्को खुलेपछि छचल्किएर पोखिँदा बसमा यात्रा गरिरहेकाहरुलाई एसिडले लागेको पाइएको हो

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना कार्यालय प्रमुखसहित १७ जना विरुद्ध विशेष अदालतमा आज भ्रष्टाचारको मुद्दा दायर गरेको हो । यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ ।

उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ ।

अख्तियारले २ जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्माले कर्मचारी र बिचौलियासँग मिलेर भ्रष्टाचार गरेको पाइएको छ ।

उनीहरुले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साउनर भदौमा गरी पाँच ३३ जना व्यक्तिलाई अवैध रुपमा लाइसेन्स दिएको अख्तियारले दाबी गरेको छ ।

अख्तियारका अनुसार उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका चालक अनुमति पत्र (लाइसेन्स) को विवरणलाई सच्याएर नयाँ बाटोबाट गैरकानूनी रुपमा अवैध लाइसेन्स दिएको अख्तियारको आरोप छ ।

अख्तियारले दुई कार्यालय प्रमुखसहित कर्मचारीहरू विजयराज गिरी, कमल स्याङ्तान, अच्युतप्रसाद फुँयाल, प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठ तथा बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भनिने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ०२ बजे

आफ्नै अडानले बालेनलाई संकट, यी हुन् बजेट ल्याउने तीन विकल्प

काठमाडौं– आर्थिक वर्ष २०८२/८२ को बजेट ल्याउन देशभरका स्थानीय तह

धोबीखोलापछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती

इन्जिनियरलाई प्रश्न- नेपालका सडक बनिनसक्दै किन भत्किन्छन् ? 

काठमाडौं– नेपालमा यातायातको महत्त्वपूर्ण र आम मानिसको पहुँचमा भएको मार्ग

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो