सत्ता र स्वार्थको चुनावी गठजोडले अस्थिरता निश्चित | Khabarhub Khabarhub

सत्ता र स्वार्थको चुनावी गठजोडले अस्थिरता निश्चित



काठमाडौँ – मंसिर ४ गतेको लागि प्रतिनिसभा र प्रदेशसभाका लागि एकै चरणमा चुनावको मिति घोषणा भएसँगै मुलुक चुनावमय भएको छ ।

निर्वाचन आयोगले गत असारमै चुनावको मिति तोक्न सरकारलाई निर्देशन दिएको थियो तर सरकारले मिति घोषणा गर्न सकेको थिएन । जसकारण चुनाव कहिले हुन्छ भन्ने अन्यौलता सबैमा थियो । चुनावको मिति सर्ने पो हो कि ? भनेर आयोग पनि अलमलमा थियो भने दल र नेताहरु पनि अन्यौलमा थिए ।

यता आम सर्वसाधारणमा पनि चुनावको उल्लास त्यति थिएन । अहिले भने चुनावको सरगर्मी ह्वात्तै बढेको छ ।

सर्वसाधारण, चिया चोक, चौतारी र व्यापारिक अड्डादेखि सिंहदरबारसम्म क्षेत्र चुनावको चर्चा चल्न थालेको छ । निर्वाचन आयोग, नेता, कार्यकर्ता र सर्वसाधारण मात्र होइन कर्मचारीलाई पनि चुनाव उत्तिकै लागेको छ ।

मुलुकमा अहिले विभिन्न राजनैतिक मूभमेन्ट सक्रिय छन् । कति स्वाभाविक छन् भने कति अस्वाभाविक छन् ।

यसले राजनीतिको पारो तातेकै छ । यस्तो अवस्थामा प्रमुख राजनैतिक दल (कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, जसपा, लोसपा लगायतका दल ) मा चुनौतीको पहाड पनि थपिएको देखिन्छ ।

यी सबै परिदृश्यलाई मध्यनजर गर्दै नेताहरुले चुनावमा क–कसलाई उठाउने र केके एजेण्डा जनतासामु लैजाने भन्ने गृहकार्यमा छन् । यता मतदाताहरु कस्ता उम्मेदवार उठ्ने हुन् प्रतीक्षामा रहेका देखिन्छन् ।

गठबन्धनको कसरत

प्रमुख सत्तारुढ ५ दलीय घटक ( काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा) सिट बाँडफाँटको विषयलाई लिएर छलफलमै छ न्। ११ सदस्यीय कार्यदल बनाएर उनीहरुले भागबण्डा गरिरहेका छन् ।

सोही अनुसार प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आफू मातहतका शीर्ष नेतालाई राखेर आगामी चुनावबारे छलफल गरिरहेको देखिन्छ । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा त मधेश मिसनमा लागिसकेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा मधेशमा सबैभन्दा धेरै सिट हासिल गरेको काँग्रेसले मधेशमा लोसपासँगको तालमेलबारे छलफल गरिरहेका छन् । यता काँग्रेसको बैठकले प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये सय सिट आफ्नो भागमा पार्ने र बाँकी ६५ सिट अरु चार दललाई दिनुपर्ने छलफल समेत भएको छ । सय सिटभन्दा कम पाउने अवस्था भए गठबन्धन गर्न नहुने  र एक्लै चुनावमा जानुपर्ने ध्वनि पनि काँग्रेसमा छ ।

यता माओवादी केन्द्रले बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र बामदेव गौतमको अभियानलाई आफ्नै चुनाव चिह्नमा निर्वाचनमा लड्ने अनुमति दिइसकेको छ। त्यसैगरी एकीकृत समाजवादी पार्टी, जसपा र राष्ट्रिय जनमोर्चा पनि आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलहरु आगामी चुनावमा गठबन्धनलाई बलियो बनाएर दुई तिहाइ या बहुमत हासिल गर्ने कसरतमा रहेका देखिन्छन् । तर सिट मागमा भने उनीहरु आ–आफ्नो ढिपीमा छन् । माओवादी अबको चुनावमा दोस्रो दल बन्ने कसरतमा रहेको देखिन्छ भने समाजवादी पनि गठबन्धनबाट कसरी धेरै सिट फुत्काउन सकिन्छ भन्ने रणनीतिमा छ ।

एकीकृत समाजवादीले ७४ सालको चुनाव अनुसार सिट भागबण्डा गर्ने र एमालेले जितेका अधिकांश ठाउँको टिकट आफूहरूले पाउनुपर्ने दाबीसहित कार्यदलमा प्रस्तुत हुने योजनामा छ । त्यसो नभए जे पनि हुन सक्ने भन्दै समाजवादीका नेताले धम्की दिन थालेको देखिन्छ । यता जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि आ–आफ्नो तयारीमा छन् ।

प्रतिपक्षीको रणनीति

सत्तारुढ दलले चुनावी तयारी सुरु गरिरहँदा प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलले पनि तयारी सुरु गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको मिति घोषणापछि विभिन्न कार्यक्रममा सम्बोधन पनि गरिसकेका छन् ।

परमादेशबाट बनेको सरकारको एकबर्ष खेर गएको भन्दै सरकारका गलत कामको कडा ढंगबाट प्रतिपाद गर्ने गरी चुनावको तयारीमा एमाले उत्रिएको देखिन्छ ।

सत्तारुढ दलले गठबन्धन मजबुत बनाएर चुनावमा जाने निर्णय गरेसँगै एमालेले पनि आन्तरिक कूटनीति थालेको देखिन्छ।

एमालेको पहिलो प्राथमिकता गठबन्धन भत्काउने, दोस्रोमा एकीकृत समाजवादी, जसपा र अरु दलका असन्तुष्ट नेतालाई फकाएर पार्टी प्रवेश गराएर एक्लै चुनौती दिने, कमजोर हुने स्थिति देखिए राजेन्द्र लिङ्देनको राप्रपा, कमल थापाको राप्रपा नेपाल, महन्थ ठाकुरको लोसपा, नेत्रविक्रम चन्दको नेकपा, हृदेयश त्रिपाठीको जनता प्रगतिशील लगायतलाई जसरी पनि समेटेर अर्को गठबन्धन बनाउने एमालेको योजना छ ।

यद्यपि महन्थ ठाकुर र विप्लवको पार्टीले गठबन्धनमा सामेल हुने या एक्लै चुनावमा भिड्ने भन्नेमा अझै बाटो क्लियर गरेका छैनन् । उनीहरु सत्तारुढ दल र विपक्षी एमालेसँग पनि छलफल गरिरहेका छन् ।

लिङ्देन र कमल थापाले एमालेसँग चुनावी सहकार्य गर्ने संकेत गरेको अवस्था छ भने विप्लवको पार्टी पनि ओलीसँग संवादमा रहेको देखिन्छ । यदि चुनावमा भाग लिएको खण्डमा विप्लव माओवादी एमालेसँगको गठजोडमा सामेल हुने जानकारहरू बताउँछन् । किनकि सरकारले विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि विप्लव प्रधानमन्त्री देउवा र प्रचण्डसँग क्रुद्ध छन् । यसकारण पनि विप्लव ओली खेमामा चुनावमा सहभागी हुन सक्छन् ।

उसो त काँग्रेस, एमाले र माओवादीका दोश्रो, तेश्रो धारका नेताको पनि आ–आफ्नै तयारी छ । देश र जनताप्रति अब शीर्ष नेतृत्व गम्भीर र संवेदनशिल नरहने, सक्षम र योग्य उम्मेदवारलाई टिकट नदिने हो भने वातावरण अर्कै खालको हुने भन्दै पार्टीभित्र दबाब सिर्जना गर्न उनीहरु उद्धत देखिन्छन् ।

स्वतन्त्र अभियान

यता नयाँ पुस्ताको रुपमा उदाएका केही दल र प्रवृत्तिहरुले गरेको कार्यक्रममा जनताको अस्वाभाविक लहडले पनि आगामी चुनावको माहौल तातेको छ ।

ठूला राजनैतिक दललाई स्वतन्त्र भनिएका दल र स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेकाले तनाव दिइरहेका छन् । चुनावसँगै पुराना पुस्ता (पूर्वप्रधानमन्त्री र सांसद मन्त्री बनिसकेका नेता) लाई हराउने अभियान नो नट अगेन पनि अहिले जोडतोडका साथ अगाडि बढिरहेकाले प्रमुख नेता र दलको भोलिको हविगत के हुने हो सजिलै भन्न सकिने अवस्था छैन।

काठमाडौँ लगायतका क्षेत्रमा मुख्य नेतालाई चुनौती दिने गरी देशभर स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागर ढकालले देउवाकै चुनावी क्षेत्र डडेलधुरामा लड्ने तयारी गरिरहेका छन् ।

यता रवि लामिछाने पनि देशभर संगठन विस्तारमा लागेका छन् र उनको दलप्रतिको जनलहरले शीर्ष नेताको टाउको दुखाइ नै बनेको छ । जसका कारण मंसिर ४ पछि मुलुकको भविष्य कता जान्छ सहजै अनुमान गर्न सकिन्न ।

सबैको स्वार्थीपन

जसको जे अभियान चलेको देखिए पनि सबैसँग एउटा स्वार्थ झुण्ड रहेको देखिन्छ । मुलुकको स्वार्थलाई शीरमा राखेर न दलीय गतिविधि देखिन्छन्, न स्वतन्त्रहरु पनि मुलुक हितको लागि देखिन्छन् ।

सत्तारुढ र विपक्षीको गठजोड कसरी सत्ता हत्याउन सकिन्छ र अझै केही बर्ष मुलुकको स्रोत साधनमा रजाइँ गर्न सकिन्छ भन्नेमा उनीहरु रहेको बुद्धिजिवीहरु तर्क गर्छन् । स्वतन्त्र अभियानमा जोडिएकाहरु पनि सांसद र मन्त्री बन्ने रहरबाहेक मुलुकहित देखिँदैन ।

यही गठजोडको भविष्यवाणी गर्दा अब मुलुकमा कुनै दलको दुई तिहाइ र बहुमत आउने छैन । यसो हुनु भनेको अस्थिर सरकार बन्नु नै हो ।

अब मुलुकको नेतृत्वमा पनि ओली, देउवा र प्रचण्ड नै आउने भएकाले मुलुकले फेरि पनि निकास पाउन नसक्ने अवस्थाको आंकलन गर्न सकिन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ३६ बजे

मुख्यमन्त्रीलाई मत दिएपछि नाउपमा अर्को विवाद, रेशमले दुई सांसदलाई कारवाही गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ

‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु)

काठमाडौं – ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता

घरबाट साङ्ला कसरी भगाउने ?

काठमाडौं– गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई